Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेत्रहीनका लागि पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास



नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् ।

सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रूपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई पढ्न र सुन्न सक्नेमा रूपान्तरण (कन्भर्ट) गर्दछ ।

नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले करिब दुई वर्षको अथक परिश्रमपछि नेपालमा पहिलो पटक नेत्रहीनका लागि सो सफ्टवेयर विकास गर्नुभएको हो ।

यसका लागि अस्टे«लियन राजदूतावासले संघलाई रु २४ लाख आर्थिक एवं सहयोगसमेत गरेको संघका अध्यक्ष नरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

“सफ्टवेयरले आँखाको विकल्पका रूपमा काम गर्छ, अब नेत्रहीनहरूले पनि सजिलै छापाका अक्षरलगायत अन्य नेपाली अक्षर पढ्न र सुन्न सक्छन् । हाम्रा लागि नयाँ जीवनको सुरुवात् भयो । आँखाको दृष्टि नभएर के भो र ?”, उहाँले भन्नुभयो ।

पछिल्लो जनगणनाअनुसार नेपालका नेत्रहीनको संख्या ९५ हजार मात्र छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एक खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् । यसैगरी ४०० नेत्रहीन शिक्षक कार्यरत रहेको संघले जनाएको छ ।

एउटा ल्यापटप तथा स्क्यानिङको उपकरण भएका नेत्रहीनले आफ्नो ल्यापटपमा सो सफ्टवेयर डाउनलोड गरी सो सुविधा प्रयोग गर्न सक्छन् । “हामी नेत्रहीनलाई सफ्टवेयर निःशुल्क वितरण गरी कसरी डाउनलोड गर्ने भन्ने विषयमा तालिमसमेत दिने तयारीमा छौँ”, अध्यक्ष लिम्बूले भन्नुभयो ।

नेत्रहीनहरूले यसअघि अंग्रेजी र हिन्दी भाषाका ओसिआर सफ्टवेयर प्रयोगमा ल्याउँदै आएका थिए । नेपाली भाषाको सो सफ्टवेयरले पढेका र सुनेका विषयलाई (टेक्स) ब्रेन लिपिमा समेत प्रिन्ट गर्न सकिने छ । यो सुविधाले छामेर अध्ययन गर्न चाहने नेत्रहीनलाई अति सजिलो हुन्छ ।

“सर यहाँ तोक लगाई दिनुप¥यो अथवा हस्ताक्षर गरिदिनुप¥यो भनेर सरकारी सेवामा कार्यरत अधिकृतलाई सेवाग्राहीले भन्छन् तर उहाँहरूले त्यहाँभित्रका विषय पढ्न र सुन्न सक्नुहुँदैनथ्यो अब यसलाई सफ्टवेयरले सजिलो बनाइदिएको छ”, उहाँले भन्नुभयो ।

शुरुका दिन संघले एकसय नेत्रहीनलाई सो सफ्टवेयर वितरण गर्ने जनाएको छ । यसपछि ल्यापटप हुनेका लागि सफ्टवेयर, नहुनेका लागि ल्यापटप र डेक्सटप कम्प्युटरसहित सफ्टवेयर वितरणको तयारी गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उहाँले एक नेत्रहीन एक ल्यापटप वितरण अभियानसमेत संघबाट अघि सारिएको जानकारी दिँदै यसका लागि रु दुई करोड लाग्ने हुँदा सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्