Logo
|
Saturday 20th April 2024
Logo

epaper

ओपिडी र शल्यक्रिया अनिश्चितकालीन बन्द, बिरामीलाई कष्ट



चिकित्सकको अनिश्चितकालीन आन्दोलनले देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द हुँदा बिरामी अलपत्र परेका छन् । विभिन्न स्वास्थ्य संस्थामा पुग्दा आइतबार आकस्मिक कक्षमा थेग्न नसक्ने गरी बिरामीको भीड देखिन्थ्यो । जचाउन आएका बिरामी महिला, बालबालिका, वृद्धवृद्धा र अपांगता भएकाहरू बाध्य भएर उपचारबिना नै फर्किरहेका भेटिए ।

राजधानीका ठूला सरकारी अस्पतालहरू वीर, प्रसूति, त्रिवि शिक्षण, कान्ति बाल, भक्तपुरस्थित क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालमा दिनभर नै बिरामीहरू उपचार गराउन धाइरहेका थिए । तर उपचार पाउन नसक्दा उनीहरूको ‘विजोग’ भएको देखिन्थ्यो । केहीले इमर्जेन्सीबाटै उपचार पाए पनि अधिकांश उपचारबिनै फर्किन बाध्य भए । प्रसूति मिति नजिकिएका महिलाहरू चिन्तित देखिन्थे । थापाथलीस्थित प्रसूति गृहमा भेटिएकी एक महिलाले भनिन्, ‘डाक्टरको आन्दोलनले मेरो त विजोग हुने भो । शल्यक्रिया गर्नुपर्नेजस्तो छ भनेका थिए, मेरो त ज्यान नै जोखिममा छ ।’आकस्मिक शल्यक्रियाका लागि फलोअप उपचारमा बोलाइएका बिरामीहरू पनि अन्योलमा परे । मकवानपुरबाट प्रोस्टेटको शल्यक्रिया गर्न टिचिङ अस्पताल आएका लीलाबहादुर आइतबार यत्तिकै फर्किन बाध्य भए । ‘अपरेसन गर्न ढिलो भए जे पनि हुन सक्छ भनेका थिए,’ उनले दुखेसो पोखे, ‘म ऋण गरेर आएको हुँ, अब कता जानु ?’

सरकारले ‘उपचारका क्रममा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने’ गरी कानुन बनाउन निर्देशन दिएपछि त्यसविरुद्ध चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । सरकारले उक्त निर्णय फिर्ता लिए पनि अन्य मागबारे चासो नदेखाएको भन्दै चिकित्सकले आन्दोलन जारी राखेका छन् । सबै माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन जारी रहने उनीहरूको अडान छ । ‘जेल विथआउट बेल हाम्रो प्रमुख माग हो, हामीले भयरहित वातावरणमा काम गर्न पाउनुपर्‍यो,’ सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘हामीसँग छलफल नै नगरी बनाइएको नीति हामी मान्दैनौं ।’

‘हामीलाई यसै पनि सधैं कामको चाप हुन्छ, झन् ओपीडी बन्द भएपछि त बिरामीले खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल भएको छ,’ वीर अस्पतालका इमर्जेन्सी वार्ड प्रमुख डा. केदार सेञ्चुरीले भने । वीरको इमर्जेन्सीमा दैनिक २ सयजति बिरामी आउने अस्पतालको तथ्यांक छ । अहिले दोब्बरभन्दा बढी बिरामी जाँच्नुपर्ने बाध्यता आएको डा. सेञ्चुरीले सुनाए । ‘क्षमताभन्दा बढी बिरामी हेर्नुपर्छ, डाक्टरलाई त समस्या छँदै छ, बिरामीले समेत राम्रो सेवा पाउँदैनन्,’ उनले भने, ‘डाक्टरहरू क्षमताभन्दा बढी बिरामी हेर्न मानिरहेका छैनन् । यसरी धेरै दिन चल्न सक्दैन ।’

अस्पताल प्रशासनको तथ्यांकअनुसार वीरको ओपीडीमा दैनिक १६ सय बिरामी आउँछन् । चिकित्सकहरूको आन्दोलनबारे थाहा नपाएका अधिकांश बिरामी अस्पताल आएर उपचार नगराई फर्किरहेका छन् । आन्दोलनबारे नबुझेका कतिपय बिरामी अस्पतालसँग आक्रोशित हुने, रुने, रिसाउने गरिरहेको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । ‘बिरामीलाई त सकस छ नै, अस्पताललाई पनि दैनिक १५ लाखजतिको आर्थिक घाटा भइरहेको छ,’ उनले भने ।

यता, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा पनि आइतबार बिरामीको भीड उस्तै देखिन्थ्यो । ओपीडी बन्द हुनुका कारण नबुझेका बिरामीहरू ओपीडी खुल्ने आसले दिनभर अस्पताल परिसरमा यताउता गरिरहेका भेटिए । टिचिङ अस्पताल प्रशासनको तथ्यांकअनुसार ओपीडीमा दैनिक २ हजार नयाँ बिरामी आउँछन् । अस्पताल प्रशासन प्रमुख गोविन्दबहादुर प्रधान भन्छन्, ‘फलोअपमा त अझ धेरै आउँछन्, सबैलाई फर्काउन बाध्य भएका छौं ।’ अस्पतालको इमर्जेन्सी वार्डमा धान्नै नसकिने गरी चाप बढेको इमर्जेन्सी प्रमुख योगेन्द्र कार्कीले बताए । ‘इमर्जेन्सीमा २३ वटा मात्रै बेड छन्, आइतबार एउटै बेडमा चार जनासम्म बिरामी राख्नुपरिरहेको छ,’ उनले भने । ओपीडी बन्दले अस्पताललाई दैनिक ५० लाखजति आर्थिक घाटा भइरहेको प्रमुख प्रधानले जानकारी दिए ।

—कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्