Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ‘लाइभ’ शल्यक्रिया



चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिनुभयो ।

बिहान १० बजेदेखि शुरु भएको सम्मेलनमा अहिले ‘लाइभ’ शल्यक्रिया चलिरहेको डा नेपालले जानकारी दिनुभयो ।

चितवनको क्यान्सर अस्स्पतालको शल्यक्रिया कक्षमा क्यान्सरको शल्यक्रिया भइरहेको र प्रविधिमार्फत सम्मेलन हलमा विज्ञहरुले प्रत्यक्षरुपमा अध्ययन र अवलोकन गरिरहेका छन् ।

शल्यक्रियाको पद्धतिबारे प्रत्यक्ष हेरेर अनुभव आदानप्रदान हुने विज्ञहरुले बताएका छन् । दुई वटा हलमा शुरु भएको सम्मेलनको अर्को हलमा भने भारतका विज्ञ प्राध्यापक डा राजेश चन्दवानीले आफ्नो अध्ययन र अनुभवको विषयमा कार्यपत्र प्रस्तुत गरी सो विषयमा छलफल भइरहेको डा नेपालले बताउनुभयो ।

आज दिउँसो दोस्रो सत्रमा विभिन्न विज्ञबाट छ वटा कार्यपत्र प्रस्तुत भई छलफल हुने कार्यक्रम रहेको स्थानीय आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिनुभयो ।

यही कात्तिक १८ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका गरी ३०० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । जसमा २० जना विज्ञ विदेशबाट सहभागी भएका छन् ।

सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका विशेषज्ञहरु सहभागी रहेको डा रौनियारले बताउनुभयो ।

सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिका विषयमा अनुभव आदानप्रदान गरी विश्वमा भएका नयाँ उपचार प्रविधिका बारेमा जानकारी आदानप्रदान हुने जनाइएको छ ।

राजधानी बाहिर सम्मेलन पहिलोपटक चितवनमा आयोजना भएको हो । सम्मेलनको औपचारिक उद्घाटन भोलि शुक्रबार क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले गर्ने जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्