Logo
|
Thursday 28th March 2024
Logo

epaper

सुनसान गाउँः बिरामीलाई कस्ले दिने पानी ?



जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् ।

तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको मृत्यु हुनसक्ने त्रिवेणी नलगाड नपा वडा–५ का वडा अध्यक्ष सुदीप शर्माले बताउनुभयो । गाउँमा एकै घरमा चारभन्दा बढी बिरामी छन्, पानी दिनेसम्म मानिस छैन, उहाँले रासससँग टेलिफोनमा भन्नुभयो । स्वास्थ्य कार्यालयमा छिटो बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी परिचालन हुन आग्रह गरिएको र जिल्लामा प्रहरीमार्फत खबर गरिएको उहाँले बताउनुभयो ।

यता यहाँका सबै स्वास्थ्य संस्थामा दैनिक ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढेपछि स्वास्थ्य संस्थामा उपचार गर्न नै मुस्किल भएको इलाका स्वास्थ्य चौकी, दल्लीले बताएको छ ।

जिल्लाका दूरदराजमा रहेर जनताको पहँुचमा स्वास्थ्य संस्था नहुँदा सर्वसाधारण मेडिकलमा हजाराँै रकम खर्चेर अन्धाधुन्ध उपचार गर्न बाध्य भएको त्रिवेणी नलगाड नवा–५ का कर्णबहादुर खत्रीले बताउनुभयो ।

वर्षायाममा जथाभावी फुटेका मूलबाट ल्याइएको पानी पिउँदा र खाना राम्रोसँग पकाएर नखाँदा समस्या आएको डाक्टरले बताएका छन् । बिरामीको भीड बढेपछि डाडागाउँको स्वास्थ्य संस्थामा औषधि नै सकिएको छ । चार दिनदेखि स्लाइन पानी सकिएको भएपनि जिल्ला जाने मानिस नहुँदा मागको पूर्ति हुन सकेको छैन ।

बारेकोट गाउँपालिकाका सबै वडाका प्रत्येक घरमा भाइरलका बिरामी रहेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताउनुभयो ।
यही ठाउँमा छ दिनअघि दुई नाबालकको मृत्यु भएको थियो । स्वास्थ्य संस्था टाढा हुँदा उपचारका लागि बिरामी ल्याउन नसक्दा समस्या थपिएको जिरीका प्रेम सिंहले बताउनुभयो ।

त्यस्तै, यता पूर्वको रग्दा र भगवतीका दुर्गम गाउँमा भाइरलकै प्रकोपले सयौँ गाउँले घरमै थला परेको स्थानीय तेजबहादुर विकले बताउनुभयो । कुनै घर पनि बिरामी नभएको छैन, कसलाई उपचार गर्नु, काल आए मरिन्छ, उहाँले भन्नुभयो । स्वास्थ्य संस्था टाढा छ, स्थानीय मेडिकलमा औषधि महँगोमा बिक्री हुने गर्छ, उहाँले थप्नुभयो । बालबालिका र वृद्ध बढी बिरामी भएको स्थानीयको भनाइ छ ।

गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयले माग गरे पनि जिल्ला स्वास्थ्य कार्यालयले कुनै पहल नगरेको स्थानीयको आरोप छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा सही समयमा बिरामीले उपचार नपाएको स्थानीयको आरोप छ ।

वर्षायाममा खोला बढेका र बाटाहरू भत्किएका कारण भनेको समयमा एक्लै जान सकिँदैन, अर्काे गाउँ दहका काशी पुनले रासससँग बताउनुभयो । फोनसेवासमेत अवरुद्ध भएका कारण गाउँमा के भएको छ भन्नेसम्म जानकारी आउन नसकेको बारेकोटका नरबहादुर गिरीले बताउनुभयो ।

स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा थप समस्या आएको छ । भगवती स्वास्थ्य चौकीमा छ महिनादेखि तीनवटा दरबन्दी खाली छ । त्यस्तै, नायकवाडा स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नभएको पाइएको छ । बिरामी भएको गाउँमा औषधि लिएर स्वास्थ्यकर्मी जाँदा स्वास्थ्य संस्था खाली हुने भएकाले गाउँमा जान नसकेको इलाका स्वास्थ्य कार्यालय, दल्लीले बताएको छ ।

विद्यालयमा आएका विद्यार्थीसमेत बिरामी हुँदै विद्यालयबाटै बोकेर अस्पताल लानुपर्ने बाध्यता आएको शिक्षक बताउँछन् । खाना र पानीमा ध्यान नदिँदा धेरै समस्या आएको जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्