Logo
|
Friday 29th March 2024
Logo

epaper

७० प्रतिशत बाथरोगीले बीचमै औषधि छाड्छन्



मुलुकमा बाथ रोगको उपचारमा पायनियर मानिएको नेशनल बाथरोग सेन्टरले स्थापनाको ४ वर्ष पूरा गरेको छ । काठमाडौंको रातोपुलमा रहेको यस सेन्टरले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरालगायतका ठाउँमा आफ्नो शाखा बिस्तार गर्नुका साथै करिब ७५ हजार भन्दा धेरै बाथ रोगीको उपचार गर्न सफल भएको छ । मुलुकमा रहेका अनुमानित करिब ३० लाख बाथरोगीमध्ये करिब २.५ प्रतिशतलाई मात्र सेवा दिन सकिएको र यसको दायरलाई फराकिलो पार्दै अत्यधिक बाथरोगीहरुलाई एउटै छातामुनि उपचारात्मक र निदानात्मक दुवै सेवा दिन सेन्टर सफल भएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपति बताउनुहुन्छ । करिब ७५ प्रतिशत बाथरोगी उपचारको दायरा बाहिर कठिन जीवनयापन गरिरहेको अनुमान छ ।
अहिले बाथ रोगबारे जनचेतनाको आवश्यकता एकातिर छ भने अर्कोतिर उपचारमा रहेका बिरामीहरुलाई नियमित औषधि सेवन गराउनु अर्को चुनौति थपिएको छ । सेन्टरले उपचारमा रहेका बिरामीमध्ये करिब ७० प्रतिशतले बीचैमा औषधि छोड्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । यसले बाथरोगले शरीरका महत्वपूर्ण अंग मुटु, मिर्गौला, छाला, आँखालगायतका महत्वपूर्ण अंग बिग्रिसकेको हुने र पुनः शुरुको अवस्थादेखि उपचार शुरु गर्नुपर्ने भएकाले बिरामीले थप समस्या व्यहोर्नुपरेको वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यको भनाइ छ ।

अमेरिकन कलेज अफ ¥यूम्याटोलोजीका अनुसार, हरेक देशका १० प्रतिशत जनतालाई बाथ रोग हुने तथ्यांकलाई आधार मानेर नेपालको कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग हुने अनुमान गरिएपनि मुलुकमा कति बाथरोगी छन् भन्ने एकिन हुन सकेको छैन । त्यसैले सेन्टरले नेपालमा कुल जनसंख्यामा बाथरोगीको अवस्था पत्ता लगाउन ‘नट कोर्ड’ सर्वे शुरु गरेको छ । एक वर्षमा सम्पन्न गरिने यस सर्वेबाट बाथरोगीको एकिन तथ्याङ्क बाहिर आउने विश्वास गरिएको छ ।

पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ बाथरोगबारे अझै पनि देशका कुनाकाप्चामा जानकारी र उपचार सम्भव नभएकाले सेवा विस्तार गर्नुपर्ने आवश्यकता बताउनुहुन्छ । उहाँले भन्नुभयो – ‘बाथरोग धेरै नेपालीलाई देखिने रोग भएकाले यसको सहज र सुलभ उपचारको आवश्यकता छ । सरकराले कुनै सार्वजनिक जग्गा दिएर बाथरोगको सुविधासम्पन्न अस्पतालको विकास र विस्तारमा पहल गर्नुपर्छ ।’

बाथ सयौँ किसिमका हुन्छन् । कुन प्रकारको बाथ हो भनी थाहा पाउन रगत परीक्षण गर्नुपर्छ र त्यसबाट हुनसक्ने जटिलताबाट बच्न मद्धत गर्छ ।

बाथ बच्चा, युवा र वृद्धवृद्धालगायत जुनुसकै उमेरका व्यक्तिलाई हुने नसर्ने प्रकारको दीर्घ रोग हो । नेपालको सन्दर्भमा युरिकएसिडबाट हुने बाथ, हाडजोर्नी सुन्निने दुख्ने, हड्डी खिइने, मेरुदण्डको हड्डी दुख्नेखालका बाथका समस्या बढी देखिन्छ । साथै, बालबालिकालाई पनि अत्यधिक मात्रामा बाथरोगको समस्या देखिने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
खासगरी, बाथरोग दुखाईबाट शुरु हुन्छ । हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न समस्या हुने, हात मुठ्ठी पार्न समस्या, घुँडा, कुहिनाको जोर्नी दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने दुख्ने आदि गर्छ । छातीका करङ दुख्ने, पिसाब पोल्ने पनि हुन सक्छ । त्यसैगरी बाथ भएमा गर्भवती महिलाको गर्भ खेर जाने पनि हुनसक्छ । दुखाई दोहोरिएर हुनेजस्ता समस्या जुनसुकै बाथ भएमा पनि देखिन सक्ने साझा लक्षण हुन् ।

यस्ता समस्या देखिएपछि बाथरोगको डाक्टरलाई देखाउनुपर्छ । रगत र अन्य विशेष जाँच गरेपछिमात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने कुरा स्पष्ट हुन्छ । बाथरोग पूर्णरूपमा निको हुँदैन तर यसबाट हुने अन्य समस्या हुन नदिन रोकथाम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्