Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

अन्तत डा. केसी.ले अनशन स्थगित गरे (प्रेस बिज्ञप्तीसहित)



जनस्वास्थ्य सरोकार । चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै विगत २३ दिनदेखि आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले मंगलबार साँझ अनशन स्थगित गरेका छन् ।
बाढी–पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्याएको भन्दै डा. केसीले अनशन स्थगित गरेका हुन् । मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमा पत्रकार सम्मेलन गर्दै डा. केसीले सबैको ध्यान विपत्तितर्फ केन्द्रित गर्न बाधा नपुगोस् भनेर अनशन स्थगित गरेको बताए ।
उनले माथेमा प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐन नबनाए पुनः अनशन बस्ने पनि बताए । डा. केसीले सत्याग्रह स्थगित गरिएपनि ऐन बनाउने क्रममा तोडमोड गरिए फेरि अनशनमा उत्रने चेतावनी दिइएको विज्ञप्तीमा उल्लेख छ । अनशन स्थगित गरेलगत्तै डा. केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालकै आइसीयुमा भर्ना गरिएको छ ।

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरू
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका मागहरू राखेर हामीले लामो अभियान चलाउँदै आएको तथा त्यसै सिलसिलामा पछिल्लो २३ दिनदेखि सत्याग्रहमा रहेको कुरा यहाँहरूलाई विदितै छ ।
यस क्रममा देशभरबाट हाम्रो अभियानलाई साथ दिनुहुने सबै महानुभावहरूलाई म हृदयदेखि नै धन्यपाद दिन चाहन्छु । यसरी नै एकबद्ध भएर लाग्ने हो भने हामीले अभियानको कुनै पनि चरणलाई सफल बनाएर छाड्न सक्छौँ भन्नेमा म विश्वस्त छु ।
यसैबीच देशभर आइलागेको बाढीजन्य प्राकृतिक विपत्तिबाट म आहत भएको छु । धेरै परिवारहरूले आफ्ना सदस्य गुमाएका छन् भने धेरैको वास र रोजीरोटीसमेत गुमेको छ । साथै बाढी कम भएपछि समेत आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्ने चुनौती हामीसामू छ । यस्तो संकटको बेला हामी सबैको जिम्मेवारी पीडामा परेका मानिसहरूलाई सहयोग गर्नु हुन जान्छ । त्यसैले विपत्तिमा सबै पक्षको ध्यान केन्द्रित हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छु । बाढीपीडितको जनजीवन सामान्य भएपछि आफ्नो संघर्षलाई निरन्तरता दिन प्रतिबद्ध छु । देशमा सुशासन कायम गर्ने प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि माफिया प्रवृत्तिविरुद्धको हाम्रो संघर्ष जारी छ ।
यसैबीच हाम्रा मागहरूमध्ये सरकारले केही मागहरू पूरा गरे पनि माथेमा प्रतिवेदन र हाम्रा सुझावहरू समेटेर सही रूपमा चिकित्सा शिक्षा ऐन पारित गर्ने मुख्य र सर्वाधिक दीर्घकालीन महŒवको काम अझै बाँकी छ । हाललाई सत्याग्रहको कार्यक्रम स्थगन गरे पनि चिकित्सा शिक्षा ऐनका लागि हाम्रो लडाइँ निरन्तर जारी रहने र कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल सत्याग्रह पुनः सुरु गर्ने जानकारी गराउँछु ।
साथै, देशका सबै नागरिकहरूसम्म गुणस्तरीय, सर्वसुलभ र विकेन्द्रित स्वास्थ्य सेवा नपुगुन्जेल हाम्रो अभियान जारी रहनेछ । आफैँले गर्नुपर्ने त्यो काममा हाम्रा जनप्रतिनिधिहरूले देखाएको उदासिनता र पछिल्लो समयमा गरिएको त्यस प्रतिकूल ऐन जारी गर्ने प्रयास दुःखद छ र अब भविष्यमा त्यस्तो व्यवहार दोहोरिनेछैन भन्ने हाम्रो विश्वास छ । तर दोहोरिइहालेको खण्डमा हामी जुनसुकै अवस्थामा फेरि संघर्षमा उत्रन तयार रहनेछौँ ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं ।
२०७४—०४—३१

प्रतिक्रिया दिनुहोस्