Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सर अस्पतालको सेवा सुधार हुँदै



व्यवस्थापकीय त्रुटिका कारण अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै यसको सेवा सुधार अभियान थालिएको छ ।गत वैशाख २४ गते कार्यकारी निर्देशकमा डा विजयचन्द्र आचार्य नियुक्त भएसँगै अस्पतालले प्रदान गर्ने सेवामा सुधार आएको छ । कर्मचारीलाई सबै सेवा सुचारु गरी अतिरिक्त समयमा समेत काम गर्न आचार्यले निर्देशन दिनुभएको छ । निर्देशनसँगै अहिले अस्पताल आएका बिरामी सेवा लिन अन्यत्र जानु परेको छैन ।

अस्पतालले वैशाखमा नौ हजार १०५ बिरामीको उपचार गरेकोमा जेठमा उक्त सङ्ख्या ११ हजार ८४९ पुगेको छ । बिग्रिएर थन्किएको एमआरआई मर्मत गरिएको छ । सो अस्पतालका अनुसार वैशाखमा ३९९ बिरामीको तथा जेठमा ७२५ जनाको सिटिस्क्यान गरिएको छ । यसअघि बिरामी सिटिस्क्यान गर्न र रेडियो थेरापी सेवाका लागि अन्यत्र जान बाध्य थिए ।

वैशाखमा ७७ जनाको मेमोग्राफी गरिएकोमा जेठमा ११६ जनाको गरिएको छ भने गामा क्यामरा परीक्षण गराउनेको सङ्ख्या १५ जनाबाट ५५ जना पुगेको छ । वैशाख मा ८७३ जनाको सेकाई गरिएकोमा जेठमा सो सङ्ख्या एक हजार ८१२ पुगेको अस्पतालका कार्यकारी निर्देशक डा आचार्यले जानकारी दिनुभयो । “हामीले प्रदान गर्ने सेवा बाहिरको भन्दा आधा सस्तो छ,” उहाँले भन्नुभयो ।

अस्पतालको लेखा शाखाका अनुसार अस्पतालले वैशाखमा रु ९६ लाख ४७ हजार आम्दानी गरेको छ । जेठमा सो आम्दानी बढेर रु एक करोड ४६ लाख पाँच हजार पुगेको छ । अस्पतालको इन्धनमा बेथिति ढङ्गबाट खर्च भएको गुनासो आइरहेकामा सो खर्चमा समेत कमी आएको छ । वैशाखमा रु एक लाख ४६ हजार इन्धनमा खर्च भएकामा जेठमा रु एक लाख सात हजार मात्र खर्च भएको अस्पतालले जनाएको छ ।

“अनावश्यक खर्च घटाउने र सेवा विस्तार गर्दै लैजाने योजना वनाएका छौँ,” डा आचार्यले भन्नुभयो । अस्पताल आएका बिरामीलाई बाहिर पठाउन नपरोस् भनेर सेवा चुस्तदुरुस्त बनाइएको उहाँको भनाइ छ । बिहान र बेलुकाको समयमा चिकित्सक प्राविधिकले अतिरिक्त सेवा दिएकाले केही खर्च बढे पनि बिरामीले सेवा पाएको र अस्पतालको आम्दानीमा समेत वृद्धि भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय अस्पतालको सेवा प्रभावकारी नबनाउने र बाहिर बिचौलियासँग मिलेमतो गरेर बिरामी पठाउन थालेपछि गएको साउनमा स्थानीय प्रशासनले हस्तक्षेप गरी बिचौलिया नियन्त्रणमा लिएको थियो । अस्पताललाई जुन उद्देश्यका साथ स्थापना गरिएको हो, सोही अनुरुप बिरामीलाई सेवा सुविधा दिने काममा जुटेको अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले बताउनुभयो । उहाँले छिट्टै श्यया थप गरी बिरामीलाई सेवा दिने पनि बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्