Logo
|
Thursday 28th March 2024
Logo

epaper

जाजरकोटका ४० प्रतिशत महिला असुरक्षित अवस्थामा सुत्केरी



त्रिवेणी नलगाड नगरपालिका–१ ठूलाबगरकी २० वर्षीया कल्पना पुनलाई २ दिनसम्म सुत्केरी व्यथाले पिरोल्यो । तर, पुनलाई उनकी सासू तिलाले अस्पताल लानुको साटो घरमै असुरक्षित तवरले जबरजस्ती सुत्केरी गराइन् । सासू तिलाले पहिलोपटक सुत्केरी भएकी कल्पनाले जन्माएको शिशुको नाभी काट्न हँसियाको प्रयोग गरिन् ।

सुत्केरी भएको ८ दिनसम्म पनि कल्पनाको रक्तश्राव नरोकिएपछि आमा लीला रानाले उपचारका लागि सदरमुकामस्थित अस्पताल र्पुयाइन् । भेरी नगरपालिका–७ की १४ वर्षीया गीता अधिकारी पनि असुरक्षित तवरले घरमै सुत्केरी हुन बाध्य भइन् । अभिभावकले गीतालाई अस्पताल नलगी घरमै सुत्केरी गराएपछि उनको पनि रक्तश्राव रोकिएन ।

त्यस्तै कुशे गाउँपालिका–७ की २३ वर्षीया गंगा महर पनि घरमै सुत्केरी भइन् । उनले जन्माएको शिशुको नाभि काट्न पनि हँसियाकै प्रयोग भयो । जबरजस्ती घरमै सुत्केरी भएकी महरको निरन्तर रक्तश्राव भइरह्यो । सुत्केरीपछि रक्तश्राव नरोकिँदा उनीहरू तीनै जना अस्पताल पुग्न बाध्य भए । यिनीहरू प्रतिनिधि उदाहरण मात्र हुन् । पुन, अधिकारी र महरजस्तै जाजरकोटका सयौं महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् ।

चेतनाको अभाव, गरिबी, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नहुनुलगायतका कारण जिल्लामा बर्से्नि ४० प्रतिशत महिला असुरक्षित सुत्केरी हुन बाध्य छन् । सुत्केरी भएको ८ दिनसम्म ठूलाबगरकी कल्पनाको रक्तश्राव नरोकिएको नर्सिङ अधिकृत चित्रा खनालले बताइन्। ‘उनलाई डोकोमा बोकाएर अस्पताल पुर्याइएको थियो । कल्पनालाई रक्त अल्पता भइसकेको थियो। कल्पनाको शरीरमा ६ मिलिग्राम डेसिलिटर मात्र हेमोग्लोबिन थियो,’ उनले भनिन् । कल्पनाको शरीरमा निरन्तर रक्तश्रावको व्यवस्थापन गर्दै उनको पाठेघरमा अड्किएका सालका टुक्रालाई म्यानुअल भ्याकुम एस्पिरेसन गरेर निकालेको उनले बताइन् ।

मृत्यु शय्यामा पुग्न लागेकी कल्पनाको ज्यान जोगाउन जोखिम मोल्न बाध्य भएको उनको भनाइ छ । कल्पना मात्र होइन, अधिकारी र महरलाई पनि मुस्किलले जोगाएको उनले बताइन् । ‘बिरामी अन्तिम अवस्थामा पुगेर छटपटाइरहेका बेला अधिकार खोज्न कहाँ जानुरु जोखिम मोल्छौं,’ उनले भनिन् । जिल्ला अस्पतालमा सुत्केरी हुन आएका १ सय ३६ मध्ये ५० जना जटिल प्रकृतिका सुत्केरी फेला परेको मेडिकल अधिकृत डा। कृष्णजंग शाहले बताए । उल्टो बच्चा भएका, रक्त अल्पता भएका, रक्तश्राव बढी हुने गरेका सुत्केरीलाई बचाउन जोखिम मोल्नुपर्ने उनको भनाइ थियो । चालु वर्षमा जटिल प्रकृतिका सुत्केरी जिल्लाबाहिर रिफर गर्ने दर ३० प्रतिशतले घटेको उनले दाबी गरे । नियमित गर्भ जाँच नगराउने र व्यथाले च्यापेपछि मात्र अस्पताल पुग्ने तथा घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले महिलाको ज्यान जोखिममा रहेको शाह बताउँछन् । घरमै जबरजस्ती असुरक्षित सुत्केरी हुने र अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल आउनेको संख्या बढी रहेको उनको भनाइ छ । ५० शय्याको जिल्ला अस्पतालमा सिजरियन डेलिभरी सेवा प्रवाहमा समस्या भएको उनले बताए। स्त्री रोग विशेषज्ञ अर्थात् कन्सल्टेन्ट सर्जन नहुँदा सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नआउँदा सुत्केरी गराउन शल्यक्रियाको सेवा दिन नसकिएको उनले बताए । ‘अस्पतालमा तालिमप्राप्त नर्स, एनेस्थेसिया सहायक, आवश्यक उपकरण, अप्रेसन कक्षलगायत उपलब्धता छ तर विशेषज्ञ डाक्टर आउन मान्दैनन्,’ उनले भने । अस्पतालमा ११ औं तहको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसियासमेत ९ विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त रहेको छ । आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्