Logo
|
Tuesday 16th April 2024
Logo

epaper

त्रिशूली अस्पतालमा प्रसूति शल्यक्रिया बन्द



नुवाकोटको त्रिशुली अस्पतालमा प्रशुतिको शल्यक्रिया बन्द भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहँुदा प्रसूतिको शल्यक्रिया सेवा एक सातादेखि बन्द भएको हो ।
त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ । सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा जटिलता उत्पन्न हुन सक्ने भयले गर्भवती राजधानी धाउन बाध्य भएको त्रिशूली अस्पतालका चिकित्सक डा.राजेन्द्र लामाले बताउनुभयो ।

नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रका बिरामीको दैनिक उपचार तथा प्रसूति सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालमा चिकित्सक नहुंँदा प्रसूति सेवा बन्द भएपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभयो । अस्पतालमा दैनिक १२/१५ सुत्केरी हुने गर्दथे ।

प्रसूति सेवा बन्द भएपछि प्रसूति विशेषज्ञ पठाइदिन प्रमुख पण्डितले स्वास्थ्य मन्त्रालयका सचिव डा. किशोर रेग्मीसँग माग गर्नुभएको छ । आज अस्पतालको निरीक्षण गर्न आएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा वासुदेव पाण्डेको टोलीलाई अस्पतालमा दुई प्रसूति विशेषज्ञ पठाउन माग गरिएको पण्डितले बताउनुभयो ।

विगतमा एक मात्र विशेषज्ञ चिकित्सक भएकाले सेवा बेला बेला प्रभावित हुने गरेको थियो । डा पाण्डेको टोलीले जिल्ला अस्पतालमा पुगेर नगर प्रमुख पण्डित, अस्पताल विकास समिति, अस्पताल सरोकार समिति तथा अस्पताल प्रशासन र चिकित्सकसंँग अन्तरक्रिया गरी छिटोभन्दा छिटो प्रसूति विशेषज्ञ पठाइदिने आश्वासन दिएको अस्पतालका डा लामाले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत प्रसूति विशेषज्ञ डा विनम्र सिलवाल काज अवधि पूरा भएर फर्किएपछि उहाँको स्थानमा मन्त्रालयले कोही पनि नपठाउंँदा एक सातादेखि समस्या आएको हो । चार दशक पुरानो ५० शय्याको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा १७ चिकित्सकको दरबन्दी रहेकामा दुई मात्र स्थायी दरबन्दीका चिकित्सक रहेको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्