Logo
|
Friday 29th March 2024
Logo

epaper

बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर



बेनी अस्पतालमा दैनिक हुने फोहरको उचित व्यवस्थापनमा जर्मनबाट आएका दुई मेडिकल इन्जिनियरले सघाइरहेका छन् ।

करिब तीन साता अगाडि नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्डको फोहर विसर्जनका लागि इन्सिनेटर प्रविधि जडान गरेका छन् ।

जर्मनको एक गैरसरकारी संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित सो प्रविधि उपयोगमा ल्याउनुका साथै अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहरको वर्गीकरण र विसर्जन गर्ने तरिका, फोहर संकलन गर्दा अपनाउनुपर्ने विधिलगायतका विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई तालीमसमेत दिइएको अस्पताल प्रमुख डा रोशन न्यौपानेले बताउनुभयो ।

अस्पतालमा गुणस्तरीय सेवासँगै सफा र सुन्दर बनाउने अभियानमा चिकित्सक समेत मासिकरूपमा सरसफाइ अभियानमा संलग्न भएपनि र विभिन्न संघसंस्थाबाट समेत सहयोग भएपनि व्यवस्थापनमा देखिएको समस्याले दिगो हुन नसकेको अवस्थामा इन्सिनेटर प्रविधिको प्रयोगले सहज बनाएको सम्बद्ध चिकित्सकको भनाइ छ ।

फोहर विसर्जनका लागि बनाइएको इन्सिनेटर नजिक फोहरको प्रकारका बारेमा जानकारी दिने सूचना, फोहर राख्ने कोठासमेत बनाइएको छ । जर्मनमा रहेको एक गैरसरकारी संस्था र बेनी अस्पतालको लागतमा निर्मित इन्सिनेटरमा आवश्यक पर्ने प्रविधिसमेत जर्मन र भारतबाट ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

अस्पतालभित्रका कर्मचारीलाई फोहर संकलनदेखि विसर्जनमा अपनाउनुपर्ने विधिका बारेमा तालीम दिइएपछि अस्पताल विकास समितिले नियमित अनुगमन र निगरानी गर्ने जनाएको छ ।

फोहर व्यवस्थापनका लागि दुईजना कर्मचारीले दैनिक काम गर्नुपर्ने भए पनि तत्काललाई नियमित काममा रहेका कर्मचारीलाई नै जिम्मेवारी दिइने छ । अस्पतालबाट निस्किने ६० देखि ८० प्रतिशतसम्म फोहर संक्रमित फोहर नहुने र बाँकी फोहर संक्रमित हुने भएकाले पनि फोहर विसर्जनमा सचेत हुनुपर्ने जर्मनी मेडिकल इन्जिनियर मेक्सिमिलियनको भनाइ छ ।

युरोपका अस्पतालमा चिकित्सक जस्तै महत्व फोहर व्यवस्थापनलाई दिने गरिएको छ भन्दै उहाँले अस्पतालभित्र देखिने फोहरले बिरामीको अपमान हुने बताउनुभयो । बेनी अस्पतालमा काम गर्ने क्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीबाट अपेक्षा गरेभन्दा धेरै राम्रो सहयोग पाएको बताउँदै इन्जिनियर मेक्सिमिलियनले आगामी दिनमा पनि यस अस्पतालमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

फोहरलाई जैविक र अजैविक गरी छुट्याउने तरिकाबारे कार्यालय सहयोगीलाई जानकारी गराइएकाले काममा सहज भएको अस्पतालले जनाएको छ । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सरसफाइसहितको जनचेतनामूलक कार्यलाई समेत प्राथमिकतामा राखेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्