बढ्दो थायराइड समस्या

जनस्वास्थ्य सरोकार, डा. अंशुमाली जोशी, डायबिटिज, थायराइड तथा हर्मोन रोग विशेषज्ञ || प्रकाशित मिति :2017-08-10 07:36:52

अस्वस्थकर जीवनशैली एवं तनावका कारण थायराइड हर्मोनका बिरामीको संख्यामा लगातार बृद्धि भइरहेको छ । थायराइड बिरामीमा ८० प्रतिशत संख्या महिलाको छ । थायराइड ग्रन्थीले ठीकसँग काम नगर्दा शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या शुरु हुन्छन् । थकाइ लाग्ने, रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने, छाला सुख्खा, तौल बढ्ने, एवं हात र खुट्टा चिसो हुने जस्ता सामान्य समस्यामा पनि थायराइड हर्मोनको समस्याको कारण हुनसक्छ ।

नेपालमा थायराइड रोगबाट अधिकांश महिलाहरु पीडित बन्दै गएका छन् । पुरुषहरुको तुलनामा यो रोग ६ गुणा बढी महिलाहरुमा देखिने गरेको पाइन्छ । नेपालमा थायराइडसम्बन्धि अनुसन्धानहरु भएको पाइँदैन । त्यसैले समुदायमा यो रोग कस्तो अवस्थामा छ ? भन्ने कुरा चिकित्सकहरुले पनि भन्न सक्ने अवस्था छैन । विश्वमा थायराइड हर्मोन कम उत्पादन हुने (हाइपोथायराइडिज्म) रोगको प्रिभिलेन्स दर ५—१० प्रतिशत पाइन्छ । यद्यपी नेपालमा उपचारका लागि अस्पताल पुग्ने बिरामीमध्ये ५ प्रतिशतलाई थायराइडको समस्या भएको पाइन्छ । तर यो संख्या धेरै भएको अनुमान गरिएको छ ।

नेपालमा थायराइड परीक्षण शुरु भएको धेरै भएको छैन । १० वर्षअघि नेपालमा बिरलै मात्रामा थायराइड परीक्षण हुने गथ्र्यो । तर आजकल धेरै ठाउँमा थायराइड परीक्षण गर्ने प्रयोगशालाहरुको सुविधाका कारण थायराइडका बिरामीहरुको पहिचानमा बृद्धि भएको छ । तर यसप्रतिको जागरुकता न्यून छ । लक्षणका आधारमा थायराइड पहिचान गर्न निकै कठिन छ । गोडादेखि टाउकोसम्म भएका विभिन्न समस्याका कारण बिरामीहरु विभिन्न चिकित्सकहरुकहाँ उपचारका लागि पुग्ने गर्छन् । रोग पत्ता नलागेपछि अन्तिम समयमा मात्र उनीहरु थायराइड परीक्षण गराउँछन् । त्यसैले बिरामी र चिकित्सकहरुमा थायराइड परीक्षणको जानकारी र शुरुको अवस्थामा थायराइड पहिचान गर्न सक्ने क्षमताको विकास हुन जरुरी छ ।

थायरायड के हो ?
यो एउटा ग्रन्थी हो । यो घाँटीमा रुद्रघण्टीको माथिल्लो भागमा हुन्छ । यसले थायराइड हर्मोन निकाल्छ । यो हर्मोन शरीरको रस प्रक्रियामा अत्यावश्यक छ ।

थायराइड ग्रन्थी रोगको प्रकार
१. हाइपरथाइरोडिज्म (थायराइड हर्मोन बढी उत्पादन हुने)
२. हाइपोथायरोडिज्म (थायराइड हर्मोन कम हुने)
३. थायराइड हर्मोन आफैं सुन्निएर गलगाँड निस्किने (गोयटर)
४. थायराइड क्यान्सर

शरीरमा थायराइडको महत्व के छ ?
शरीरका हरेक कोषहरुको मेटाबोलिज्म (रस प्रक्रिया) लाई स्वस्थ्य राख्छ । जस्तो—मस्तिष्कमा कन्सर्टेसन र मेमोरी पावरलाई तन्दुरुस्त राख्छ । थायराइडको गडबडीले आँखा सुन्निने, ठूलो हुने, रातो र आँखा बाहिर निस्कने जस्ता असर देखिनसक्छ । यसमा छाला खस्रो हुनसक्छ । मुटुले सामान्य काम गर्न थायराइड हर्मोनको निकै आवश्यकता पर्छ । थायराइड हर्मोनको गडबडीले मुटु सुन्निएर यसले राम्रोसँग काम गर्न सक्दैन । यसका साथै मुटुको रक्त प्रवाह गर्ने क्षमता घट्छ । मुटुको वरिपरिको झिल्लीमा पानी जम्ने समस्या देखिनसक्छ । थायराइड हर्मोन पेटका लागि अति आवश्यक हुन्छ । आन्द्राको कार्यका लागि थायराइड हर्मोन निकै महत्वपूर्ण मानिन्छ । थायराइड हर्मोनको गडबडी भएमा झाडा लाग्ने, अपचको समस्या, पाचनशक्तिमा गडबडी हुनसक्छ ।
यसैगरी महिलाहरुको महिनावारी ठीक समयमा हुन थायराइडको महत्वपूर्ण भूमिका हुन्छ । थायराइडमा गडबडी भएमा महिनावारी समयमा नहुने र निःसन्तानको समस्या पनि हुनसक्छ । यसैगरी गोडाहरु सुन्निने, कपाल धेरै झर्ने, नङमा गडबडी हुनेजस्ता समस्याहरु थायराइडका कारणले हुनसक्छन् ।

थायराइड रोग कसरी हुन्छ ?
केही थायराइड वंशाणुगत हुनसक्छन् । तर सबै थायराइड रोग वंशजमा हुनसक्दैन । यो भाइरल इन्फेक्सनका कारण पनि हुनसक्छ र आफैं ठीक पनि हुनसक्छ । खानामा आयोडिनको मात्रा कमी भएमा पनि थायराइड हुनसक्छ ।

कुन कुन थायराइड वंशजबाट आउनसक्छ ?
थायराइड हर्मोन कम हुने (हासिमोतो थायराइडिज्म) र थायराइड हर्मोन बढी हुने (ग्रेब्स) वंशजबाट आउनसक्छ ।

थायराइडका बिरामीले खाने औषधिको साइड इफेक्ट कति हुन्छ ?
थायराइड रोगका औषधिहरु धेरै हुन्छन् । शरीरमा थायराइड हर्मोन कम (हाइपोथायराइडिज्म) भएमा थायराइड हर्मोन सप्लिमेन्टका रुपमा दिइन्छ । यसमा थायरोनर्भ जस्ता हर्मोन दिन आवश्यक हुन्छ । यसको साइड इफेक्ट हुँदैन । यो औषधि जीवनभर खाएमा यसले शरीरमा कुनै हानी पु¥याउँदैन ।
थायराइड हर्मोन बढी हुने (हाइपरथायराइडिज्म) रोगमा हर्मोन घटाउने औषधि जस्तै—एन्टिथाइराक्स आदिले साइड इफेक्ट गर्नसक्छ । यसले रगतमा भएका कोषहरुलाई घटाइदिन्छ । यसले घाँटी दुःख्ने, ज्वरो आउने, जोर्नी दुख्ने, छालामा रातो डाबर आउने जस्ता समस्या देखिनसक्छ । हर्मोन घटाउन दिइने रेडियोआयोडिन औषधिले कसैकसैलाई घाँटीको समस्या हुनसक्छ । गर्भावस्थामा रेडियोआयोडिन दिन हुँदैन किनभने यसले गर्भको बच्चालाई असर गर्नसक्छ । त्यसैले थायराइड औषधिले मुटु, पेट र प्रजनन क्षमतामा समस्या ल्याउने भएकाले सचेत हुन जरुरी छ ।

कुन अवस्थामा थायराइडको औषधि बढाउने र घटाउने ?
यो थायराइड हर्मोनको घडबडी कस्तो अवस्थामा छ भन्ने कुरामा निर्भर गर्छ । हर्मोन कम हुने (हाइपोथायराइडिज्म) रोग भएमा जीवनभर औषधि सेवन गर्नुपर्छ । थायराइड हर्मोनले कति मात्रामा काम गरेको छ ? भन्ने कुरामा औषधिको मात्रा निर्धारण गर्छ । यसमा थायराइड हर्मोन नियन्त्रणमा भएनभएको निक्र्योल गर्न प्रत्येक ३—६ महिनामा रगत जाँच गर्नुपर्छ । तर थायराइड हर्मोन बढी उत्पादन हुने (हाइपरथायराइडिज्म) रोगमा एन्टिथायराक्स हर्मोन सेवन गर्नुपर्ने भएकाले २—३ महिनाको फरकमा रगत जाँच गरेर डोज मिलाउनुपर्छ । यो औषधि अधिकतम दुई वर्षसम्म सेवन गर्न लगाइन्छ । यदि यसबाट धेरै हर्मोन उत्पादन हुने प्रक्रिया नियन्त्रणमा नआए रेडियोआयोडिन सेवन गर्न सल्लाह दिइन्छ ।

थायराइड बिरामीको उचित खाना
थायराइड हर्मोन खानपिनको गडबडीले हुने रोग होइन । यो आयोडिनको कमीले मात्र हुनसक्छ । थायराइड बिरामीले खानपिनमा पथपरहेज गर्न जरुरी छैन ।

थाइराइड जाँच्ने तरिका
थायराइड रोगमा तीन किसिमको जाँच हुन्छ ।
१. रगत जाँच ( रगतमा हर्मोनको तह कति छ ? भन्ने हेरिन्छ ।)
२. घाँटीको अल्ट्रासाउन्ड (घाँटीमा डल्लो निस्किएननिस्किएको निस्क्र्योल) गरिन्छ ।)
३. थायराइड स्क्यान (यो हाइपरथायरोडिज्ममा प्रयोग गरिन्छ । यो बिकिरणयुक्त हुन्छ )

थायराइडले शरीरमा पर्ने असर ?

हाइपोथायराइडिज्मको प्रभाव
-धेरै जाडो लाग्ने
-अपचको समस्या (कब्जियत)
-शरीर सुन्निने
-मोटाउने
-छाला खस्रो हुने
-कपाल झर्ने
-एकत्रित हुने शक्ति कम हुने
-अल्छी लाग्ने
-महिनावारीमा गडबडी हुने
-निःसन्तानको समस्या

हाइपरथायराइडिज्मको प्रभाव
-शारीरिक तौल कम हुने
-मुटु ढुक ढुक हुने
-हात काम्ने
-पसिना धेरै निस्किने
-गर्मी धेरै लाग्ने
-झाडा लाग्ने
-घाँटीमा गलगाँड निस्किने
-आँखा ठूलो हुनसक्ने
-कपाल झर्ने
-महिनावारी गडबडी हुने आदि ।

थायराइड स्टीमुलेटिङ हर्मोन टेष्ट भनेको के हो ?
घाँटीमा हुने थायराइड ग्रन्थीले T3, T4 हर्मोन उत्पादन गर्छ । यसलाई नियन्त्रण गर्ने हर्मोनलाई TSH (Thoraid Stimulating harmone) भनिन्छ । यो मस्तिष्कको तल्लो भागमा रहेको पिट्यूटरी ग्रन्थीले निकाल्छ । पिट्यूटरी ग्रन्थी मास्टर ग्रन्थी हो । यसले शरीरका अन्य ग्रन्थीहरुलाई नियन्त्रण गर्छ ।

थायराइडले व्यक्तिको मूड कसरी प्रभावित पार्छ ?
मस्तिष्कको कामका लागि थायराइड हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ । थायराइड हर्मोन कम वा बढी भएको अवस्थामा यसले व्यक्तिको मूडमा असर गर्छ । वढी भएमा बढी इरिटेड हुने हुन्छ भने थायराइड हर्मोन कम भएमा दिमाग सुस्त हुने, मस्तिष्कले राम्रोसँग काम नगरेको जस्तो महसुश हुन्छ भने कन्सर्टेसन र मेमोरी पावरमा असर गर्नसक्छ ।

थायराइड क्यान्सर के हो ?
थायराइड क्यान्सर निको हुने क्यान्सरमध्येको एक हो । यो सजिलैसँग निको हुन्छ । यसमा शल्यक्रिया गरेर थायराइड ग्रन्थीलाई निकाल्नुपर्छ । आवश्यक परेको अवस्थामा रेडियोआयोडिन दिएर जरैबाट निकालिन्छ । यो फेरि बल्झिने संभावना कम हुन्छ । तर बिरामीले नियमित फलोअपमा बस्नुपर्छ ।

हाइपरएक्टिभ थाइराइड भनेको के हो ?
हर्मोन बढी निकाल्ने अवस्थालाई हाइपरएक्टिभ थायराइडिज्म भनिन्छ । यो बेला थायराइड ग्रन्थीले बढी काम गर्छ ।

थाइराइड फंशनमा सुधार ल्याउने प्राकृतिक तरिका

भाइरल इन्फेक्सन र शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर हुँदा थायराइडको समस्या हुनसक्छ । भाइरल इन्फेक्सनबाट भएको थायराइड आफैं पनि निको हुनसक्छ । तर प्रतिरोधात्मक प्रणालीको गडबडीले भएको थायराइडमा औषधि सेवन गर्न जरुरी हुन्छ । थायराइड हर्मोनको गडबडी खानपान, व्यायामको कमीलगायतका कारण हुने होइन । यसमा खानपान बार्न जरुरी छैन ।

रेडियोआयोडिन भनेको के हो ?
रेडियोआयोडिन एक किसिमको विकिरणयुक्त आयोडिन हो । विकिरणको माध्यमबाट केही आयोडिनको मात्रा बिरामीलाई दिने गरिन्छ । यो खाने औषधि हो । सिंगल डोजमा एकपटक खानुपर्छ । यसले घाँटीमा रहेको थायराइड ग्रन्थी धेरै निकाल्ने हर्मोनलाई मार्ने काम गर्छ । बिरामीले विकिरण खाइसकेपछि थायराइड निकाल्ने हर्मोन जीवनभर खाइरहनुपर्छ ।

कसलाई धेरै थायराइड हुने गर्छ ?
पुरुषको तुलनामा महिलाहरुमा थायराइड ६ गुनाले बढी हुने गर्छ ।

थाइराइड नोड्यूल के हो ?
थायराइड ग्रन्थी पुतली आकारको हुन्छ । यसको दुईवटा भाग हुन्छ । कुनै पनि भागमा सानो मासुको डल्ला पलाएमा यसलाई थायराइड नोड्यूल भनिन्छ । यो साधारण पनि हुनसक्छ र त्यो क्यान्सर पनि हुनसक्छ ।

Scanning of a thyroid

गर्भावस्थामा हाइपोथायराइडिज्म

हाइपोथायराइडिज्म हुँदा गर्भ नरहन पनि सक्छ । यदि गर्भ रहेपनि गर्भ खेर जानसक्ने संभावना छ भने गर्भ खेर नगई बच्चालाई जन्म दिएमा जन्मिएको बच्चाको शारीरिक एवं मानसिक विकास राम्रोसँग नहुनसक्छ । तर औषधिबाट हर्मोन नियन्त्रण भएमा यस किसिमको समस्या आउँदैन ।

थायराइडमा व्यायामको महत्व
व्यायामको कमीले थायराइड हुने भन्ने हुँदैन । तर हाइपोथायराइडिज्म (हर्मोन कम हुने) रोगमा शारीरिक तौल बढ्न सक्ने भएकाले तौल घटाउन व्यायामको महत्व हुन्छ ।

बालबालिकामा थाइराइडको समस्या
भर्खर जन्मेको बालदेखि बृद्धसम्म थायराइडको समस्या हुनसक्छ । गर्भावस्थामा महिलामा थायराइड देखिएमा बच्चा जन्मिएको ७२ घण्टाभित्र जन्मिएको बच्चाको थायराइड परीक्षण गराउन जरुरी छ ।

थाइराइडको ठूलो कारण तनाव हो ?
थायराइड तनावले मात्र हुने होइन । तर यसले थायराइडलाई बढावा दिन्छ ।

थाइराइड साइलेन्ट किलर हो ?
उपचार र पहिचानको पहुँच नपुगेका दुरदराजका सर्वसाधारणका लागि थायराइड साइलेन्ट किलर पनि हुनसक्छ । थायराइड पहिचान र नियन्त्रण नभएमा व्यक्तिको ज्यान जानसक्छ ।

थायराइड उपचारको सफल दर
हाइपोथायराइडिज्म (हर्मोन कम उत्पादन हुने रोग) को उपचारमा हर्मोन सप्लिमेन्ट बाहिरबाट लिनुपर्छ । यो जीवनभर लिइरहनुपर्छ । यसले थायराइड हर्मोनलाई नियन्त्रणमा ल्याउँछ । हाइपरथायराइडिज्म (हर्मोन बढी उत्पादन हुने रोग) मा हर्मोन कम उत्पादन हुने औषधि २ वर्षजति खानुपर्छ । त्यसपछि थायराइड नियन्त्रणमा आउने दर ४० प्रतिशतको हाराहारीमा हुन्छ । यी बिरामीहरुले पुनः औषधि खानुपर्ने अवस्था रहँदैन । तर ६० प्रतिशत बिरामीले रेडियोआयोडिन खाएर रोग निको पार्नुपर्छ ।

महिलामा हाइपोथायराइडको लक्षण
मधुमेह र मुटुको रोगपछि धेरै संख्यामा हुने रोगमध्येको एक हो थायराइड । यस रोगको लक्षणलाई धेरै गम्भीरतासँग लिइँदैन । पुरुषको तुलनामा महिलाहरुलाई थायराइडको समस्या धेरै हुने गरेको पाइन्छ । बढ्दो उमेरसँगै यो रोग बढ्ने खतरा पनि धेरै हुन्छ ।
थायराइड एक सानो ग्रन्थी हो जुन घाँटीमा श्वासनलीको माथिल्लो भागमा हुन्छ । जब यस ग्रन्थीले काम गर्न बन्द गर्छ वा आवश्यकताभन्दा बढी काम गरेमा थायराइडको रोग हुन्छ । थायराइड शरीरमा आयोडिनको कमीका कारण वा वंशाणुगत पनि हुनसक्छ । यदि तपाईंमा थायराइड ग्रन्थी अन्डरएक्टिभ भएमा विभिन्न संकेत र लक्षण देखापर्छ । जस्तो—
शारीरिक तौल बढ्ने
हाइपोथायराइडको समस्याका कारण मेटाबोलिज्म (रस प्रक्रिया) को स्थरमा बिस्तारै कमी आउँछ र खाएको खाना इनर्जीमा वदलिन सक्दैन । यसले शरीरमा बोसो जम्मा भई तौल बढ्न शुरु हुन्छ ।
जलवियोजन
कतिपय महिलाहरुमा जलबियोजनका कारण पानी र शरीरका अन्य तरल पदार्थमा अत्यधिक अवरोध सृजना हुनथाल्छ । यसले हल्का रुपमा हातखुट्टा सुन्निएको देखिन्छ । औंलामा लागाएको औंठी र हातमा लगाएको चुरासमेत कस्सिन थाल्छन् ।
थकान
थायराइड हर्मोन अन्डरएक्टिव भएपछि शरीरमा प्रयाप्त इनर्जी मिल्दैन । यसले थकान महसुस भएर निन्द्रा लागिरहन्छ । सानोतिनो शारीरिक क्रियाकयाकलापले पनि धेरै थकाइको महसुस हुन्छ ।
कपाल झर्ने र नङ भाँचिने
थायराइडको गडबडीमा यो सबैभन्दा पहिला देखिने लक्षण हो । नङ पातलो र रुखो हुन शुरु हुन्छ । यसले नङ चाँडै भाँचिन थाल्छ र नङमा सेतो लाइन देखिन्छ । यसका साथै कपाल पनि झर्न शुरु हुन्छ ।
शारीरिक आवश्यकतामा कमी
थायराइडको समस्याले प्रतिकूल रुपमा शारीरिक आवश्यकतामा असर पार्नसक्छ । केही महिलामा यौनक्रिया या कुनै अर्को फिजिकल इंन्टिमेसीमा बिल्कुल चाहना हुन छोड्छ ।
आवाजमा परिवर्तन
अन्डरएक्टिभ थायराइड ग्रन्थीले खासगरी महिलाको आवाजमा परिवर्तन ल्याउँछ । उनीहरुको आवाज पहिलाको तुलनामा परिवर्तन हुन्छ । कुरा गर्दा इरिटेटिङ एवं कराएको जस्तो महसुस हुन्छ ।
अनियमित महिनावारी
महिनावारी अनियमित हुन्छ । महिलामा पहिलाको महिनावारीको तुलनामा धेरै वा अत्यधिक हुनसक्छ । यसका साथै कसैकसैमा महिनावारी डेढ महिनामा पनि हुनसक्छ ।
आँखाको समस्या
थायराइड पीडित महिलाहरुमा आँखाको समस्या हुनसक्छ जस्तो—आँखा रातो हुने, चिलाउने, सुन्निने आदि ।
डिप्रेशन
यसले डिप्रेसनको समस्या हुनसक्छ । मानसिक तनावको सम्बन्ध थायराइड हर्मोन कम उत्पादन हुनेसँग भएको अनुसन्धानहरुले देखाएका छन् । यद्यपी डिप्रेसनका रोगी थायराइड परीक्षण गराउँदैनन् । यसले रोग पहिचान हुनसक्दैन ।

थायराइडको प्रारम्भीक लक्षण
थायराइड मानव शरीरमा पाइने एन्डोक्राइन हर्मोनमध्ये एक हो । थायराइड ग्रन्थी गर्दनमा श्वासनली भन्दा माथि र स्वरयन्त्रको दुवै भागमा हुन्छ । यसको आकार पुतलीजस्तो हुन्छ । यसले थाइराक्सिन नामक हर्मोन बनाउँदछ । यसले शरीरको ऊर्जा क्षय, प्रोटीन उत्पादन र अन्य हर्मोनप्रति हुने संवेदनशिलता नियन्त्रण गर्छ । शुरुवात्को समयमा थायराइडको कुनै पनि लक्षण सजिलै थाहा पाउन सकिदैन । यसलाई गम्भिर रुपमा लिँदासम्म यसले भयानक रुप लिइसकेको हुन्छ । त्यसैले थायराइडको प्रारीम्भक लक्षण बारे जान्न आवश्यक हुन्छ ।
कब्जियत
थायराइड भएमा कब्जियतको समस्या शुरु हुन थाल्छ । खाएको खाना पच्न समस्या हुन्छ । यसका साथै घाँटीबाट खाना निल्न पनि गाह्रो हुन्छ । यसका साथै शरीरको तौलमा पनि असर पर्दछ ।
हात गोडा चिसो हुने
थायराइड भएमा मानिसको हात गोडा सँधै चिसो भइरहन्छ । मानव शरीरको तापमान सामान्य ९८.४ डिग्री फरेनहाइट हुन्छ । तर पनि उसको शरीर र हातगोडा चिसो हुन्छ ।
प्रतिरोधक क्षमता कमजोर
थायराइड भएमा शरीरको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ । इम्यून सिस्टम (प्रतिरोधात्मक क्षमता) कमजोर हुँदा धेरै रोग लागिरहन्छ ।
थकाइ लाग्ने
थायराइडको समस्याबाट ग्रस्त ब्यक्तिलाई छिटै थकाइ लाग्छ । उसको शरीर सुस्त र आलस्य हुन्छ । यसका साथै शरीरको ऊर्जा समाप्त हुन लाग्दछ ।
छाला सुख्खा हुने
थायराइड भएको मानिसको छाला सुख्खा हुन्छ र छालामा रुखोपन आउँछ । छालाको माथिल्लो भागको कोषिकामा क्षति हुन लागेपछि छाला रुखो हुन्छ ।
रुघालाग्ने
थायराइड भएमा मानिसलाई रुघा लाग्न लाग्दछ । यो साधारण रुघा भन्दा अलग हुन्छ र ठीक हुँदैन ।
डिप्रेशन
थायराइडकोे समस्या भएमा मानिस सँधै डिप्रेशनमा रहन लाग्दछ । उसलाई कुनै काम गर्न मन लाग्दैन । दिमागको सोच्ने र सम्झने शक्ति कमजोर हुन्छ । स्मरणशक्ति कमजोर हुन्छ ।
कपाल झर्ने
थायराइड भएमा मानिसको कपाल झर्न लाग्दछ ।
मांसपेशी र जोर्नी दुःख्ने
थायराइड समस्याका बिरामीमा मांसपेशी र जोर्नी दुख्नुको साथसाथै कमजोर महसुस हुनसक्छ ।
पारिवारिक इतिहास
यदि परिवारमा कसैलाई थायराइडको समस्या भएमा तपाइलाई थायराइड हुने सम्भावना धेरै रहन्छ ।
शारीरिक वा मानसिक विकास
बच्चाहरुमा थायराइडको समस्या भएमा शारीरिक वा मानसिक विकास एकदमै ढिलो हुन्छ । यदि यस्ता कुनै पनि लक्षण देखिएमा तुरुन्त डाक्टरलाई जँचाउनुपर्छ ।

थायराइड ग्रन्थीको रोग हो
थायराइड ग्रन्थी गर्दनको अगाडि, श्वासनली माथि र स्वरयन्त्रको दुवैतर्फ दुइ भागमा बनेको हुन्छ । यसको आकार पुतली जस्तो हुन्छ । एक स्वस्थ व्यक्तिमा थायराइड ग्रन्थीको तौल २५ देखि ५० ग्राम सम्म हुन्छ । यसले थाइराक्सिन नामक हर्मोन उत्पादन गर्छ । प्याराथायराइड ग्रन्थी थायराइड ग्रन्थीको माथि वा मध्ये भागमा जोडी रुपमा हुन्छ र यसको सख्या ४ वटा हुन्छ । यसले प्याराथारमोन हर्मोन उत्पादन गर्दछ । यी ग्रन्थीको प्रमुख रुपमा निम्न काम हुन्छ ।
-थायराइड ग्रन्थीबाट निस्कने हर्मोनले शरीरका लगभग सबै क्रियामा आफ्नो प्रभाव छोड्छ ।
– बच्चाको शारीरिक र मानसिक विकासमा यो ग्रन्थीको विशेष योगदान हुन्छ ।
– यसले शरीरमा क्याल्शियम र फोस्फोरस पचाउन मद्धत गर्दछ ।
– यसको सहयोगले शरीरको ताप नियन्त्रण गर्न सकिन्छ ।
-शरीरबाट दूषित पदार्थ बाहिर निकाल्न सहायता गर्दछ ।

थायराइड हर्मोन असन्तुलित हुँदाको समस्या
हाइपोथाइराइडिज्म
थायराइड ग्रन्थीबाट थाइराक्सिन हर्मोन कम बन्ने अवस्थालाई हाइपोथायराडिज्म भनिन्छ । यसबाट निम्न रोगको लक्षण उत्पन्न हुन्छ ।
-शारीरिक वा मानसिक विकास ढिलो हुने ।
– यसको कमीले बच्चामा व्रmेटिनिज्म नामको रोग हुन्छ ।
– १२ देखि १४ बर्षका बच्चाको शारीरिक बृद्धि रोकिन्छ । उनीहरु ४ देखि ६ बर्षका बच्चा जत्रा देखिन्छन् ।
– शरीरको तौल बढ्ने र शरीर सुन्निन लाग्दछ ।
– सोच्ने र बोल्ने क्रिया ढिलो हुन्छ ।
– शरीरको तापक्रम कम हुन्छ । कपाल झर्न लाग्दछ ।

हाइपरथायरायडिज्म
यसमा थायराक्सिन हर्मोन धेरै बन्न लाग्दछ । यसबाट निम्न रोगका लक्षण उत्पन्न हुन्छ ।
-शरीरको तापक्रम सामान्यभन्दा धेरै हुन्छ ।
– अनिन्द्रा, उत्तेजना तथा घबराहट जस्ता लक्षण उत्पन्न हुन्छ ।
– शरीरको तौल कम हुन लाग्दछ ।
– केही मानिसको हात गोडाका औंला काम्न लाग्दछ ।
– मधुमेह रोग हुने निकै संभावना हुन्छ ।
– शरीरमा आयोडिनको कमी हुन्छ ।

थायराइड परीक्षण
थायराइडको धेरै परीक्षण हुन्छ जस्तै—T3, T4, FTI, TSH । यी परीक्षणले थायराइड ग्रन्थीको स्थिति पत्ता लाग्छ । कहिलेकाँही थायराइड ग्रन्थीमा कुनै रोग नभएपनि पिट्यूटरी ग्रन्थीले ठीकसँग काम नगर्दा थायराइड ग्रन्थीलाई उत्तेजित गर्ने हर्मोन TSH -Thyroid Stimulating hormone) ठीक सँग बन्दैन र थायराइडबाट हुने रोगको लक्षण उत्पन्न हुन्छ ।
साइलेन्स किलर हो थायराइड
थायराइड घाँटीको नलीमा पाइने एक ग्रन्थी हो । यसले मेटाबालिज्म (रस प्रक्रिया) लाई नियन्त्रित गर्दछ । हामीले खाएको खानालाई थायराइड ग्रन्थीले शरीरका लागि उपयोगी हुने ऊर्जामा बदलिदिन्छ । थायराइड हार्मोनको भूमिका धेरै हुन्छ । थायराइडलाई साइलेन्स किलर पनि भनिन्छ किनभने यो सामान्य स्वास्थ्य समस्याको रुपमा शरीरमा देखिन्छ र पछि घातक हुनसक्छ । यो वंशाणुगत पनि हुन सक्दछ र थायराइड ग्रन्थीले ठीकसँग काम नगर्दा मानिसको मृत्युको कारण पनि बन्न सक्दछ । यसको उपचार नहुँदा यो धेरै रोगको कारण बन्दछ । भारतमा ४ करोड भन्दा बढी मानिस थायराइडको समस्याले ग्रस्त छन् । यसमध्ये ९० प्रतिशतले ख्याल गर्दैनन् र उपचार हुन पाउँदैन ।

हाइपोथायरायडिज्म र हाइपरथायराइडिज्ममा अन्तर
हाइपोथायरायडिज्म र हाइपरथायराइडिज्म दुवै थायराइडका प्रकार हुन् । तर दुवै विल्कुल फरक छन् । दुवैका लक्षण फरक फरक पाइन्छ । दुवैमा फरक प्रकारले रहनसहनमा परिवर्तन गर्नुपर्छ ।
हाइपरथायराइडिज्मको लक्षण
-नर्वस, मुडी, कमजोर या थकाइ लागेको महसुस हुने ।
-श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने र हात काप्ने ।
– धेरै पसिना आउने र गर्मी लाग्ने ।
– कपाल झर्ने ।
-पर्याप्त भोजन लिएपनि धेरै वजन घट्ने ।
– अल्प महिनावारी ।
– छाला चिलाउने ।
– नरम नङ ।
हाइपोथोथायराइडिज्मको लक्षण
– शुष्क त्वचा, बिग्रिएको नङ ।
– तौल बढ्ने, थकान, चिडचिडापन, डिप्रेसन ।
-अनुहार फूल्ने ।
– चिसो लागेको जस्तो अनुहार सुन्निने ।
– मांशपेशीमा दर्द ।
– कब्जियत ।
-आँखी भौंको कपाल झर्ने ।
– थोरै पसिना निस्कने ।
– धेरै वा अनियमित महिनावारी र प्रजनन क्षमतामा कमी ।
– मुटुको धड्कन कम हुने ।

हाइपोथायरायडिज्मको कारण
-लिथियम कार्बोनेटजस्ता औषधि सेवन ।
– वंशाणुगत ।
– शरीरमा आयोडिनको कमी ।
– पिट्यूटरी ग्रन्थी एवं हाइपोथालमसमा गडबडी
– भाइरल संक्रमण ।

हाइपरथायराइडिज्मको कारण
– ग्रेब्स रोग हाइपरथायराइडिज्मको धेरै कारण मानिन्छ । यसमा थायराइड ग्रन्थीले थायराइड हर्मोनको स्राब धेरै गराउँछ ।
– विनाइन (ननक्यान्सरस) थायराइड ट्यूमर ।
– विषाक्त मल्टीनोडूलर गण्डमाला (गोईटर), यसका कारण थायराइड ग्रन्थी कहिलेकाँही विनाइन (नन क्यान्सरस) थायराइड ट्यूमरका कारण बढ्छ अर्थात थायराइड हर्मोनको स्राबको मात्रालाई बढाइदिन्छ ।

अन्त्यमा
१. हाइपरथायराइडिज्ममा थायराइड हर्मोनको स्तरमा बृद्धि हुन्छ । तर हाइपोथायराइडिज्ममा थायराइड हर्मोनको स्तरमा कमी आउँछ ।
२. हाइपरथायाराइडिज्म थाइरोटोक्सिकोसि एवं ग्रेब्स रोगबाट हुनसक्छ । तर हाइपोथायराइडिज्म बिरामीमा यो उत्पादन हुँदैन ।
३. हाइपरथायराइडिज्ममा उच्च रुपमा मेटाबोलिज्म (रस प्रक्रिया) को गति उच्च हुन्छ । तर हाइपोथायराडिज्ममा मेटाबोलिज्म (रस प्रक्रिया) को गति कम हुन्छ ।

४. हाइपोथायराइडिज्ममा थायराइड हर्मोनको औषधिबाट उपचार गरिन्छ जबकि हाइपरथायराइडिज्ममा बिरोधी थायराइड बिरोधी औषधिद्धारा उपचार गरिन्छ ।
५. त्घ,त्द्ध को स्तरमा कमी एवं त्क्ज् को स्तर बृद्धि भएमा हाइपोथायाराइडिज्म भएको मानिन्छ भने त्घ,त्द्ध को स्तरमा बृद्धि र त्क्ज् कम भएमा हाइपरथायराइडिज्म भएको बुझ्नुपर्छ ।

    Comment Here!