Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चिकित्सा शिक्षा ऐन प्रमाणीकरण गर्न माग



 प्रा डा गोविन्द केसीले चिकित्सा शिक्षा ऐन तुरुन्त प्रमाणीकरण हुुनुपर्ने माग गर्नुभएको छ ।

यहाँ आज पत्रकार सम्मलेन गर्दै उहाँले जनताको हितमा ल्याइएको उक्त ऐन एक हप्तामा प्रमाणीकरण नभए पुनः सत्याग्रह थाल्ने चेतावनी दिनुभयो । गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन ल्याएको थियो । हाल उक्त ऐन राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि लगिएको छ ।

प्रा डा केसीले भन्नुभयो, “उक्त ऐन प्रमाणीकरणका लागि पठाइएको धेरै दिन भयो, के कारणले प्रमाणीकरण भएको छैन, एक हप्तामा प्रमाणीकरण नभए पुनः सत्याग्रह थाल्छु, सविधानभन्दा माथि कोही छैन ।”

शिक्षा मन्त्रालले काठमाडौँ नेशनल मेडिकल कलेजलाई यही आवदेखि एमबिबिएस सिट निर्धारण गर्न नेपाल मेडिकल काउन्सिललाई पठाएको पत्रविरुद्ध पनि डा केसीले आपत्ति जनाउनुभएको छ । मन्त्रालयले सर्वोच्च अदालतले ‘सम्बन्धन स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्नू’ भनेकाले यथाशीघ्र सम्बन्धनअनुसार काम–कारबाही गर्न भन्दै काउन्सिललाई पत्र पठाएको बताइएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले भन्नुभयो, “सिट निर्धारण र मेडिकल कलेजको अनुगमनका लागि नियमानुसार त्रिभुवन विश्वविद्यालयले पत्र पठाउनुपर्छ, किन शिक्षा मन्त्रालयले नियम विपरीत दबाबमूलक पत्र पठायो ?” शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग उक्त पत्रका विषयमा प्रा डा केसीले टेलिफोन गरी आक्रोश व्यक्त गर्नुभएको थियो ।

कलेजको अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० पूरा नगरेको पनि भेटिएको थियो । प्रा डा केसीले राजनीतिक दलका केही नेताका कारण जनताका छोराछोरीले सस्तो र सुलभ रुपमा गुणस्तरीय चिकित्सा शिक्षा पढ्न पाउने अधिकारलाई सरकारले लत्याएको आरोप लगाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्