Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारी विद्यालयमा स्वास्थ्य क्लिनिक



मन्थली नगरपालिका वडानम्बर दुई सालु स्थित सेतिदेवी उच्च माध्यमिक विद्यालयमा स्वास्थ्य क्लिनिक सञ्चालन गरिने भएको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले आफ्नी स्वर्गीय छोरी मालश्री काफ्लेको नाममा स्थापना गरेको ‘मालश्री काफ्ले मेमोरियल ट्रष्ट’ ले सरकारी विद्यालयमा अध्ययरत विद्यार्थीहरुको स्वास्थ्य अवस्था परीक्षणका लागि सो क्लिनिक सञ्चालनमा ल्याउन लागेको हो । ट्रष्टले तत्काल एकजना सिएमए तथा अनमी नियुक्ति गर्दैछ ।
ट्रष्टका सदस्यसमेत रहनुभएका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले भन्नुभयो—‘सामान्य स्वास्थ्य परीक्षणका लागि स्कुल नै बिदा लिँदा धेरै विद्यार्थीहरुको पढाइमा बाधा पुग्छ । त्यसैले स्कुलमै एक जान सिएमए वा अनमी नियुक्ती गरी सामान्य स्वास्थ्य क्लिनिक सञ्चालन गर्न लागेका छौं ।’
विद्यालयमा आयोजित कार्यक्रममा ट्रष्टले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मालश्री छात्रवृत्ति, मालश्री अवार्ड तथा एसइइ उत्तीर्ण विद्यार्थीहरुलाई अभिनन्दन गरेको छ ।
कार्यक्रममा २०७३ को एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रा सरस्वती मुक्तानलाई११ हजार रुपियाँ नगद र पदक सहित मालश्री अवार्ड प्रदान गरियो । उत्तीर्ण अन्य २९ जना विद्यार्थीलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरियो । साथै विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का २० जना विद्यार्थीलाई ५ हजार रुपियाँ दरले छात्रवृति प्रदान गरियो । सो विद्यालयमा हाल ६०० जना विद्यार्थी अध्ययनरत छन् ।
ट्रष्टकी अध्यक्ष निलीमा काफ्लेले यस प्रोत्साहन कार्यक्रमले बिद्यार्थीहरुमा उत्साह जगाउने भएकाले विगत तीन बर्षदेखि यस किसिमको कार्यक्रम गर्दै आएको बताउनुभयो ।
ट्रष्टले रामेछापका विभिन्न स्कुलमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम, रामेछाप बजार तथा गोठगाउँमा एम्बुलेन्स वितरण, नेपालका विभिन्न ठाउँहरुमा निःशुल्क स्वास्थ्य कार्यक्रम तथा बालबच्चा तथा बृद्धबृद्धालाई निःशुल्क भोजन सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्