Logo
|
Friday 19th April 2024
Logo

epaper

राष्ट्रपतिद्धारा क्यान्सर हस्पिटलको उद्घाटन



जनस्वास्थ्य सरोकार, २० जेठ । गणतान्त्रिक नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको हरिसिद्धिमा निर्माण गरिएको अत्याधुनिक नेपाल क्यान्सर हस्पिटलको उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो—‘अहिले मुलुकमा क्यान्सर उपचारका लागि क्रियात्मक सहयोगको जरुरत छ ।’

क्यान्सर उपचारमा नैतिकताको खाँचो

गाउँतहसम्म स्तरीय स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो—‘हातेमालो र साझेदारीबाट मात्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनसक्छ । ‘क्यान्सरमा जनेचतना र जागरण ल्याउन जरुरी छ । उपचारमा नैतिकताको उत्तिकै जरुरत पर्छ । राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षालाई देशभर विस्तार गर्दै सर्वसुलभ गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले क्यान्सर रोग उपचारका लागि देशका विभिन्न ठाउँमा अत्याधुनिक उपकरणसहितको केन्द्र हुनुपर्नेमा जोड दिनुभयो ।

क्यान्सर लडाँइमा स्वास्थ्यमन्त्रीको आग्रह
सो अवसरमा स्वास्थ्य मन्त्री गगनकुमार थापाले क्यान्सर रोगको उपचार र रोकथाम सम्बन्धि प्रोटोकल बनाइसकेको उल्लेख गर्दै मुलुकभरका १ हजार स्वास्थ्य केन्द्रबाट सर्भाइकल क्यान्सरलगायतका विभिन्न सेवा निःशुल्क दिने अभियानमा सरकार लागेको जानकारी गराउनुभयो । नियमित स्वास्थ्य परीक्षण नगर्दा निको हुने क्यान्सर पनि अन्तिम अवस्थामा पुगेको भन्दै मन्त्री थापाले स्थानीय जनप्रतिनिधिहरुले जनस्वास्थ्यको क्षेत्रमा पनि चिन्ता र चासो राख्नुपर्ने उल्लेख गर्नुभयो । क्यान्सरसँगको लडाई जित्न सरकार एक्लैले सक्दैन—‘मन्त्री थापाले भन्नुभयो— स्थानीय तहसम्म सेवा बिस्तारका लागि निजी क्षेत्रको पनि साथ र सहयोगको जरुरत छ ।’

स्वास्थ्यमा पहुँच खै ?
सो अवसरमा उद्योगमन्त्री नबिन्द्रराज जोशीले सबै नेपालीले गुणात्मक सेवा पाउने अधिकार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएकाहरुको पनि स्वास्थ्यमा पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।

अस्पताल अध्यक्ष भन्छन्—अत्याधुनिक सेवा पहिलो प्राथमिकता
नेपालका कतिपय व्यक्ति वर्षौदेखि क्यान्सरले सताएर पीडित छन् । तर उच्चस्तरीय क्यान्सर उपचारसम्बन्धि श्रोत र साधनहरुलाई प्राथमिकता नदिनु अत्यन्त दुःख लाग्दो कुरा हो । यसरी क्यान्सर बिरामीहरुलाई अन्तर्राष्ट्रियस्तरको उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरु सँग सामना गर्ने उद्देश्यले मुलत यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउनुभयो । करिब २६ रोपनी क्षेत्रफलमा ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो सेवाग्राही अस्पताल बताइन्छ । ‘हस्पिटलको स्थापना कालमा आर्थिक, प्राविधिक, सामाजिक, राजनितिकलगायत थुपै्र चुनौति भए पनि क्यान्सर बिरामी तथा क्यान्सर बिरामीका परिवारले भोग्नु परेका समस्याहरुको अगाडि यस्ता चुनौति नगन्य सावित भए । सहकर्मी साथी, परिवार, शुभ चिन्तक, स्थानीयबासी, बिरामी एवं बिरामीका परिवाहरुको सक्रिय सहयोगका साथै भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा पाँच बर्षको अथक प्रयास पछि यो सपनालाई मुर्त रुप दिन सफल भयौं ।’ अध्यक्ष डा. श्रेष्ठले भन्नुभयो— ‘क्यान्सर निको हुन सक्छ भन्ने नारा मूल मन्त्र बनाई काम गरिरहेका छौं ।’

क्यान्सर उपचारमा विदेशीने ठूलो धनराशी जोगाउँछौं—मेडिकल डाइरेक्टर
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तर्रािष्ट्रय मापदण्ड अनुरुप एउटै छातामुनि नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिने नेपालको एक नमुना हस्पिटलको रुपमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको अस्पतालका मेडिकल डाइरेक्टर एवं कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट डा. विजेशराज घिमिरेले बताउनुभयो । स्पष्ट दुरदर्शीता र प्रतिबद्धता भएका जनशक्तिका साथमा यस केन्द्र प्रतिष्ठित शैक्षिक क्यान्सर सेन्टरका रुपमा अघि बढ्ने तथा क्यान्सर पीडित जनमानसलाई सदैव उपचार सेवा प्रदान गर्ने कुरामा अस्पताल समर्पित रहेको मेडिकल डाइरेक्टर डा. घिमिरेको भनाइ छ । यस हस्पिटल उत्तर भारतको एक उत्कृष्ट र ठूलो क्यान्सर सेन्टर मानिएको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर इनस्चिच्युट तथा रिसर्च सेन्टर सँग आवद्ध छ । । डा. घिमिरले भन्नुभयो’—यस आवद्धताले हस्पिटललाई विभिन्न आयाममा सहयोग गरी यसको दक्षता बढाएको छ भने क्यान्सर उपचारका लागि बर्षेनी विदेशिने ठूलो धनराशी जोगाउन केही हदसम्म भएपनि मद्धत गरेको छ । हस्पिटलमा गरिने रेडिएशन अन्कोलोजी उपचार अन्तराष्ट्रिय स्तरको रहेको छ । यहाँ प्रदान गरिने किमो सेवा अन्तराष्ट्रिय निर्देशन मापदण्ड अनुसार गरिन्छ । साथै हस्पिटलले रेडियोलोजी र ल्याबोरेटरी दुवै विधाहरुमा उच्च स्तरीय सेवा प्रदान गर्ने तर्फ सदैव क्रियाशिल रहदैं सेवाको स्तरबृद्धिमा सदैव सजग रहने उल्लेख छ ।

अत्याधुनिक रेडिएसन सेवा
यस हस्पिटलले अद्वितीय बहुविषयक पँहुचका साथसाथै निदान, उपचार र रोकथामको उचित श्रृंखला पद्धति अपनाएको छ । क्यान्सर रोग सम्बन्धी यस संस्थाको खोज–अनुसन्धान, उपचारको शैली र स्तर अतुलनीय छ । हस्पिटलमा प्रयोग हुने अत्याधुनिक रेडिएशन उपकरणले परम्परागत रुपमा गरिने रेडियोथेरापीमा आमुल परिवर्तन ल्याई क्यान्सर उपचार सेवामा प्रभावकारी भूमिका निर्वाह गरेको अस्पतालकी डाइरेक्टर स्वरुपा श्रेष्ठले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले नेपालमा प्रत्येक वर्ष १५ हजार नयाँ क्यान्सरका बिरामी थपिनसक्ने अनुमान गरेको छ । यही अनुपातमा क्यान्सर रोगी थपिंदै जाँदा ७० प्रतिशत क्यान्सर रोगी नेपालजस्तो विकासोन्मुख मुलुकमा देखिनसक्ने संगठनको भनाइ छ । क्यान्सर रोगी थपिने क्रम कम गर्न राज्य थप क्रियाशील हुन जरुरी छ ।
नसर्ने रोगमध्येको क्यान्सर एक हो । विश्वमा हरेक वर्ष क्यान्सरबाट पीडित हुनेको संख्या बढ्दो गतिमा छ भने त्यहि गतिमा मृत्यु पनि बढिरहेको छ । क्यान्सरका बिरामीहरुको संख्या सन् २००८ को तुलनामा २०१२ मा बढेको ग्लोबोक्यान एजेन्सीको तथ्यांकले देखाउँछ । ग्लोबोक्यानले सन् २०१२ मा गरेको सर्वेक्षणले विश्वमा हरेक वर्ष १ करोड ४१ लाख क्यान्सरका नयाँ बिरामी देखिने र क्यान्सरका कारण हरेक वर्ष ८२ लाख मानिसको मृत्यू देखाउँछ । जबकी सन् २००८ मा १ करोड २७ लाख क्यान्सरका नयाँ बिरामी देखिएकोमा ७६ लाखको मृत्यू भएको थियो । यद्यपि क्यान्सरका बिरामी बढ्ने क्रम जारी छ । यही रुपमा क्यान्सर बढ्दै जाँदा सन् २०३० मा क्यान्सरका बिरामी दोब्बर हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्