Logo
|
Saturday 20th April 2024
Logo

epaper

 बेहोस हुन पुगेका बहालवाला एसएसपीलाई नियतिले ठग्यो



२८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा छ ।

१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा पर्यो । उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन् । प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा सीधै पाइप जोडेर खुवाउने गरिएको छ ।

श्रेष्ठलाई ‘लक्ड–इन सिन्ड्रोम’ भएको हो । अर्थात् उनी आफ्नोवरपर के भइरहेको छ थाहा पाउँदैनन् । ‘थोरै–थोरै प्रतिक्रिया दिन थाल्नुभएको छ,’ बुधबार प्रहरी अस्पतालमा पत्नी आरधनाले भनिन्, ‘चिन्ने मान्छे आउँदा आँखाले रेस्पोन्स गर्नुहुन्छ ।’ तातो÷चिसोको पनि महसुस गर्न थालेको उनले बताइन् ।

“गत वर्ष १५ साउनमा ब्याडमिन्टन खेल्दाखेल्दै ढलेका एसएसपी राजेन्द्रमान श्रेष्ठ अहिलेसम्म उठेका छैनन् । उनका सहयात्री सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की डिआइजी भइसकेका छन् । तर, उनको भविष्य अन्धकार छ ।”

बेहोस भएर ढल्दा उनी पूर्व क्षेत्रीय तालिम कार्यालय बिराटनगरमा कार्यरत थिए । पुलिसिङपछि खेलकुद उनको प्रिय क्षेत्र थियो । ब्याटमिन्टन, टेबुलटेनिस तथा फुटबलका प्रतिस्पर्धामा उनी नियमित भाग लिइरहन्थे । प्राय पहिलो, दोस्रो नै हुने गरेका थिए । ‘खेलकुद जितेर आउदा सधैं पार्टी दिनुहुन्थ्यो,’ आराधना सम्झिन्छिन् ।

तालिम केन्द्रमा सरुवा भएपछि पनि उनले खेलकुद गतिविधिलाई प्राथमिकतामै राखेका थिए । १५ साउनको बिहान धरानमा ब्याडमिन्टन कोर्टमै ढलेका उनी अहिलेसम्म उठ्ने संघर्षमै छन् । प्रहरीका भावी आईजिपीका एक प्रमुख दाबेदारका रुपमा मानिएका उनलाई नियतीले त ठग्यो नै, राज्यले समेत बिर्सिएको छ ।
‘बिरामी भएकै कारण प्रमोसन नै नदिएला भन्ने लागेकोे थिएन,’ आराधना भन्छिन्, ‘यसले झन् हामीलाई पीडा थपिएको छ ।’ बिरामी भएकै कारण बढुवा दिन नमिल्ने प्रावधान प्रहरी नियमावलीमा छैन । तर, गत साता १५ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्दा पनि श्रेष्ठ सूचिमा परेनन् । श्रेष्ठ बढुवामा छुटेपछि उनका परिवार र आफन्त दुःखी छन् ।

बिरामी भएको १८ दिनसम्म उनको धरानम उपचार भयो । त्यसपछि ग्रान्डी अस्पतालमा १८ दिन उपचार गराएर २२ भदौदेखि प्रहरी अस्पतामा उपचार भइरहेको छ । छोरी साम्भवी गत वर्ष स्नातक गरेर बिदेश अध्ययनको तयारी थिइन् । बिदेश यात्रा छाडेर उनी वुवाको सेवामा खटिएकी छिन् । उपचारको लागि संगठन र सरकारबाट सहयोग भएको छ । बिस्तारै सुधार भएकाले एक दिन मष्तिष्क ‘रिकभर’ हुने उनको बिश्वास छ । ‘उहाँ एकदमै बलियो मान्छे हो,’ आराधना भन्छिन्, ‘उहाँ एकदिन उठ्नुहुन्छ भन्ने बिश्वास छ ।’
नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्