Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कलेजोको समस्याले पनि पाइल्स



 दिसा गर्ने ठाउँ (मलद्धार) का नसाहरु बिस्तारै फूलेर हुने मासुको डल्लोको आकारलाई पाइल्स भनिन्छ । यसले मलद्धारबाट निस्कने दिसाको बाटोमा अवरोध गर्छ र व्यक्तिलाई सत्रुले दिएको जस्तो पीडा दिन्छ । यसलाई मेडिकल भाषामा हेमोरोइड्स र आयुर्वेदमा अर्स भनिन्छ । यो गुदद्धार अन्तर्गत हुने रोग हो ।

कसरी हुन्छ ?
पाइल्स हुनमा आरामदायी जीनशैली, फास्टफूड र जंकफूडको अत्यधिक सेवन, कमजोर पाचन शक्ति, कलेजोसम्बन्धि पुराना रोग आदिलाई लिइन्छ । फास्टफूड, जंक फूड आदिले पेटको अग्नी (ताप) लाई कम गरिदिन्छ । पेटमा अग्निको मात्रा घटेपछि कब्जियत हुन्छ र दिसा गर्दा अत्यधिक बल गर्नुपर्छ । अत्यधिक बलका कारण मलद्धारका नसाहरु फूलेर पाइल्स रोगको जन्म हुन्छ । समयमा खाना नखाने र एकै ठाउँमा लामो समयसम्म बसिरहनाले पनि पाइल्सको समस्या हुनसक्छ । पेट र कलेजोसम्बन्धि पुराना रोगले पनि पाइल्स गराउनसक्छ ।

पाइल्समा वंशाणुगत भूमिका कतिको हुन्छ ?
पाइल्स हुनमा वंशाणुगत कारण पनि हुन्छ । तर जीवनशैली र रहनसहनले सबैभन्दा धेरै भूमिका खेलेको हुन्छ । पाइल्स बच्चादेखि बृद्धबृद्धासम्मका जो कोहीलाई पनि हुनसक्छ । तर युवावस्थाका व्यक्तिलाई धेरै हुने गरेको पाइन्छ ।
गर्भवती भएको बेला कतिपय महिलाहरुलाई फिसरको समस्या हुनसक्छ ।

कलेजोको समस्याले कसरी पाइल्स गराउनसक्छ ?
कलेजो महत्वपूर्ण अंग हो । कलेजोमा कुनै रोग लागेमा पाचनप्रणालीमा ¥ह«ास आउँछ । आवश्यक मात्रामा पाचन रस उत्पादन हुन सक्दैन र विभिन्न पेटसम्बन्धि रोग उत्पन्न हुन थाल्छन् । साथै पेटको अग्नीशक्ति कमजोर भई कब्जियतको समस्या देखिनसक्छ । यसरी कब्जियतका कारण ७५ प्रतिशत पाइल्सको समस्या देखिने गरेको पाइन्छ ।

लक्षण कस्तो देखिन्छ ।
पाइल्सलाई सामान्यतया ४ भागमा विभाजन गरी लक्षण छट्याउने गरिएको छ । पाइल्स बाहिरी र भित्री दुवै प्रकारको हुनसक्छ ।
पहिलो अवस्था
यो अवस्थामा दिसा बस्दा कहिलेकाँही रगत बग्ने, चिलाउने हुनसक्छ । समयमै चिकित्सकलाई देखाई औषधि सेवन गरेमा पूर्ण निको हुन्छ ।

दोस्रो अवस्था
दिसा गर्दा मासुको डल्लो बाहिर निस्कन्छ र दिसा गरिसकेपछि आफैं भित्र जान्छ । दुख्ने र रगत आउने समस्या पनि हुन्छ । यस अवस्थासम्मको पाइल्सलाई आयुर्वेद औषधि सेवन गराएर निको पार्न सकिन्छ । यस्तो अवस्थामा अलि लामो समय औषधि सेवन गर्नुपर्ने हुनसक्छ ।

तेस्रो अवस्था
दिसा गर्दा मासुको डल्लो बाहिर निस्कन्छ तर आफैं भित्र पस्दैन । साथै धेरै दुख्ने र रगत बग्ने गर्छ । यस अवस्थाको पाइल्समा क्षार सुत्र विधिद्धारा उपचार गर्नुपर्छ ।

चौथो अवस्था
यो अवस्थामा मासुको डल्लो बाहिर नै बसिरहन्छ । अत्यधिक दुखाइसँगै मलद्धारबाट रगत बग्छ । समयमा उपचार नभएमा संक्रमण भई सम्पूर्ण शरिरमा फैलनसक्छ र रोगीको मृत्युसमेत हुनसक्छ । रोगले धनि ,गरिब, ठूलो सानो केही भन्दैन । त्यसैले खानपानमा ध्यान दिनुपर्छ र समयमा नै उपचार गर्न जरुरी हुन्छ ।

उपचार/रोकथाम

  •  पेटको अग्नीलाई मजबुत गराउने
  •  कब्जियत हटाउन कब्जियत नासक औषधि सेवन गर्ने
  •  बढी मात्रामा झोलिला पदार्थ, रेशादार खानामा जोड दिने
  •  पर्याप्त सागसब्जी, ग्रिन सलाद र मौसमी ताजा फलफूल सेवन गर्ने

आयुर्वेदमा ‘निदानम परिबर्जनम’ भन्ने कुरालाई ख्याल गरेर रोग लाग्ने कारण हटाएमा रोग आफैं हट्न सक्छ । कब्जियत हुन नदिन खानपानमा ध्यान दिनुपर्छ । फास्टफूड र जंक फूडको सेवन गर्न गर्न हुँदैन । घरमा बनाएको ताजा, स्वच्छ, सफा खाना खानुपर्छ । रोग लागिसकेपछिको अवस्थामा चिकित्सकको सल्लाहअनुसार आवश्यक उपचार शुरु गर्नुपर्छ । इन्टरनल पाइल्समा औषधिको सेवनबाट रोग निको हुनसक्छ । तर एक्सटर्नल पाइल्समा क्षार सुत्रबाट उपचार गर्नुपर्ने हुनसक्छ ।

क्षार सुत्र के हो ?
सामान्य भाषामा क्षार भनेको अल्काली औषधि हो, सुत्र भनेको धागो हो । स्टेरलाईज प्रविधिबाट औषधि दलेर मेडिकेटेड बनाइको धागो क्षार सुत्र हो । क्षार सुत्र आयुर्वेदको क्षेत्रमा एक सफल, बहुउपयोगी, सरल वैज्ञानिक, साइड इफेक्टरहीत, दीर्घकालीन एवं प्रभावकारी शल्यकर्म (सर्जिकल प्रोस्युडर) मानिन्छ । जसमा मुख्यतः औषधीय गुणले भरिपूर्ण जडिबुटीहरुबाट तयार पारिएको क्षारलाई वारवोलिन धागोमा लेप गरी सोही माध्यमबाट शल्यक्रिया गरिन्छ । यसमा सोधन, लेखन र रोपण जस्ता प्रक्रिया अपनाइन्छ ।

फाइदा के के छन् ?

  •  आधुनिक शल्यकर्मको तुलनामा न्यूनतम तन्तुको क्षय
  •  रगत चढाउनु नपर्ने
  •  बिरामीलाई बेहोस बनाउन नपर्ने
  •  अस्पतालमा भर्ना भएर बस्न नपर्ने
  •  खर्च धेरै नलाग्ने
  •  संक्रमणको जोखिम कम हुने
  •  बारम्बार समस्या नदोहोरिने
  •  मल मुत्रादीको सम्भावना नरहने
  •  शल्यक्रिया गरेपछि बिरामीले बेडरेष्ट नगरी तुरुन्तै आफ्नो सबै काम गर्न सकिने

प्रतिक्रिया दिनुहोस्