Logo
|
Thursday 28th March 2024
Logo

epaper

फ्यान्टाका १० हजार बोतलमा लेदो



२७ चैत, काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको फ्यान्टाका झन्डै १० हजार fantaबोतलमा मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य कालो लेदो पदार्थ भेटिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार गरेको अनुगमनका क्रममा डेढ लिटरका नौ हजार आठ सय ५२ वटा फ्यान्टाको बोतलमा अखाद्य पदार्थ भेटिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

विभागका अनुसार दुई दिनअघि एक उपभोक्ताले पसलबाट खरिद गरेको डेढ लिटरको फ्यान्टाको बोतलभित्र पिँधमा कालो लेदो पदार्थ जमेको भेटेका थिए।

त्यसपछि उनले उक्त बोतलसहित विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा विभागले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल बोलटर्स लिमिटेडको कारखानामा बिहीबार छड्के निरीक्षण गरेको थियो।

अनुगमनमा खटिएका खाद्य निरीक्षक सुमन धितालका अनुसार कारखानाको गोदाममा सिलबन्दी गरेर बजारमा पठाउन तयारी अवस्थामा राखिएको डेढ लिटर फ्यान्टाको आठ सय २१ थान कार्टुन खोलेर हेर्दा कालो पदार्थ पाइएको थियो।

एउटा कार्टुनमा १२ वटा बोतल हुन्छ। ‘परीक्षणका क्रममा ती सबै कार्टुनका फ्यान्टाको बोतलमा उजुरी गरिएको जस्तै अखाद्य कालो पदार्थ जमेको भेटियो’, धितालले अन्नपूर्णसँग भने, ‘कार्टुनमा रहेका कुनै पनि बोतल कालो पदार्थविहीन भेटिएन, आँखाले देख्ने गरी नै अखाद्य कालो पदार्थ जमेको थियो।’ विभागले ती सबै बोतल बजारमा नपठाउन र बिक्री नगर्न निर्देशनसहित सिलबन्दी गरेको छ।

फ्यान्टा बनाउने क्रममा बत्ती गएका कारण ‘एक्टिवेटर कार्बन’ भन्ने तत्त्व बोतलमा जमेको हुन सक्ने कारखानाका उत्पादन प्रबन्धक सञ्जीव श्रेष्ठले बताएको विभागले जनाएको छ।

‘कारखानाले जे भने पनि फ्यान्टामा मानव स्वास्थ्यलाई हानि गर्ने विषाक्त अवशेष भेटिएकाले खाद्य ऐनको दूषित महलअन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाएका छौं’, निरीक्षक धितालले भने। विभागका अनुसार थप बयान र आवश्यक प्रक्रिया अघि बढाउन कारखानाका जिम्मेवार पदाधिकारीलाई सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।

खाद्य ऐन २०२३ को ‘दूषित’ महलअन्तर्गत खाद्यपदार्थ उत्पादन, बिक्रीवितरण निकासी वा पैठारी गर्ने व्यक्ति वा उद्योगलाई पाँच हजार रुपैयाँदेखि १० हजारसम्म जरिबाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

यसअघि विभागले अनुगमनका क्रममा बुधबार बबरमहलस्थित काठमाडौं डेरीले उत्पादन मिति र ब्याच नम्बर नराखी बजारमा पठाउन तयारी अवस्थामा राखेको पाँच हजार पाँच सय थान दूधको प्याकेट फेला पारेको थियो।

विभागको टोलीले ती प्याकेट फुटाएको थियो । खाद्य निरीक्षक धितालले भने, ‘डेरीले पुन: गल्ती नगर्ने प्रतिबद्धता जनाएपछि एक पटकका लागि मौंका दिएका छौं। गल्ती दोहोरियो भने मुद्दा नै दायर गर्छौं।’

 

प्रतिक्रिया दिनुहोस्