Logo
|
Thursday 18th April 2024
Logo

epaper

प्रदेश नम्बर ७ मा छैन सिटिस्क्यान सेवा



प्रदेश नम्बर ७ का कुनै पनि सरकारी स्वास्थ्य संस्थामा सिटिस्क्यान सेवा नहुँदा बिरामी अन्यत्रै जान बाध्य छन् । अत्तरियाको एक निजी अस्पतालमा मात्र पुरानो मोडेलको सिटिस्क्यान उपकरण जडान गरिएको छ ।

प्रदेश नम्बर–७ का सिटिस्क्यान गर्नुपर्ने बिरामीले कोहलपुर मेडिकल कलेज वा सीमावर्ती भारतीय बजारमा जानुपर्ने बाध्यता छ । अत्तरियामा भएको सिटिस्क्यान दक्ष चिकित्सकको अभावमा नियमित रूपमा सञ्चालनमा छैन ।

सो प्रदेशको सबैभन्दा बढी बिरामीको चाप हुने सेती अञ्चल अस्पतालमा मात्रै दैनिक पाँच जनासम्म सिटिस्क्यान गर्नुपर्ने बिरामी भर्ना हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सजन केसीले जानकारी दिए । त्यस्ता बिरामीलाई नेपालगन्ज मेडिकल कलेज रेफर गर्ने गरिएको डा। केसीको भनाइ छ । ‘सिटिस्क्यान सेवा भएको भए धेरै उपचार यहीँ गर्न सम्भव हुन्थ्यो,’ उनले भने, ‘अहिले तत्काल उपचार गर्नुपर्ने बिरामीलाई पनि रेफर गर्नुपर्ने बाध्यता छ ।’

चिकित्सकका अनुसार टाउकोमा गम्भीर चोट लागेका, जोर्नीभित्र हड्डी टुटेको, बेहोस भएको, मिर्गीजस्ता रोगको उपचारका लागि सिटिस्क्यान आवश्यक पर्छ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालका प्रमुख डा.शिवराज पनेरूले पहाडी जिल्लामा सिटिस्क्यानको सेवा नहुँदा उपचार अभावमा कतिपय बिरामीले ज्यान गुमाउने गरेको बताए ।

सिटिस्क्यान जडानको बजेट फ्रिज

प्रदेश नम्बर ७ मा दुईवटा सरकारी अस्पतालमा सिटिस्क्यान जडानका लागि गत आर्थिक वर्षमा बजेट आएको थियो । तर, खर्च गर्ने अख्तियारी ढिलो प्राप्त हुँदा बजेट फ्रिज भयो ।

सरकारले अख्तियारी ढिलो दिँदा सेती अञ्चल अस्पताल धनगढी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा सिटिस्क्यान मेसिन खरिदका लागि आएको रकम फ्रिज भएको हो । ती अस्पतालमा तीन करोडका दरले रकम आएको थियो ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सजन केसीले आर्थिक वर्षको अन्त्यतिर मात्र अख्तियारी आएकाले बजेट खर्च हुन नसकेको बताए । ‘वैशाखमा मात्र अख्तियारी आयो, उपकरण खरिदका लागि समय नपुग्ने भएकाले खरिद प्रक्रिया सुरु गरेनौँ,’ डा. केसीले भने, ‘उपकरण जडानमै कम्तीमा पाँच महिना लाग्छ ।’ उता, डडेल्धुरा उपक्षेत्रीय अस्पतालका प्रमुख पनेरूले १६२ स्लाइसको सिटिस्क्यान खरिद गर्न ६ वैशाखमा मात्र स्वास्थ्य मन्त्रालयको पत्र आएको बताए ।
नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्