Logo
|
Friday 19th April 2024
Logo

epaper

हिमाली क्षेत्रमा ३०० शय्याको अस्पताल



हिमाली क्षेत्रको गौरवको आयोजनाका रूपमा मानिने ३०० शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रु ७६ करोडमा निर्मार्णाधीन भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको कम्पनीका इञ्जिनियर दिनेश भण्डारीले जानकारी दिनुभयो ।

यो ३०० शय्याको भवन पश्चिम नेपालको चिकित्सा जगत्मा आधुनिक, पहिलो र ठूलो अस्पताल हो । कम्पनीले तोकिएको मितिभन्दा अगावै कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखेको छ ।

रजिष्ट्रार विश्वराज काफ्लेले अस्पताल भवन निर्माणपश्चात् पिछडिएका क्षेत्रका नागरिकले छिटो छरितो, व्यवस्थित र अत्याधुनिक सेवा प्राप्त गर्ने बताउनुभयो । “अब एक हजार ५०० रोपनी जग्गा प्रतिष्ठानका नाममा हुनेबित्तिकै शैक्षिक कार्यक्रम सञ्चालन र आवासका लागि संरचना निर्माण कार्य थालनी हुनेछ” – रजिष्ट्रार काफ्लेले भन्नुभयो ।

चार वर्षदेखि प्रवीणता प्रमाणपत्र तह सञ्चालन गरेको प्रतिष्ठानले अब चालु आवको मंसिरभित्रै मिडवाइफ्री सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार बिपिएच तहका लागि कार्यदल गठन र निकट भविष्यमा एमबिबिएस तह सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिष्ठानमा १६ विशेषज्ञ चिकित्सक, २४ मेडिकल अधिृकतसहित जम्मा ११७ जना कर्मचारी कार्यरत छन् ।

शर्मा प्रेरा रसुवा ज्वाइन्ट भेन्चुरले गत २०७२ असार १२ गतेबाट निर्माण कार्य शुरु गरेको थियो । कम्पनीले जाडो यामलाई पनि अनुकूलित बनाउँदै निर्माण कार्यलाई तीव्रता दिँदै आएको छ ।
प्रतिष्ठान स्थापनाले दुर्गमको मानकलाई तोड्दै हाडजोर्नी एनेस्थेसिया, मेडिसिन सर्जन, एमडिजिपी, स्त्रीरोग विशेषज्ञ तथा बालरोग विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस्