Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिरामीको दसैं अस्पतालमै



मलीन अनुहार, पातलो ज्यान अनि अस्पतालको सिंढीमा पिसाबको थैली झुन्डिएको छ । जनकपुरका रजिन्दर बेदियार सोमबार वीर अस्पतालको ढोकामा यस्तै हालतमा टोलाइरहेका थिए ।

पिसाबथैलीमा पत्थर जमेका उनलाई जनकपुर अस्पतालले १० दिनअगावै वीरमा रिफर गरेको उनले बताए । ‘तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनेर यता पठायो, डाक्टरहरूको आन्दोलनले अस्पताल बन्द रहेछ,’ उनले भने, ‘दसैं सकिएपछि मात्रै अपरेसन हुन्छ भनेका छन्, खर्च नभएर दसैं मान्न घर पनि गइनँ ।’

दसैंभरि उनी अस्पतालपेटीमै सुते, पिसाबथैली बोकेर हिँड्नुपर्ने उनको अवस्था छ । साथमा कोही आफन्त/कुरुवा छैनन् । ‘छोरा विदेश छ, घरमा रोगी श्रीमती र साना नातिनातिनामात्रै छन्, कसलाई साथ ल्याउनु,’ उनले भने । खर्च अभाव र हिँडडुल गर्न नसक्ने हुँदा अस्पताल बन्द भएर पनि यहीको चिसो पेटीमा सुत्नुपरेको उनले सुनाए । अस्पतालको ओपीडी नखुलेसम्म उनलाई पेटीमै सुत्नुपर्ने अवस्था छ ।

बेदियारजस्तै धेरै बिरामीको दसैंभर यस्तै अवस्था रह्यो । उनीहरूलाई दसैं मनाउनुभन्दा उपचार गर्नु बढी आवश्यक छ ।

नुवाकोटकी शान्तिदेवी बज्राचार्य पनि एक महिनादेखि अस्पतालकै शय्यमा छिन् । वीरको ट्रमा सेन्टरमा उनको उपचार चलिरहेको छ । गत असारमा घरको भर्‍याङबाट लडेर बज्राचार्यको तिघ्रामा भाँचिएको उनकी बुहारी मंगलक्ष्मीले बताइन् । ‘धेरै अस्पताल पुर्‍याएर यहाँ ल्याएको, यसपालिको दसैं पनि अस्पतालमै मनाइयो,’ उनले भनिन्, ‘केही आफन्त पनि यतै भेट्न आए, हामीलाई त दसैं होइन, दशा छ ।’ तिघ्रामा स्टिल राखेर उपचार गर्नुपरेकाले शान्तिदेवी उठेर हिँड्डुल गर्न सक्दिनन्, चार महिनादेखि सुतिरहँदा उनको ढाडको छाला पनि उप्किसकेको छ । त्यसको छुट्टै उपचार बाँकी नै छ । अर्को दसैं पनि अस्पतालमै बित्ने हो कि भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।

मेरुदण्डको हाडमा टीबी भएपछि इलामका नरेन्द्रदास राईको पनि अस्पतालमै दसैं बित्यो । उनी पनि वीरको ट्रमा सेन्टरमा छन् । मेरुदण्डमा स्टिल राखिएका कारण उनी उठ्न बस्न सक्दैनन् । ‘स्टिल ननिकालेसम्म अस्पतालमै बस्नुपर्ने भनेका छन्, हाम्रो त तिहार पनि यतै बित्लाजस्तो छ,’ बिरामीका दाजु केवल राईले भने ।

थापाथलीस्थित प्रसूति गृहमा पनि धेरै बिरामीले अस्पतालमै दसैं मनाए । प्रसूति हुन भर्खरै शल्यक्रिया गरेका र पाठेघरको शल्यक्रिया भएका बिरामीको दसैं अस्पतालकै शय्यामा बतेको प्रसूति गृह प्रशासन प्रमुख रानु थापाले बताइन् ।

‘आकस्मिक शल्यक्रिया गर्नुपर्नेलाई अस्पतालले दसैंभर रोकेर राख्ने गरेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । ‘ज्यानै जोखिममा परेकाको मात्रै उपचार हुन्छ, अरू बिरामीलाई शल्यक्रियाका लागि त रजिन्दर बेदियारले झैं कुर्नुपर्ने अवस्था छ,’ निर्देशक बस्नेतले भने ।

दम, निमोनियाजस्ता रोगका बिरामी पनि दसैंभर अस्पतालमै बसेको बस्नेतले सुनाए । ‘शल्यक्रियापछि औषधोपचार पूरा नभएकालाई घर पठाउन मिल्दैन, तर चाडपर्वका बेला धेरै बिरामी घर जान जिद्दी गर्छन्,’ उनले भने ।

ट्रमा सेन्टरमा भर्ना भएकालाई लामो समयसम्म उपचार आवश्यक पर्ने हुनाले त्यस्ता धेरैले चाडपर्व अस्पतालमै मनाउने गरेको सेन्टरका शल्यचिकित्सक डा. निरन महर्जनले बताए ।

‘मेरुदण्ड भाँच्चिएका, आगोले पोलेका, छाला कुहिएका बिरामीलाई डिस्चार्ज गर्नै मिल्दैन, कति त घर जान रहर गर्छन्,’ डा. महर्जनले भने । दसैंभरि ट्रमा सेन्टरको बर्न वार्डमा १२ बिरामी भर्ना गरेर उपचार गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । -कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्