Logo
|
Thursday 25th April 2024
Logo

epaper

पाँचथरमा ६८ जना कुपोषित बालबालिका



पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका भेटिएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम शुरु भएकोे दुई महिनामा यतिका कुपोषित बालबालिका भेटिएका कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रोशन न्यौपानेले बताउनुभयो ।
उक्त अबधिमा फिदिम नगरपालिकामा २१, याङ्वरक गाउँपालिकामा एक, फालेलुङमा चार, हिलिहाङमा नौ, तुम्बेवामा १८, कुम्मायकमा १०, मिक्लाजुङ गाउँपालिकामा पाँचजना कुपोषित बालबालिकाको पहिचान भएको थियो ।

फाल्गुनन्द गाउँपालिकामा भने हालसम्म कुपोषण भएका बालबालिका नभेटिए पनि विपन्न परिवार र राम्रो आर्थिक हैसियत भएका परिवारका बालबालिकामा समेत कुपोषणको समस्या देखिएको छ । हालै मात्र नेपाल सरकारले पिछडिएको क्षेत्रको सूचीमा राखेको दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकामा सबैभन्दा बढी कुपोषित बालबालिका भेटिएका छन् ।

छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकामा कुपोषण परीक्षण गरिएको थियो । कार्यक्रम शुरु भएको दुई महिनामै जिल्लामा झण्डै ७० जना कुपोषित बालबालिका भेटिएकाले यो संख्या अझ बढ्ने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले बताउनुभयो ।

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत परीक्षणका क्रममा कुपोषण भएको प्रमाणित भएका ६८ बालबालिकालाई अहिले तयार पारिएको पोषणयुक्त खाना निःशुल्क उपलब्ध गराई उपचार शुरु गरिएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र र नौ वटा स्वास्थ्य केन्द्रमार्फत यो सेवाप्रवाह भइरहेको सूचना व्यवस्थापन अधिकृत न्यौपानेले बताउनुभयो ।

त्यस्तै जिल्लाको साविक १० वटा गाविसमा सञ्चालन भइरहेको ‘सुनौलो हजार दिन’ सञ्चार अभियानअन्तर्गत अहिले १५५ आमासँग नियमित सञ्चार सम्पर्क भइरहेको अभियानका जिल्ला संयोजक युवराज चेम्जोङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्