Logo
|
Wednesday 24th April 2024
Logo

epaper

‘स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरेमा निको हुनसक्छ’



‘स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरेमा निको हुनसक्छ’ स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरेमा पूर्ण रुपमा निको हुने चिकित्सकहरुले बताएका छन् । विश्व स्तन क्यान्सर दिवसको अवसरमा ललितपुरको हरिसिद्धिस्थित क्यान्सर उपचारमा अत्याधुनिक सुविधासम्पन्न नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अस्पताल परिसरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।

वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठले भन्नुभयो—‘स्तन क्यान्सर पूर्णरुपमा रोकथाम गर्ने उपाय त छैन तर यसबाट बच्न प्रारम्भिक अवस्थाको पहिचान एकमात्र मूल मन्त्र हो ।’ उहाँका अनुसार, स्तन क्यान्सर चाँडो पत्ता लागेमा निको हुने सम्भावना धेरै हुन्छ र सबै स्तन फ्याक्न जरुरत पर्दैन । वरिष्ठ स्तन क्यान्सर सर्जन डाक्टर कपेन्द्रशेखर अमात्यले भन्नुभयो—‘हरेक महिलाले चिकित्सकको सल्लाहमा मेमोग्राफी गरेमा सम्भावित स्तन क्यान्सर पहिचान गर्न सकिन्छ ।

अस्पतालले अक्टोबर महिनालाई स्तन क्यान्सर जनचेतना महिनाको रुपमा लिएर ‘स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरेमा निको हुनसक्छ’ भन्ने मुल नाराका साथ सम्बन्धित बिरामीहरुलाई सहुलियत र स्तन क्यान्सरसम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अघि बढाएको छ । अस्पतालले स्तन क्यान्सर स्क्रिनिङअन्तर्गत डिजिटल म्यामोग्र्राफी र अल्ट्रासाउण्डमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

स्तन स्त्रीहरुको प्रजनन अङ्ग मात्र नभइ नारीहरुको स्त्रीत्व झल्काउने सौन्दर्यताको अङ्ग पनि हो । नेपालमा पाठेघरको मुखको क्यान्सर पछि महिलाहरुमा सबैभन्दा धेरै हुने स्तन क्यान्सर मानिएको छ । हरेक वर्ष लगभग पाँच हजार नेपाली महिलाहरुलाई स्तन क्यान्सर हुने अनुमान गरिएको छ । विकसित देशहरुमा स्तन क्यान्सर लगभग ६० बर्षको हाराहारीमा सबैभन्दा बढि देखिन्छ । तर हाम्रो जस्तो देशमा आधाभन्दा बढी ५० बर्ष भन्दा कम उमेरका महिलाहरुमा देखिएको छ । आफ्नो स्वास्थ्यप्रति सचेतन भएका कारण विकसित देशहरुमा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाएको पाइन्छ तर हाम्रो देशमा स्तन क्यान्सर छिप्पिएको अवस्थामा मात्र पत्ता लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्