Logo
|
Friday 19th April 2024
Logo

epaper

बालबालिकामा आँखाको क्यान्सर



पछिल्लो समय बालबालिकामा आँखा क्यान्सरको खतरा बढ्दै गएको छ। आँखा रोगबारे चेतना नहुनु, लक्षणबारे ज्ञान नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रतिष्ठानको अन्कोलोजी विभागका विशेषज्ञ डा.बेन लिम्बूले बताए। ५ वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुुने क्यान्सरले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको उनले जनाए।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार आँखाको क्यान्सर २० हजार नवजात शिशुुमध्ये एक जनामा देखिन्छ। तिलगंगा आँखा प्रतिष्ठानमा सम्पूर्ण आँखा रोगमध्ये यो रोगका मात्र ३० प्रतिशत बिरामी आउने गरेको तथ्यांक छ। अधिकांश बिरामी अन्तिम अवस्थामा मात्रै आउने हुँदा ७० प्रतिशत बिरामीको आँखै निकालेर फाल्नुपर्ने अवस्था हुने गरेको डा. लिम्बूको भनाइ छ। आँखाको समस्यालाई सानोतिनो मानेर उपचार नगर्ने प्रवृत्तिले बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको उनको तर्क छ।

न्युरोडका आरजु तामाङ आँखा क्यान्सरका बिरामी हुन्। १४ वर्षीया तामाङको डेढ वर्ष हुँदै आँखाको नानीमा सेतो देखिएको उनकी आमा अम्बिकाले बताइन्। ‘आँखा हल्का डेढो थियो, समान्य मानियो, पछि दाहिने आँखामा मासु पलायो,’ उनले भनिन्। उपचारका लागि धेरै अस्पताल धाउँदा पनि रोग पत्ता नलाग्दा अन्तिम अवस्थामा तिलगंगा आँखा प्रतिष्ठान ल्याइयो। भर्खरै शल्यक्रिया गरी उनको आँखा निकालिएको छ। उनी तिलगंगामा उपचारत छिन्। ‘पहिले थाहा भएको भए आँखा बचाउन सकिने रहेछ, अब नक्कली आँखा हालिदिन्छु,’ आमाले भनिन्।

नेपाली समाजमा आँखा डेढो भएका र कालो भागको बीच भाग सेतो भएका बालबालिकालाई भाग्यमानी ठान्ने चलन हुनु र रोगका लक्षणबारे ज्ञान नहुनु जस्ता कारणले बालबालिकालाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुने डा. लिम्बू बताउँछन्। ‘अस्पताल लान ढिलो भएकै कारण प्रभावित बालबालिकाको मृत्युदर ३५ प्रतिशत पुगिसक्यो,’ उनले भने।

मोरङकी आरती लिम्बू पनि आँखा क्यान्सर पीडित हुन्। जन्मदै उनको आँखाको नानीमा सेतो दाग भएको आमा रेलीले बताइन्। ‘हुर्कंदै जाँदा आँखा रातो भइरहन्थ्यो, सामान्य क्लिनिकमा उपचार भइरहयो,’ रेलीले भनिन्, ‘पछि गाँठो आयो।’ ४ वर्षीया आरतीको अस्पताल आइपुग्दासम्म आँखा काम नलाग्ने भइसकेको थियो।

अहिले उनको दाहिने आँखा शल्यक्रिया गरी नक्कली हालिएको छ। आँखा क्यान्सरको समयमै उपचार हुन नसके बिरामीको दृष्टि गुम्नुका साथै शरीरका विभिन्न भागमा रोग फैलिएर बिरामीको मुत्यु हुन सक्ने आँखा विशेषज्ञहरू बताउँछन्। यो रोग प्रारम्भिक अवस्थामै पत्ता लागे आँखा र दृष्टिलाई ठूलो हानि नहुने गरी उपचार गर्न सकिन्छ। रंगीन फोटोमा आँखाको नानी सेतो देखिनु, दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, रातो हुनु, दुख्नु, दृष्टि कम हुनु आँखा क्यान्सरका प्रमुख लक्षण हुन्।
कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्