जब मन डराउँछ

प्रा.डा. सरोज वझा/ वरिष्ठ मनोरोग विशेषज्ञ/ त्रि.वि.शिक्षण अस्पताल || प्रकाशित मिति :2017-06-06 11:22:03

प्रा.डा.सरोज प्रसाद वझा त्रि.वि. शिक्षण अस्पतालमा मनोरोग विभागका प्रमुख, मनोरोग चिकित्सक संघको पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ नेपालबाट साइक्याट्रिकमा एमडी गर्ने पहिलो डाक्टर हुनुहुन्छ । त्रि.बि.शिक्षण अस्पतालबाट मनोरोग विषयमा विशेषज्ञता अध्ययन शुरु हुँदा डा. वझा एक्लै हुनुहुन्थ्यो । यसअघि मनोरोगमा एमडी गर्न विदेश जानुपर्दथ्यो । प्रा.डा.वझाले अहिले इन्स्टिच्यूट अफ मेडिसिनको एमबीबीएस डाक्टरहरुको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई छुट्टै विषय बनाई मानसिक स्वास्थ्यसम्बन्धि तालिम र अध्यापन गराउने अभियान शुरु गर्नुभएको छ । स्थानीय जिल्ला अस्पताल एवं प्राथमिक स्वास्थ्य केन्द्रहरुमा शारीरिक स्वास्थ्य सेवाका साथै मानसिक स्वास्थ्य सेवा पनि उपलब्ध गराउने उहाँको लक्ष्य छ । सो भएको खण्डमा नेपाली जनताले आफ्नै घरदैलोमा मानसिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुनसक्ने अपेक्षा गरिएको छ । यसबाट स्थानीयबासीहरुले कम कडा खालका मानसिक रोगको उपचार पाउने प्रा.डा वझाको भनाइ छ । अहिले मानसिक रोगको उपचारका लागि राजधानी वा भारत जानुपर्ने बाद्यता छ । यस शीर्षकमा हामीले प्रा.डा वझालाई पत्रिकाको कभर पेजमा राखेका छौं । साथमा मानसिक स्वास्थ्य र डिप्रेसनबारे जानकारीमूलक महत्वपूर्ण आलेख पनि प्रस्तुत गरेका छौं ।

उनमा खुशीको वातावरण छैन । काम गर्न जाँगर आउँदैन । रमाइलो गर्न मन लाग्दैन । मनमा नराकात्मक सोच आइरहन्छ । जीवनदेखि विरक्त लाग्छ । बाँच्नुको अर्थ देख्दैनन् । मृत्यू नै सबै कुराको समाधान महसुस गर्छन् । यो बाजुरा जुकोटका ३७ बर्षीय हरिबहादुर शाही (नाम परिवर्तन) को व्यथा हो । उनका एक श्रीमती, २ छोरा र एक छोरी छन् । पेशाले उनी शिक्षक हुन् । उनलाई मानिससँग बोल्न डर लाग्छ । उनमा यस किसिमको समस्या २०६८ सालदेखि भएको थियो । त्यो बेलादेखि नै शाहीलाई विद्यार्थीको अगाडि बोल्न निकै गा¥ह«ो महसुस हुन्थ्यो । काम गरेर कमाएको पैसाले परिवार पाल्न नसक्ने हो कि भन्ने उनमा ठूलो चिन्ता भयो । पछिल्लो समय उनले तीन महिनादेखि आत्महत्या गर्ने सोच बनाए । चिन्तामा छट्पटाइरहेको बेला एक दिन बेलायतबाट प्रशारण हुने बीबीसी नेपाली सेवामा वरिष्ठ मनोरोग विशेषज्ञ प्रा.डा. सरोज वझाको अन्तर्वार्ता सुनेका थिए । त्यसमा परामर्श र औषधिको सेवनबाट डिप्रेसन समस्या पूर्ण रुपमा समाधान भएका धेरै उदाहरण प्रस्तुत भएका थिए । डिप्रेसनका कारण सानैमा आत्महत्या गर्नसमेत अघि सरेका एक प्रतिष्ठित व्यक्ति जगन्नाथ लामिछानेले विशेष परामर्श र औषधि सेवनका कारण समस्याबाट मुक्ति पाएको कथा पनि सुन्ने मौका पाए । त्यसपछि शाही प्रा.डा. वझासँग परामर्श र औषधोपचार सेवा लिने निधो गरी केही समयअघि काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पताल आइपुगे । यतिखेर उनी डा. वझाको काउन्सिलिङ र औषधोपचारमा छन् । उनलाई मानसिक समस्या समाधानका लागि औषधि चलाइएको छ । उनले बिस्तारै आफूलाई सहजता भएको महसुस गर्दैछन् । रोग पूर्ण रुपमा निको हुन करिब ४ देखि ६ महिना लाग्ने छ ।
विश्वमा मानिसलाई अशक्त गराउने रोगहरुमध्ये एचआईभी एड्सपछि दोस्रो कारणमा डिप्रेसन देखिएको छ । मनका धेरै रोगमध्ये डिप्रेसन धेरैमा देखिने समस्या हो । यसरी नै डिप्रेसनको बृद्धि भएमा विश्वमा डिप्रेसनले विकराल रुप लिने छ । यसलाई दृष्टिगत गरी विश्व स्वास्थ्य संघले आफ्ना १ सय ७७ राष्ट्रहरुमा डिप्रेसनबारे बर्षभरि खुलेर कुरा गर्न आव्हान गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा ३ करोडमा डिप्रेसन छ । यो विश्वको जनसंख्याको ४ प्रतिशत हो । मन कमजोर हुने रोग नै डिप्रेसन हो । मन स्वस्थ्य भएमा मन ठीक हुन्छ । सोच्ने सक्ने शक्ति ठीक भएमा व्यवहार ठीक हुन्छ ।
मनोसामाजिक रोग
स्वास्थ्य भनेको शारीरिक मानसिक, सामाजिक र आध्यात्मिक रुपमा स्वस्थ्य हुनु हो । विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यबिना जीवनको अर्थ नहुने उल्लेख गरेको छ । मस्तिष्कबिना मानिस अर्थहीन हुन्छ । मस्तिष्कले सोच्ने र भाव व्यक्त गर्ने काम गर्छ । साथै स्मशरणशक्ति, ठीक बेठीक छुट्याउने मस्तिष्कको काम हो । त्यसैले मन र विचार स्वस्थ्य रहनु नै मानसिक स्वास्थ्य हो । अनिमात्र व्यक्तिका हरेक व्यवहार स्वस्थ्य हुन्छन् । मानसिक स्वास्थ्यभित्रका रोगहरुलाई मनोसामाजिक रोग भनिन्छ । नेपाली समाजमा मानसिक शव्दलाई मौलाहा, पागल भनेर व्याख्या गर्ने प्रचलन छ । यो होइन । उपयुक्त उपचार र परामर्श पाएमा मानसिक रोग राम्रोसँग निको हुन्छ ।
मन र सोच बिग्रिने कारण
विश्व स्वास्थ्य संगठनका अनुसार, डिप्रेसन र एन्जाइटी हरेक पाँच जनामध्ये एकजनामा देखिने गर्छ । अमेरिकामा हरेक ४ जना महिलामध्ये एकजना र हरेक ८ जना पुरुषमध्ये एक जनालाई डिप्रेसन हुने गरेको पाइएको छ । मनको बिरामीलाई मुड डिसअर्डर र विचारको बिरामीलाई थिंकिङ डिसअर्डर भनिन्छ । मनले भाव व्यक्त गर्छ । यो देखिदैन । मन कमजोर भएमा डिप्रेसन र मन डराएमा एन्जाइटी हुन्छ । कडाखालको मनोरोगलाई म्यानिया भनिन्छ । यो थोरै मानिसलाई मात्र हुन्छ ।
मन र सोचाइ बिग्रिने कारक तत्व
मन र विचार मस्तिष्कमा उत्पन्न हुने भएकाले मस्तिष्क स्वस्थ्य रहन जरुरी पर्छ । अन्यथा मन र विचारमा समस्या आउनसक्छ । त्यसैले मस्ष्तिकलाई आघात पार्ने कुनै पनि क्रियाकलाप गर्न हुँदैन । टाउकोमा लाग्ने चोट, धेरै ज्वरोका कारण इन्फेक्सन, पोषणको अभाव, टाउकोमा पिट्ने आदिले मस्तिष्कमा आघात पर्नसक्छ । यसरी विभिन्न कारणबाट मस्तिष्कको विकासमा असर परेमा मन र विचारका बिरामीहरु उत्पन्न हुने संभावना धेरै हुन्छ ।

—गर्भावस्थामा राम्रो पोषण नपुगेमा बच्चाको मस्तिष्क विकासमा असर पर्नसक्छ ।
—भरपर्दो डेलिभरि सेवा नपाएमा मस्तिष्कमा असर पर्नसक्छ । जस्तोः बच्चा जन्मिसकेपछि मस्तिष्कमा अक्सिजन नपुग्ने, टाउकोमा चोटपटक आदि ।
—बच्चाको स्वभाव आमाबुबाले हुर्काएको पारिवारिक परिवेशबाट मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
—मस्तिष्कको विकास १८ वर्षको उमेरसम्म हुन्छ । यो समयसम्म बच्चाले राम्रोसँग पोषण नपाएमा, बच्चालाई टाउकोमा पिट्ने, धुम्रपान र मद्यपान सेवनको कुलत आदि कारणले मस्तिष्कको विकासमा असर पर्नसक्छ ।
—गर्भावस्थामा औषधिको सेवन गरेमा बच्चाको मस्तिष्कमा असर पर्नसक्छ । त्यसैले गर्भवती भएको पहिलो ३ महिनासम्म कुनै पनि औषधिको सेवन गर्न हुँदैन । यो समयमा बच्चाको मस्तिष्कको विकास धेरै हुन्छ ।
—गर्भावस्थामा आमाले तनाव लिएमा बच्चाको मस्तिष्क विकासमा असर पर्न सक्छ । त्यसैले यो बेलामा तनाव लिन हुँदैन ।
के गर्ने ?
मन, विचार, बुद्धि र स्मशरणशक्ति मस्तिष्कबाट प्राप्त हुन्छ । मन र विचार राम्रो भएपछि व्यक्तित्वको विकास हुन्छ । यसरी बच्चाको मस्तिष्कको विकास स्वच्छ रुपमा भएमा राम्रो स्वभाव भएको व्यक्ति बन्छ । त्यसैले नेपाल बनाउन हाम्रा भविष्यका कर्णाधार मानिएका बालबालिकाहरुलाई उपयुक्त लालन पालन र पोषण हुन जरुरी छ ।
—गर्भावस्थामा पर्याप्त पोषणयुक्त खाना खाने
—अनावश्यक औषधिको प्रयोग नगर्ने
—अनावश्यक तनाव नलिने
—बच्चालाई सुविधायुक्त ठाउँमा जन्माउने
—बच्चालाई राम्रो वातावरणमा हुर्काउने र राम्रो संगत दिने
—परिवारमा बुबाआमाले झगडा नगर्ने
—बच्चालाई नपिट्ने
—पोषणयुक्त खाना खुवाउने
राज्यको दायित्व
सन् २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले देश गरिब हुने कारणमध्ये मानसिक स्वास्थ्य पनि भएकाले यसलाई प्राथमिकता दिएमा समग्र मुलुकको विकास हुनेमा जोड दिएको छ । नेपालमा बि.सं.२०५३ सालमा राष्ट्रिय मानसिक स्वास्थ्य नीति बन्यो । तर यसको कार्यान्वयन भएन । मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई बौलाहा र पागलको संज्ञा दिइयो । विश्व स्वास्थ्य दिवसको अवसरमा वर्तमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले परिमार्जित नयाँ मानसिक स्वास्थ्य नीतिको मस्यौदा तयार भइसकेको र मन्त्री परिषद्बाट चाँडै स्वीकृति गराउने जानकारी दिनुभएको छ । यसरी राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०७३ स्वीकृति भई चाँडै लागू हुने क्रममा छ । यसरी बनाइएको मानसिक स्वास्थ्य नीति सक्रिय रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ । अहिले स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा मानसिक स्वास्थ्य पनि परेको छ । तर यो पर्याप्त छैन । यसलाई अझ व्यापक र व्यस्थित बनाउन जरुरी छ । मानसिक स्वास्थ्य सेवा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउनु राज्यको दायित्व हो । यसका लागि डाक्टरहरुलाई तालिम दिन जरुरी हुन्छ ।
नेपालमा ६० लाखमा मानसिक समस्या
विश्वमा क्यान्सर, उच्चरक्तचाप, दम, मधुमेह, इन्जुरी र मानसिक समस्या प्रमुख रुपमा देखिएका छन् । विश्व स्वास्थ्य संगठनले हरेक ५ जनामध्ये एक जनामा मानसिक समस्या देखिने उल्लेख गरेको छ । अहिले विश्वमा करिब २ अर्ब जनसंख्यालाई मानसिक समस्या हुनसक्ने अनुमान गरिएको छ । डिप्रेसनबाट मात्र ३ करोड जनसंख्या पीडित छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा करिब २० प्रतिशतमा मानसिक समस्या हुनसक्ने उल्लेख गरेको छ । यसैलाई आधार मान्दा नेपालमा करिब ६० लाख जनसंख्या मानसिक समस्याबाट ग्रसित छन् ।
४० सेकेन्डमा एक जनाले आत्महत्या
मानसिक रोगमध्ये धेरैलाई हुने डिप्रेसन र एन्जाइटी हो । डिप्रेसन भनेको दिक्क लाग्ने र एन्जाइटी भनेको मन डराउने हो । नेपालमा ९ लाख डिप्रेसन, ९ लाख एन्जाइटी र १ लाख कडा मानसिक समस्या भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यसका साथै अल्कोहल र गाँजा खाने समस्या, निद्रा नलाग्ने समस्या, टाउको दुख्ने, वाइपोलार डिसअर्डर, सेक्सुअल समस्यालगायतका धेरै समस्या छ । विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने संगठनको तथ्या.क छ । भारतमा हरेक दुई मिनेटमा एक जनाले आत्महत्या गर्छन् । यसको मुख्य कारण डिप्रेसन मानिएको छ ।
डिप्रेसन के हो ?
यो मन कमजोर हुने रोग हो । मन भनेको भाव हो । मन मस्तिष्कबाट निस्किने रसायनिक पदार्थहरुले मान्छेको मन र विचार डिटरमाइन गर्छ । मस्तिष्कबाट विशेष गरेर सेरोटोनिन भन्ने रसायनिक तत्व निस्कन्छ । यो तत्वले मानिसको मन डिटरमाइन गर्छ । यसको कमीले डिप्रेसनको समस्या देखिने गर्छ । यो कडा रोग त होइन । तर समयमा निदान गर्न नसकिएमा यसले व्यक्तिको ज्यानसमेत लिन सक्छ । अहिले डिप्रेसनका कारण हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने तथ्यांक विश्व स्वास्थ्य संगठनले जानकारीमा ल्याएको छ । आत्महत्या गर्ने व्यक्तिहरुमा २० देखि ३० वर्ष उमेर रहेको छ ।
लक्षण
—मनमा नकारात्मक सोच आउने
—मन खुशी नहुने
—दिक्क लागिरहने
—रमाइलो गर्न मन नलाग्ने
—जाँगर नलाग्ने
—अल्छी लाग्ने
—निद्रा नलाग्ने
—भोक नलाग्ने
—यौनइच्छामा कमी आउने
—शारीरिक तौल घट्ने

कारक तत्व
—वंशाणुगत
—मनोविज्ञान
—सामाजिक
के हुन्छ ?
—मन कमजोर हुन्छ
—सोचाइ नकारात्मक
—व्यवहारमा केही गर्न नसक्ने

उपचार
परामर्श र औषधिबाट मानसिक रोगको उपचार गरिन्छ । मस्तिष्कमा हुने रसायनिक तत्व सेरेटोनिनको कमीलाई सामान्य पार्न औषधि सेवन गर्नुपर्छ । निद्रा नलाग्नेलाई निद्रा लागेपछि डिप्रेसनमा कमी आउँछ । मन कमजोर भएकाहरुले मन बलियो बनाएमा डिप्रेसन हट्नसक्छ । डिप्रेसन भएमा मनका कुराहरु बाहिर निकाल्नुपर्छ । मनका कुरा परिवार र साथीहरुसँग बताउनुपर्छ ।
जस्तोः आधा बोतल पानी भरिएको भन्ने कि आधा बोतल खाली । आधा बोतल भरेको भन्न पनि सकिन्छ वा आधा बोतल खाली पनि भन्न सकिन्छ । डिप्रेसन हुनेले आधा खाली देख्छ भने डिप्रेसन नभएकाहरुले आधा भरिएको देख्छन् । निम्न कुरामा ध्यान दिएमा ५० प्रतिशत डिप्रेसनलाई कम गर्न सकिन्छ ।
रोकथाम
—शारीरिक अभ्यासन गर्ने
—ठीक समयमा सुत्ने र उठ्ने
—रक्सी सेवन नगर्ने
—औषधि सेवन गरेकाहरुले नियमित गर्ने
—मनका कुरा खुलेर बताउने
—शारीरिक अभ्यास गर्ने
—आवश्यक परेमा चिकित्सकको सल्लाह लिने
— कडा खालको मानसिक समस्याका लागि हटलाइनमा सम्पर्क गर्ने

आत्महत्याको सोच राख्ने व्यक्तिमा देखिने लक्षण

—आपूmलाई मार्ने धम्की दिने
—‘मरेपछि कसैले देख्दैनन्’ जस्ता कुरा गर्ने
—कीटनाशक औषधि,हातहतियार, विषलगायत आफ्नो ज्यान लिने माध्यमहरु इन्टरनेटमा खोज्ने
—परिवार, इष्टमित्रहरूलाई बिदाइ गर्ने
—आफ्नो सम्पत्ति बाँडिदिने
—आफ्नो अन्तिम इच्छा लेख्ने

आत्महत्याको जोखिममा को को पर्दछ ?
—एक पटक आत्महत्याको प्रयास गरिसकेका व्यक्ति
—उदासीन महसुस गरेका व्यक्ति
—जाँडरक्सी, लागूपदार्थको समस्या भोगिरहेका व्यक्ति
—भावनात्मक विचलित भएका व्यक्ति जस्तै ः आफ्नो
नजिकको व्यक्ति गुमाएको, सम्बन्धविच्छेद भएका
—कुनै दीर्घकालीन रोगबाट ग्रसित व्यक्ति
—युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेका व्यक्ति
—समाजबाट वहिष्कार भएका व्यक्ति
के गर्ने ?
—आत्महत्याबारे कुरा गर्ने उपयुक्त समय र शान्त ठाउँ खोज्ने
— विशेषज्ञ जस्तै ः मनोचिकित्सक, मनोविमर्शकर्ता, सामाजिक कार्यकर्ताको सहयोग लिन प्रोत्साहन गर्ने
—आत्महत्याको उच्च जोखिममा भएका व्यक्तिलाई एक्लै नछाड्ने र विशेषज्ञ, आपत्कालीन सेवा, स्वास्थ्यकर्मीको सहयोग लिने
—आत्महत्याको जोखिममा भएका व्यक्तिको नजिक कीटनाशक औषधि, हातहतियार आदि नराख्ने
के गर्ने ?
—विश्वास गर्ने व्यक्तिसँग मनका भावना बाँड्ने
—तालिमप्राप्त व्यक्तिहरूसँग सहयोग लिने
—परिवार र साथीहरूको सम्पर्कमा रहने
—दैनिक हिँड्ने र व्यायाम गर्ने
—नियमित खाने र पर्याप्त सुत्ने
—रक्सीलगायत लागू पदार्थ सेवन नगर्ने
— लागूपदार्थबाट टाढै बस्ने

    Comment Here!