बढ्दो रक्तचाप घट्दो आयु

जनस्वास्थ्य सरोकार, काठमाडौं || प्रकाशित मिति :2017-08-21 08:17:17

मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो । ३० देखि ५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्ष्यण नदेखिने भएकाले हृदयाघात, पक्षघात, मिर्गौला फेल जस्ता गम्भीर असर गर्नसक्छ ।
विश्वमा उच्च रक्तचाप
विश्वमा एक अर्ब अर्थात २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले ग्रस्त भएको र उच्च रक्तचापका कारण वार्षिक ७५ लाख मानिसको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । संगठनका अनुसार, सन् २०२५ सम्म प्रत्येक पाँचमा एक जनालाई उच्च रक्तचाप हुने अनुमान छ । विकसित देशमा ३० प्रतिशतलाई यो रोग लागेको थाहा छैन । १५ प्रतिशतले थाहा भए पनि उपचार गरेका छैनन् । २५ प्रतिशतले उपचार गरे पनि रक्तचाप नियन्त्रणमा छैन र ३० प्रतिशतले मात्र यसको सही उपचार लिइरहेका छन् ।
अचानक मृत्यूको कारक
३० देखि ५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्ष्यण नदेखिने भएकाले हृदयाघात, पक्षघात, मिर्गौला फेल जस्ता गम्भीर असर गर्ने भएकाले यो रोगलाई ‘मौनघातक’ (सुषुप्त हत्यारा) अर्थात साइलेन्ट किलरका रूपमा लिइन्छ । मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो ।
– मुटु, रक्तनली, हृदयाघात तथा मिर्गौला फेलको प्रमुख कारक उच्च रक्तचाप मानिन्छ ।
– यो रोग कम उमेरमा हुने मृत्यु र अचानक हुने मृत्युको प्रमुख कारक तत्व हो ।
– उपचारमा हेलचेक्र्याइँ गर्ने प्रवृत्ति उच्च रक्तचाप नियन्त्रणको मुख्य र जटिल चुनौति हो ।
– अज्ञानता र हेलचेक्र्याईं
त्यसैले उच्च रक्तचापसम्बन्धि जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष १७ मे का दिन विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । विश्व उच्च रक्तचाप लिगको अगुवाइमा मनाइँदै आएको यस दिवसमा यस वर्षको नारा ‘सेभ द डेट’ रहेको छ ।
नेपालमा उच्च रक्तचाप
समस्या नं. १.
नेपालमा कति व्यक्ति उच्च रक्तचापबाट पीडित छन् भन्ने कुनै पनि आधिकारिक तथ्यांक छैन ।
समस्या नं. २.
आधाभन्दा बढी जनसंख्यालाई आफू उच्च रक्तचापको बिरामी भएको ज्ञान छैन ।
समस्या नं.३
उच्चरक्तचाप थाहा भएर पनि धेरै व्यक्तिमा उपचारको महत्वको बारेमा ज्ञान नभएको र उपचार गर्नमा हेलचेक्र्याईं भएको देखिन्छ ।
समस्या नं ४
यसबाट नेपालको उत्पादनमूलक जनसंख्या यस रोगको चपेटामा परेको अनुमान गर्न सकिन्छ । समयमा नै आवश्यक पहल नगर्ने हो भने निकट भविष्यमा नै यसले ठूलो स्वास्थ्य सङ्कट निम्त्याउने खतरा बढ्दै गएको छ ।
के हो रक्तचाप ?
मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलीमा परेको चापलाई रक्तचाप भनिन्छ । सामान्य रक्तचाप भनेको १२०÷८० हो । १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगेमा उच्च रक्तचाप भएको मानिन्छ ।
खतरा
कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, जब सामान्यतया ११५÷७५को रक्तचापमा २०÷१० का दरले बढ्दै दोब्बर हुनसक्छ । सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत बढी हुन्छ ।
उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छ वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । उच्च रक्तचापको कारण करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गरेको छ ।
समयमा उच्च रक्तचापको उपचार नगरेमा बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटु गति बन्द हुनसक्छ । २० प्रतिशत बिरामी पक्षाघातबाट मर्नसक्छन ।
रक्तचाप नियन्त्रण गर्ने उपाय
– खानामा नुनको कमी
– शारीरिक तौल नियन्त्रण
– धूमपानको त्याग
– नियमित शारीरिक व्यायाम
– ताजा फलफूल तथा सागपातको बढी प्रयोग ।
उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि प्रयोग गर्ने या नगर्ने भन्ने बारे सम्बन्धित बिरामीको निर्णयमा निर्भर हुन्छ । रक्तचापलाई जहिले पनि १३०÷८०मा सीमित राख्नुपर्छ ।
विशेष प्रकार भोजन योजना
सन्तुलित (नियन्त्रित) रक्तचाप स्वस्थ्य जीवनको प्रमुख आधार मानिएको छ् । नेसनल हर्ट लङ्ग एन्ड ब्लड इस्टिच्युटले यसको प्रभावकारी नियन्त्रणका लागि विशेष प्रकारको भोजन योजनाको विकास गरेको छ । यस योजनाको प्रमुख उद्देश्य दैनिक भोजनको उचित व्यवस्था गरी यसकै माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्नु हो ।
– यस योजनामा फलफूल, हरियो सागसब्जीलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
– दूध, चिल्लो पदार्थ, तृप्त फ्याटी एसिड, कोलेस्टेरोलको प्रयोगलाई न्यून गरिएको छ ।
– फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियमजस्ता तत्व भएका खाद्यपदार्थलाई भोजनमा बढी महत्व दिइएको छ ।
– प्रोटिन ठीक मात्र प्रयोग गर्न सकिने तथा चिनी र चिनीयुक्त खाद्यपदार्थको प्रयोगलाई पनि न्यून रूपमा मात्र प्रयोग गर्न सकिने उल्लेख छ । यद्यपी भोजनको यस योजनालाई राम्ररी अवलम्बन गर्न सकेमा रक्तचाप नियन्त्रण एवं कम गर्न सकिने कुरा विभिन्न अध्ययनहरुले देखाइसकेका छन् ।

 

    Comment Here!