Logo
|
Friday 19th April 2024
Logo

epaper

जाजरकाेट अस्पतालमा  २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु



१५ सैयाबाट  ५० सैयामा स्तरवृद्धि भएको  २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा  सुरु भएको छ।

जिल्लाको भेरी नगरपालिका २ रिसाङकी एक गर्भवती महिलाको  सफल अप्रेशन गरेर सुत्केरी गराउँदै अस्पतालमा प्रसुती सल्यक्रिया सुरु गरिएको छ । २०७२ कार्तिकमा सरकारद्वारा १५ सैयाबाट  ५० सैयामा  स्तरवृद्धि गरिएको जाजरकोट अस्पतालमा  पहिलो पटक विशेषज्ञ सेवा सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

सुत्केरी व्यथा गम्भीर भएर  पीडा भोगिरहेकी रिसांगकी ३५ वर्षिया चन्द्रकला वलीको शनिबार स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह नेतृत्वको चिकित्सक टोलीले सफल अप्रेशन गरेको हो । अस्पतालको स्तरवृद्धिको लामो समय सम्म पनि  कुनै विशेषज्ञ सेवा सुरु नभएको भन्दै  स्थानीयवासीले गुनासो गरिरहेका बेला  शनिबार  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काजमा  आएका स्त्री रोग विशेषज्ञ डा. शाह नेतृत्वको चिकित्सक टोलीले प्रसुति सल्यक्रिया गरी  विशेषज्ञ सेवा सुरु  गरेको हो।

जिल्लाको अस्पतालमा सुरु भएको  स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा अन्तरगत आफनी श्रीमतिको सफल अप्रेशन भएर बच्चा जन्मिएकोमा  निकै  खुसी लागेको  चन्द्रकलाका श्रीमान चन्द्रवहादुर वलीले  बताए । उनले  लामो समय पछि जिल्लामै  अप्रेशन हुनु असुरक्षित सुत्केरी हुने महिलाहरूका लागि ठूलो राहत मिलेको बताए। बाहिर जानु परेको भए  धेरै पैसा खर्च हुन सक्थ्यो । आफ्नै जिल्लामा अप्रेशन भयो  सारै खुसी लागेको छ, उनले भने।

जाजरकोट अस्पतालमा विशेषज्ञ सेवा सुरु हुनु जाजरकोट लगायत छिमेकी जिल्लाका स्थानीय जनताका लागि निकै हर्ष र सुविधाको कुरा भएको सरोकारवालाहरू  बताउँछन् । शुक्रवार जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी र पूर्व स्वास्थ्यमन्त्री शक्तिबहादुर बस्नेतले  अस्पतालमा २४ सैं घन्टा आकस्मिक प्रसुति सल्यक्रिया सेवा सुरु गरेका थिए।  सरकारले जनताको स्वास्थ्य सेवालाई उच्च प्राथमिक्ता दिएर काम गरिरहेको  स्वास्थ्य सचिव डा. रेग्मीले बताइन्।

उनले  जनताको स्वास्थ्य अधिकारलाई कुनै पनि हालतमा सम्बोधन गर्नका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको  बताइन् ।  पूर्व स्वास्थ्य मन्त्री शक्तिबहादुर बस्नेतले सुरक्षित र स्वस्थ रुपमा जन्मिन पाउने शिशुको अधिकार र सुरक्षित रुपमा बच्चा जन्माउन पाउने महिलाको अधिकारलाई राज्यले उचित ध्यान दिनु पर्ने बताए ।  उनले  स्वास्थ्य सेवा उपलब्धताको हिसावले जाजरकोट  निकै पिछडिएको जिल्ला भएको हुनाले यस तर्फ  सरकार र सरोकारवाला निकायले उचित ध्यान दिनु आवश्यक रहेको बताए।

जाजरकोट अस्पताल ५० शैयाको  भएपछि स्त्री रोग लगायत अन्य  ७ वटा विभिन्न रोगको विशेषज्ञ सेवा सुरु गर्ने भनिएपनि जनशक्तिको अभावमा  अन्य सेवाहरू सुरु हुन सकिरहेका छैनन् । सरकारी  बेवास्ताले गर्दा  जाजरकोट अस्पतालमा सबै विशेषज्ञ सेवाहरू सुरु हुन नसकेको बताइएको  छ । निमित्त मेडिकल अधिकृत डा. चाँदनी  जैसवाल र  अध्यक्ष महेन्दबहादुर शााहको विशेष पहलमा जिल्लामा पहिलो पटक  विशेषज्ञ सेवा सुरु भएको  हो । जिल्लाको  १ लाख ८७ हजार  ९ सय ३३  जनसंख्या मध्ये  ३९ हजार  ३ सय ८० महिलाहरू विवाहित रहेको  परिवार स्वास्थ्य महााशाखाकी डा. पुण्य पौडेलले बताइन्।

उनले कुल विवाहित मध्ये ४ हजार ७ सय ९८  महिलाहरू गर्भवती हुने र  तिनबाट  ४ हजार  ६८ शिशुहरूको जन्म हुने अपेक्षा  गरिएको उनले बताइन् । उनका अनुसार जिल्लामा  ६ सय १०  गर्भवती महिलाहरू जटिल अवस्थामा हुने गरेको र २ सय ३ जना गर्भवती महिलाहरूको  अप्रेशन गरेर  सुत्केरी गराउनु पर्ने  अवस्था  रहेको  छ । जिल्लामा  ३१.२ प्रतिशत  गर्भवती महिलाहरू मात्र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेका छन् भने  देशभरि  ५५ प्रतिसत गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेका छन्। -नागरिकबाट

प्रतिक्रिया दिनुहोस्