Logo
|
Friday 19th April 2024
Logo

epaper

महोत्तरीमा ६ वटा निर्वाचन क्षेत्रमा एकैदिन २६ वटा स्वास्थ्य शिविर



महोत्तरी जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमा एकैदिन २६ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । यसका लागि ४ सयस्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

प्रत्येक शिविरमा कम्तिमा दुई जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । सबै शिविरहरुमा ‘सबैले सेवा पाउन सकुन्’ भन्ने हेतुले प्राथमिक उपचारदेखि विशेषज्ञ सेवा प्रदान गरिएको छ ।

सर्जरी गर्नुपर्ने अवस्थाका सिकिस्त बिरामीहरुलाई नजिकको सरकारी अस्पतालमा तुरुन्त रिफर गर्ने र उनीहरुको निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको छ ।

शिविरमा आएका बिरामीहरुलाई सम्पूर्ण औषधिहरु निःशुल्क बितरण गरिएको छ ।

शिविरमा आउने सर्वसाधारणलाई साबुनपानीले राम्रोसँग हात धुने, नङ काट्ने, नियमित नुहाउने र सरसफाइमा ध्यान दिनुपर्ने जस्ता प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने व्यवहारिक कुराहरु स्वास्थ्य स्वयं सेविका र माध्यमिक तहका बिद्यार्थीहरुबाट सिकाइएको छ ।

यो स्वास्थ्य मन्त्रालयको केन्द्रिय कार्यक्रम हो । तर स्थानीय जनस्वास्थ्य कार्यालयको समन्वयमा शिविर आयोजना गरिएको हो । यो अभियानमा स्वास्थ्य सेवा विभागलगायत स्वास्थ्यसँग सम्बन्धि सबै निकायहरुको संलग्नता रहेको छ ।

‘कति जनालाई सेवा दिने भन्ने संख्या अनुमान त गरिएको छैन तर धेरै भन्दा धेरैलाई सेवा दिने भन्ने उद्देश्य भएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले जनस्वास्थ्य सरोकारसँग बताउनुभयो । उहाँ स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलसँग महोत्तरी पुग्नुभएको छ ।
मन्त्री पोख्रेलले लोहारपट्टीमा भएको स्वास्थ्य शिविरको उद्घाटन गर्दै आज छुटेका बिरामीहरुलाई शुक्रबार पनि शिविर नियमित गर्न निर्देशन दिनुभएको छ ।

‘ यी प्रकोपबाट बच्न र कुनै पनि प्रकारको प्रकोप हुन नदिन अपनाइएका प्रयासहरु हुन् ।’—सल्लाहकार खड्काले भन्नुभयो— जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुको सूची स्वास्थ्य मन्त्रालयमा पढाएर आवश्यक औषधि र स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गरेको छ ।’

जिल्लामा बाढी डुवानमा परी ९ जनाको मृत्यु भएको छ भने दुईलाख भन्दा बढी प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्