Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाली औषधि विरुद्ध ठूलो आर्थिक चलखेल छ



Umesh lal shresthaनेपालको ठूलो राजनीतिक घरानाका उमेशलाल श्रेष्ठले आफ्नो परिवारको पहिचान विस्तार गरे । नेपालको कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपालको महिला आन्दोलनकी संस्थापक अगुवा साहना प्रधानका छोरा उमेशलालले भने राजनीतिक घरानाको परिचयलाई ब्यापारिक घरानामा बिस्तार गरे । पुष्पलाल र साहनाले जनतालाई जगाउने अभियानको अगुवगाई गरे, उमेशलालले भने जनतालाई रोगबाट जोगाउने उद्योगको अगुवा बने । नेपाल औषधि उत्पादक संघका अध्यक्ष श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पनि कार्यकारिणी सदस्य हुन् । औषधि उद्योगको क्षेत्रमा सफल व्यवसायी श्रेष्ठ सामाजिक उत्तरदायित्व बहन गर्ने व्यवसायी पनि हुन् ।
नेपालमा प्रतिवर्ष १८ अर्ब रुपियाँ मूल्य बराबरको औषधि खपत् हुने गरेकोमा नेपाली कम्पनिका उत्पादनहरुले करिब ४५ प्रतिशत औषधि धान्न सफल भएका छन् । तर सरकारले खरीद गर्ने औषधिको टेन्डरमा नेपाली औषधि कम्पनिहरुलाई सहभागी गराइँदैन । यसमा ठूलो आर्थिक चलखेल भएको अध्यक्ष श्रेष्ठको ठम्याई छ । प्रस्तुत छ अध्यक्ष श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी ।

नेपाली औषधि कम्पनिहरुको स्तर बृद्धि कुन रुपमा छ ?
विगतमा नेपाली उद्योगहरुले दीर्घकालीन (क्रोनिक) रोगका लागि प्रयोग गरिने औषधि उत्पादन गर्दैनथे । तर करिब डेढ दशकको दौरानमा नेपाली औषधि कम्पनिहरुले फड्को मारे । अहिले उनीहरु सुलभ मूल्यमा अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धी औषधि उत्पादन गर्न सफल भएका छन् । यद्यपी विदेशबाट आयात हुने औषधि प्रतिस्थापनमा ठूलो टेवा पुगेको छ ।
नेपाली औषधि कम्पनिको बृद्धि विकासमा सरकारको मद्धत कतिको छ ?
भन्सार शुल्क छुटबाहेक नेपाल सरकारबाट नेपाली औषधि उद्योगको वृत्ति विकासमा कुनै सहयोग छैन ।
सरकारले खरीद गर्ने औषधिको टेन्डर प्रक्रियामा नेपाली औषधि उद्योगले भाग लिन नपाउनुको कारण के हुनसक्छ ?
सरकारले औषधि खरीद गर्दा ग्लोबल डेन्डरमार्फत गर्छ । तर नेपाली औषधि उद्योगहरु टेन्डरमा भाग लिन पाउँदैनन् । यसमा विश्व वैंकको र अन्तर्राष्ट्रि मुद्रा कोष आईएमएफको दवावका कारण नेपाली औषधि कम्पनिहरु सरकारी टेन्डरमा सहभागी हुनबाट बञ्चित भएका छन् ।

नेपाली औषधि कम्पनिहरुको विश्वसनीयता नभएर हो कि ?
नेपाली औषधि कम्पनिहरु गुणस्तरीय र असरदार औषधिहरु पर्याप्त उत्पादन गर्न सफल छन् । यसरी नेपाली भूमीमा करोडौं लगानी गरेर खोलिएका उद्योगका औषधिहरु सरकारले खरीद गर्नुपर्छ । त्यसैले सरकारको सहयोग अत्यन्त जरुरी छ ।
सरकारी कमजोरी पक्षहरु के के छन् ?
अहिले आफ्नै मुलुकमा हामीले विदेशी कमसल खालका कम्पनिहरुसँग प्रतिस्पर्धा गर्नुपरेको छ । यसरी नेपालीहरुलाई कति दिनसम्म कमजोर र कमसल औषधि खुवाइरहने ?
कतिपय गुणस्तरहीन विदेशी औषधिको विषयमा हामीले सरकारसमक्ष बारम्बार समाचार पु¥याइरहेका छौं । त्यसलाई कम गर्ने नीति सरकारसँग छैन । नेपालभित्र उत्पादन हुने औषधिको उत्पादन प्रक्रिया कस्तो छ भनेर सम्बन्धित सरकारी निकायले जुनबेला पनि हेर्न सक्छ । विदेशको एउटा कम्पनि ब्ल्याक लिष्टमा परेमा उसले अर्को कम्पनिबाट सामान उठाएर पठाउँछ । तर यसबारे कसैलाई मतलब नै छैन । यसरी कतिदिनसम्म चल्छ ? सरकाले के गर्न खोजेको हो ? बुझ्न सकिएको छैन ।

सरकारले खरीद गर्ने औषधिमा नेपाली कम्पनिहरुलाई सहभागी नगराउनमा आर्थिक चलखेल नै हो त ?
विश्व बैंक र सार्वजनिक खरिद ऐन अन्र्तगत नेपाली उत्पादनलाई १० देखि १५ प्रतिशतसम्म फाइदा दिनुपर्छ । दातृ निकायको आर्थिक लगानी भएमा दातृ निकायले भने अनुसार काम गर्नुपर्ने त्यस ऐनमा उल्लेख छ ।
यसरी मुलुकमा बार्षिक खरीद हुने गरेको करिब ३० अर्ब रुपियाँ मूल्यको औषधिमा १० प्रतिशत अर्थात ३० करोड रुपियाँ विदेशी दातृ निकायले सम्बन्धित निकायका व्यक्तिहरुलाई पोस्ने गरेका छन् ।
यसरी घाँटी निचोरेर नेपाली औषधि कम्पनिहरुलाई टेन्डरबाट बञ्चित गराइएको छ । हामीमा राष्ट्र र राष्ट्रियता प्रति झुकाव किन छैन ? औषधि खरीद प्रक्रियामा माफियातन्त्र हावी छ । नेपाली कम्पनिहरु गुणस्तरमा सम्झौता नगर्ने र सम्बन्धित व्यक्तिलाई धेरै रकम पोस्न नसक्ने कारण यस किसिमको परिस्थिति सृजना भएकोे हो । यहाँ गुणस्तरमा सम्झौता गरेर स्वार्थका लागि काम गर्ने धेरै व्यक्तिको जगजगी छ ।
नेपालमा उत्पादन हुने औषधि ग्लोबल टेण्डरबाट खरीद गर्ने प्रक्रिया बन्द गर्नुपर्छ । जसरी पनि नेपाली औषधि उद्योगहरुले सरकारलाई गुणस्तरीय औषधि दिन सक्छन् । यस सवालमा हामी धेरै लडिसकेका छौं । कतिपय कुरामा सुधार पनि भएका छन् । नेपाली औषधि उद्योगलाई परेको मर्का विरुद्ध अझै पनि लड्छौं र माफियाको अन्त्य हुनैपर्छ । अनि मात्र आम नेपालीले राम्रो औषधि खान पाउँछन् ।
आफ्ना उत्पादनप्रति यहाँ कतिको विश्वस्त हुनुहुन्छ ?
कुनै पनि व्यक्तिगत समस्यामा आफूले उत्पादन गरेका औषधि नै प्रभावकारी भएका छन् । उच्च रक्तचाप, मधुमेहलगायतका समस्यामा ५ किसिमका औषधि म आफैंले लामो समयदेखि सेवन गर्दै आएको छु । सबै कर्मचारीहरु हाम्रो उत्पादन खाने गर्छन् । आप्mनो उत्पादनबाट पाएको विश्वास अरुबाट पाउन सकिदैन । अहिले अधिकांश नेपाली औषधि प्रति विश्वास र भरोसा छ ।
नेपाली औषधि उद्योगहरु कतिको समसापेक्ष अपडेट भइरहेका छन् ?
१५ बर्ष पहिलेको तुलनामा नेपाली औषधि कम्पनिहरुले प्रविधिमा निकै ठूलो फड्को मारिसकेका छन् । उत्पादन प्रक्रियामा अत्यधिक परिवर्तन भएको छ । कतिपय औषधि कम्पनिहरुले २० गुना बढी आफूलाई परिवर्तन गर्न सफल भएका छन् । हामी भूमी पुत्र हौं । हामी विदेश जाँदैनौं । त्यसैले सरकारले हाम्रो मर्का बुझिदिनुपर्छ ।

क्वेष्टले कुन औषधिको उत्पादनलाई बढी केन्द्रित गरेको छ ?
शुरुवात्का दिनदेखि नै क्वेष्टले मुख्य केन्द्रित गरेर उत्पादन गरेको मुटु र डाइबिटिजका औषधि नै हो । यसका अलाबा अन्य प्रभावकारी औषधिहरु पनि उत्पादन भइरहेका छन् ।
औषधि उत्पादनमा यहाँको सफलताको रहस्य के हो ?
म र अर्को साथी शैलेन्द्र औषधिको बजारीकरणमा राम्रो अनुभव प्राप्त गरेका व्यक्ति छौं । हामी लामो समयदेखि बजारमा भिजेका छौं । हामीमा निश्चित उत्पादनमा केन्द्रित भएर औषधि उत्पादन र बजारीकरण गर्ने सोच थियो । सोही अनुरुप २—३ वर्षको अवधिमै स्थापित हुन सफल भयौं । हाम्रो यो प्रक्रिया निरन्तर जारी छ ।
औषधि बजारमा स्थापित हुनसक्ने सुत्र के हो ?
औषधिको गुणस्तरियता र मार्केटिङ मुटु र मस्तिष्क जस्तै महत्वपूर्ण पाटा हुन् । मार्केटिङ मुटु हो । औषधि बजारमा स्थापित हुन बेलाबेलामा देशविदेशका सम्बन्धित विज्ञहरुसँग तालिम र मेसिनबारे जानकारी लिन जरुरी हुन्छ । लगानी भनेको औषधिको भवन मात्र बनाउने होइन । यसमा अत्याधुनिक मेसिन र मानव स्रोतको विकास हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्