Logo
|
Friday 19th April 2024
Logo

epaper

११ औं पटकको अनशन १८ औं दिनमा आइपुग्दा डा केसीले निकाल्नु भयो यस्तो विज्ञप्ति



फाईल तस्बिर

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको मागलाई सरकारले लत्याउन थालेको छ ।

११ औं पटकको अनशन १८ औैं दिनसम्म आइपुग्दा सरकारले केसीको मागलाई बेवास्ता गदै संसदको महिला, बालबालिका ,ज्येष्ठ नागरिक र समाजकल्याण समितिले आधा दर्जन मेडिकल कलेजलाई सम्बन्धन दिन मिल्ने गरी चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन लागेको छ । यसले चिकित्सा शिक्षा क्षेत्रको माफियालाई लाभ पुग्ने तथा अनशन बसेका डा केसी र उनका समर्थकलाई निरुत्साहित पार्ने काम सरकारी तर्फबाट हुन लागेको देखिन्छ ।

यसैबीच डा केसीले सांसदहरुले तीन करोड नेपाली र लाखौं विद्यार्थीको हितविपरीत आफ्नो संकीर्ण व्यापारिक स्वार्थ अनुरुप चिकित्सा शिक्षा ऐनलाई पारित गर्न कोशिस गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज एक विज्ञप्ति निकालेका छन् ।

हेर्नेुहोस् विज्ञप्तिको पूर्ण पाठः

आज हाम्रो सत्याग्रहको १८ दिन पुग्दा समेत सरकारका तर्फबाट केही घण्टामा पूरा गर्न सकिने मागहरु पूरा नगरिएको कुरा यहाँहरुलाई स्मरण गराउन चाहन्छु ।

साथै, यसैबीच जनताबाट चुनिएका र जनताले नै तिरेको करबाट तलब सुविधा लिने सांसदहरुले तीन करोड नेपाली र लाखौं विद्यार्थीको हितविपरीत आफ्नो संकीर्ण व्यापारिक स्वार्थ अनुरुप चिकित्सा शिक्षा ऐनलाई पारित गर्न कोशिस गरिरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ऐनलाई जनतामुखी र विद्यार्थीमुखी बनाउन माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु तथा हामीले दिएका सुझावसमेत समेटेर विधेयक अघि नबढाइएसम्म हामीलाई त्यो कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउँछु ।

स्मरण रहोस्, हाम्रो अभियान कहिल्यै पनि कुनै व्यक्ति वा पार्टी विशेषप्रति लक्षित छैन । कुनै पनि दलका दिवंगत राजनेताहरुका नाममा संस्था खोल्दा सेवाको ध्येय राखेर राज्यले खोल्नुपर्छ र कुनै पनि खालको व्यापारमा उनीहरुको नाम जोडिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । साथै विगतमा हामीसित गरिएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्नु पनि राज्यको दायित्व बन्छ ।

साथै, आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकार र आम विद्यार्थीहरुको चाहेको विषयमा गुणस्तरीय शिक्षा लिन पाउने अधिकारका लागि चलिरहेको हाम्रो अभियान जारी रहने र सही रुपमा चिकित्सा शिक्षा नआउन्जेल मेरो सत्याग्रह जारी रहने पनि जानकारी गराउँछु ।

राजनीतिज्ञहरुले निरन्तर गैर–जिम्मेवारीपन, भ्रष्टता र माफिया–प्रेम देखाए पनि हामीले नागरिकका रुपमा आफ्नो कर्तव्य छाड्न नहुने भएकाले बुद्धिजीवी र सञ्चार माध्यमहरु लगायत समाजका सबै तह र तप्काले यो अभियानमा अहिलेजस्तै निरन्तर योगदान पुर्याइरहनुहुनेछ भन्ने मेरो विश्वास छ ।

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

प्रतिक्रिया दिनुहोस्