Logo
|
Thursday 28th March 2024
Logo

epaper

भाइरलका बिरामी दैनिक सय भन्दा बढी



भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ ।

बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् ।

इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि दिनहुँ भाइरलका बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्नेलगायतका भाइरलका बिरामीको चाप बढेको हो ।

इलाम अस्पतालमा मात्र उपचारका लागि दैनिक १५० बिरामी आउन थालेको हेल्थ असिस्टेन्ट गणेश रिजाल बताउनुहुन्छ । “आकस्मिक उपचारका लागिमात्र दैनिक ५०÷६० जना आइरहेका छन्”, उहाँले भन्नुभयो, “ओपिडीमा त्यसको दोब्बर बिरामी आउँछन् ।” स्वास्थ्यकर्मी र औषधिको अभाव नभए पनि बिरामीलाई राखेर उपचार गराउन शय्याको अभाव भएको छ ।

“पचास शय्याको अस्पताल भए पनि बिरामीको चापले शय्यामा राखेर उपचार गर्न गाह्रो परेको छ”, मेडिकल अधिकृत विजय फुयाँलले भन्नुभयो, “प्रसूतिका बिरामी पनि उत्तिकै हुने र शय्या पनि भरिएकाले धेरैलाई उपचार गराउँदै घर पठाउनुपरिरहेको छ, बिरामीले आराम गर्नसमेत पाएका छैनन् ।”

मौसम परिवर्तन, खानपान र दूषित पानीका कारण रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हावा, पानीलगायतबाट रोग सर्ने भएकाले एउटा परिवार वा समूहमा बस्ने एकजनामा रोग देखापरे अरूलाई पनि सर्छ । यस्ता बिरामीले पानी उमालेर मात्र पिउनुपर्ने, मुख छोप्नुपर्ने र झोलिलो पदार्थ धेरै खानुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिन थालेका छन् ।

इलाम अस्पतालसहित प्याङ, मंगलबारे, फिक्कल र पशुपतिनगरका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्