Logo
|
Friday 19th April 2024
Logo

epaper

स्तन प्रत्यारोपण स्तन क्यान्सरमा नयाँ बरदान



 उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जाने चिकित्सकहरु बताउँछन् । २५ वर्ष उमेर समूहका २५ सय महिलाहरु मध्ये १ जना, ५० वर्षका ५० जना मध्ये १ र ७० वर्ष नाघेका ३ जना मध्ये १ जनामा स्तन क्यान्सर हुने विभिन्न तथ्यांकले देखाएको छ ।

पर्याप्त जानकारीको अभावमा महिला स्तन क्यान्सरले दुख सहन बाध्य छन् । समयमै उपचार नपाउँदा कतिपयले त स्तन काटेरै फाल्नुपर्ने बाध्यता झेलिरहेका छन् । तर अब स्तन प्रत्यारोपण सुविधा मुलुकमै उपलब्ध भएको छ । यसले उपचारमा सहजताका साथै रोगीलाई पूर्ववत् जीवनयापन गर्न मद्दत गरेको छ ।

स्तन प्रत्यारोपणले सहज

सीतापाइलाकी ४१ वर्षीया रेजीना मुल्मी केसी लाई १० वर्ष पहिले देब्रे स्तनमा क्यान्सर भयो । उपचारका लागि उनी धेरै अस्पताल धाइन् । केही सिप नचलेपछि स्तन काटेरै उनले उपचार गराउनुपर्‍यो । उनी भन्छिन्, “स्तनलाई बचाउन सबैजसो अस्पताल धाए, सबै डाक्टरलाई भेटे तर केही लागेन । अनि स्तन काटेरै फाल्नुपर्‍यो ।”स्तन काटिएपछि उनले शारीरिक रुपमा अपुरोमात्रै महसुस गरिनन् आत्मविश्वास पनि गुम्न पुग्यो । “स्तन हुनु र नहुनु धेरै फरक पर्दौ रहेछ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ”, मुल्मीले भनिन् “स्तन नहुँदा मैले आत्मविश्वास गुमाएको थिए, ती कुराहरु म शब्दमा बयान गर्नै सक्दिन ।” करिब डेढ महिना अघि उनले स्तन प्रत्यारोपण गराइन् । अहिले उनी सहज महसुस गर्दैछिन् । पेशाले उनी फेसन डिजाइनर हुन् ।

स्तन प्रत्यारोपण कसरी गर्ने र?

नेपालमा हुने क्यान्सरमध्ये तेस्रो नम्बरमा स्तन क्यान्सर पर्छ । उमेरसँगै यसको जोखिम पनि बढ्दै जाने चिकित्सकहरु बताउँछन् ।प्रत्येक वर्ष १ लाख मध्ये नेपालका ८ महिलामा स्तन क्यान्सर देखापर्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमध्ये ६ जनाले त यसैका कारण मृत्युवरण गर्न पुग्छन् । तर, नयाँ प्रविधि भित्रिएसँगै क्यान्सरको उपचारपछि स्तन प्रत्यारोपण गर्न सकिने भएको छ । राजधानीकै नेपाल क्यान्सर हस्पिटलले यो सेवा सुरु गरेको तीन महिनाभित्र दुई महिलाले आफ्नो स्तन प्रत्यारोपण गराएका छन् । क्यान्सरबाट मुक्त भएपछि आफ्नै शरीरका अन्य तन्तु राखेर स्तन प्रत्यारोपण गर्न सकिन्छ । क्यान्सरबाट मुक्त भइसकेपछि गरिएको स्तन प्रत्यारोपणले महिलाको सुन्दरता र आत्मबल कायम गर्ने क्यान्सर सर्जन डा। कपेन्द्र अमात्य बताउनुहुन्छ । तर मधुमेह भएका तथा धुम्रपान गर्ने महिलालाई स्तन प्रत्यारोपण नगर्न अमात्यको सुझाव छ ।

“हामी सकभर स्तन बचाएरै उपचार गर्ने कोशिस गर्छौँ”, डा। अमात्यले भन्नुभयो, “यदी बचाउन सकिएन भने स्तन क्याटेर उपचार गरिसकेपछि मात्र प्रत्यारोपण गर्छौँ ।” स्तन प्रत्यारोपण अपरेशनकै क्रममा गर्न सकिने अमात्यको भनाई छ । स्तन प्रत्यारोपण आफ्नै शरीरको विशेष गरी पेट र ढाडको मासु काटेर गर्न सकिन्छ । दैनिकजसो १५र२० जना महिला स्तन सम्बन्धी समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । त्यसमध्ये करिब १० प्रतिशतमा स्तन क्यान्सरको लक्षण भेटिने गरेको अस्पतालको तथ्यांक छ । स्तन प्रत्यारोपण गरीसकेपछि महिलाहरुले आफ्नो जीवन सहज रुपमा जीउन सक्ने अमात्य बताउनुहुन्छ ।

“स्तन काटिसकेपछि महिलाहरु आफुलाई अधुरो महसुस गर्छन, जसले गर्दा उनीहरुको जीवनमा धेरै असर गर्छ”, अमात्यले भन्नुभयो । स्तन प्रत्यारोपणले उनीहरुको जीवन सहज रुपमा जीउन सक्ने भएकाले अत्य बिरामीलाई पनि स्तन प्रत्यारोपणका लागि परामर्श गरिरहेको अमात्यको भनाई छ ।

स्तन क्यान्सरको लक्षण तथा कारण

सामान्यता स्तनमा गाँठागुठी आउनु, स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिप जस्तो पदार्थ बग्नु, स्तन सुन्निनु तथा दुख्नु लगायत स्तन क्यान्सरका लक्षण हुन् । बदलिदो जीवनशैली, अस्वस्थकर जीवनयापन, धुमपान–मध्यपानको सेवन, बच्चा नजन्माउनु, धेरै उमेरमा बच्चा जन्माउनु, स्तनपान नगराउनु जस्ता कारणले पनि स्तन क्यान्सरको प्रकोप तीव्र रुपमा बढीरहेको छ ।
स्तन क्यान्सरको अवस्था

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका अनुसार नेपालमा हुने क्यान्सरमध्ये ७ प्रतिशतमा स्तन क्यान्सर छ । महिलामा हुने क्यान्सरमध्ये १८ प्रतिशतमा पाठेघर, १५ प्रतिशतमा स्तन र १० प्रतिशतमा फोक्सोको क्यान्सर हुने गरेको छ । उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जाने चिकित्सकहरु बताउँछन् । २५ वर्ष उमेर समूहका २५ सय महिलाहरु मध्ये १ जना, ५० वर्षका ५० जना मध्ये १ र ७० वर्ष नाघेका ३ जना मध्ये १ जनामा स्तन क्यान्सर हुने विभिन्न तथ्यांकले देखाएको छ ।

रोकथाम गर्ने उपाय

महिलाहरुले समयमै सचेत भएर आफ्नो स्वास्थ्यको हेरचाह गरे स्तन क्यान्सरको निदान गर्न सकिन्छ । घरमै बसेर पनि नियमित रुपमा स्तन परीक्षण गर्न सकिने अमात्य बताउनु हुन्छ । महिनावारी भएको समयमा भन्दा अरु बेला स्तन दुखे वा गाँठागुठी भेटिए तुरुन्त अस्पताल जान चिकित्सकको सुझाव छ ।४० वर्ष उमेर कटेका महिलाहरुले अनिवार्य रुपमा स्तन चाँच गराउनुपर्छ । बेमोग्राम ( स्तनको एक्सरे ), अल्ट्रासाउण्ड गरिए स्तन क्यान्सर भएरनभएको बारे पत्ता लगाउन सकिन्छ । यसका लागि सूर्तिजन्य पदार्थको सेवन नगर्ने, आफ्नो दैनिकीलाई सक्रिय बनाउनुपर्ने, मोटोपना घटाउने, ३० वर्ष उमेर भित्र पहिलो सन्तान जन्माउने, स्तनपान गराउने, समय–समयमा स्वास्थ्य जाँच गराई राख्ने हो भने पनि स्तन क्यान्सरको रोकथाम गर्न सकिन्छ ।

अन्तमा

चेतनाको अभाव, गरिबी, अशिक्षा र अज्ञानताका कारण महिलाहरु क्यान्सरको अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । महिलाहरुले समयमै सचेत भएर आफ्नो स्वास्थ्यको हेरचाह गरे स्तन क्यान्सरको निदान गर्न सकिन्छ । सुरुमै उपचार गराइए ९० प्रतिशत क्यान्सरको निदान हुने चिकित्सकको भनाई छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै वर्षेनी ७ हजार ५ सय नयाँ स्तन क्यान्सरका बिरामी पुग्ने गरेका छन् । त्यो पनि ९० प्रतिशत बिरामीहरु त घातक स्थितिमा अस्पताल पुग्ने गर्छन् । जीवनशैली र खानपानमा सुधार गरे ६० प्रतिशत र धुमपान–मध्यपान त्यागे मात्र पनि ३० प्रतिशतसम्म क्यान्सरबाट बच्न सकिन्छ –कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्