Logo
|
Saturday 20th April 2024
Logo

epaper

२०१६ नेपाल जनसांङ्खिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक, प्रगति र चुनौति बराबर



२०१६ नेपाल जनसांङ्खिक तथा स्वास्थ्य सर्वेक्षण आज राजधानीमा सार्वजनिक गरिएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित एक कार्यक्रबीच राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.गीता भक्त जोशीले सो सर्वेक्षणको नतिजा सार्वजनिक गर्नुभयो ।
२०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणमा ११ हजार ४० घर परिवार, १५ देखि ४९ वर्षका १२ हजार ८ सय ६२ महिला तथा १५ देखि ४९ वर्षका ४ हजार ६३ पुरुषसँग सफलतापूर्वक अन्तर्वार्तामा समावेश गरिएको थियो ।
सर्वेक्षणमा छानिएकामध्ये ९९ प्रतिशत घर परिवार, ९८ प्रतिशत महिला र ९६ प्रतिशत पुरुषहरुले अन्तर्वाता दिएका थिए ।
यस सर्वेक्षणले राष्ट्रियस्तर ग्रामीण तथा शहरी क्षेत्र, तीन भौगोलिक क्षेत्र, पाँच विकास क्षेत्र र ७ प्रदेशहरुको स्वास्थ्य तथा जनसांखिक आँकडा दिन्छ ।
यो सर्वेक्षणको नतिजाहरुले नेपालमा विगत २० वर्ष यता उल्लेखनीय प्रगति भएको देखाएको छ ।
नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०१६—२०२१ ले कुल प्रजना दरलाई प्रति महिला २.१ मा झार्ने लक्ष्य राखेको छ । यो लक्ष्य हाँसिल गर्ने प्रक्रियामा नेपाल आशावादी देखिन्छ । हाल नेपालमा एउटा महिलाले औषतमा २.३ बच्चा जन्माउँछन् । धेरै महिलाहरुले परिवार नियोजनका विभिन्न साधन तथा सेवाहरु अपनाइरहेका छन् । आधाभन्दा बढी बिवाहित महिलाले परिवार नियोजनका विभिन्न साधन तथा सेवाहरु प्रयोग गरिरहेका छन् । सन् १९९६ मा २९ प्रतिशतले मात्र परिवार नियोजनका विभिन्न साधन तथा सेवा प्रयोग गर्दथे । यसको दाँजोमा हाल परिवार नियोजनका विभिन्न साधन तथा सेवाहर प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ ।
सबैभन्दा बढी प्रयोग हुने परिवार नियोजनका आकस्मिक साधन तथा सेवाहरुमध्ये महिला बन्ध्याकरण, तीन महिने सुई तथा पुरुष बन्ध्याकरण प्रमुख हुन् ।
नेपालमा विगतका दिनहरुभन्दा अहिले बाल मृत्युदरमा धेरै नै कमी आएको छ । तै पनि हाल नेपालमा प्रत्येक २५ बालबालिकाहरुमध्ये एक बच्चाको पाँच बर्षको जन्मदिन मनाउन नपाउँदै मृत्यु हुने गर्छ । दिगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच बर्षमुनिका बच्चाहरुको बाल मृत्युदर प्रति एक हजार जीवित जन्ममा क्रमश १२ र २० मा झार्ने लक्ष्य राखेको छ । यस लक्ष्यलाई प्राप्त गर्न नेपालले बाल मृत्यु दर घटाउन निरन्तर प्रयास गर्नैपर्दछ ।
नेपालमा गर्भवती सेवा लिनेहरुको संख्यामा बृद्धि भएको छ । सन् २००१ यता धेरै महिलाहरुले दक्ष स्वास्थ्यकर्मीहरु डाक्टर, नर्स र अनमीहरुबाट गर्भवती सेवा लिँदै आएका छन् । धेरै महिलाहरुले चार वा सो भन्दा बढी पटक यो सेवा लिने गरेका छन् । धेरै महिलाहरु बच्चा जन्माउने अवस्थामा जोखिममा हुन्छन् । विगत २० वर्षयता स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाहरुको संख्या बढ्दो छ । सन् १९९६ मा जम्मा ८ प्रतिशत बच्चाहरुमात्र स्वास्थ्य संस्थामा जन्मिन्थे भने सन् २०१६ मा सो संख्या बढेर ५७ प्रतिशत पुगेको छ ।
यो सुखद पक्ष भएपनि अझै ४१ प्रतिशत बच्चाहरु घरमा नै जन्मिन्छन् । यो आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण छ । नेपालले मातृ मृत्युदर अझ घटाउने प्रयासलाई तिब्रता दिनुपर्ने आवश्यकता छ । यो सर्वेक्षणको नतिजा अनुसार, सर्वेक्षणभन्दा सात वर्षदेखि यताको समयावधिमा नेपालमा मातृमृत्युदर प्रति एक लाख जिवित जन्ममा २३९ हुने गरेको छ । नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०१६—२०२१ ले मातृ मृत्युदर प्रति एक लाख जिवित जन्ममा १२५ मा घटाउने लक्ष्य राखेको छ ।
२०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनको नतिजा हेर्दा धेरै क्षेत्रमा प्रगति भएको देखिएता पनि चुनौतिहरु अझै बाँकी छन् । सन् १९९६ मा १२ देखि २३ महिनाका ४३ प्रतिशत बालबालिकाहरुले पूर्ण खोप पाएका थिए । सो संख्या क्रमिक रुपमा बढ्दै आएता पनि सन् २०११ को तुलनामा सन् २०१६ मा घट्न गएको छ । नेपालमा तीन चौथाई बालबालिकाहरुले सिफारिस गरिउका सम्पूर्ण खोपहरु पाउने गरेका छन् । २०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणका नतिजाहरुले नेपालमा धेरै बालबालिकाहरु न्यून पोषणबाट पीडित भएको पाइएको छ ।
पुड्कोपन वा उमेर अनुसारको उचाई नमिल्ने कुराले दीर्घकालीन षोषणलाई इंकित गर्दछ ।
नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकाहरु पुड्को भएको पाइएको छ । विगत २० वर्षयता नेपालका बालबालिकाहरुमा पुड्कोपन घट्दै गएता पनि अझै एक तिहाइ भन्दा बढी बालबालिकाहरुमा पुड्कोपन भएको पाइएको छ । नेपालमा पहिलोपटक २०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणअन्तर्गत १५ वर्षदेखि माथि उमेरका महिला एवं पुरुषहरुको रक्तचापको मापन गरिएको थियो जसमा १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषहरुमा उच्चरक्तचाप भएको पाइएको छ ।
यो नेपालको जनसंख्या तथा स्वास्थ्य नीतिको अनुगमनका लागि तथ्यांक उपलब्ध गराउन तयार गरिएको राष्ट्रियस्तरको सर्वेक्षण हो । नेपालमा सञ्चालन भएको यो पाँचौं जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण भएको स्वास्थ्य सचिव डा.किरण रेग्मीले बताउनुभयो ।
यस सर्वेक्षणबाट प्राप्त तथ्यांकले कार्यक्रम व्यवस्थापक तथा नीति निर्माताहरुलाई तथ्यमा आधारित स्वास्थ्य सम्बन्धि योजना तर्जुमा गर्न मद्धत पु¥याउँछ जसले देश र जनताको स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले बताउनुभयो ।
यो सर्वेक्षणले नेपालको जनसंख्या तथा स्वास्थ्य स्थितिको बारेमा बृहत जानकारी दिन्छ । सर्वेक्षणका परिणामहरुले कुन क्षेत्रमा प्रगति भएको छ साथै कुन क्षेत्रमा अझै सुधार ल्याउनुपर्ने आवश्यक छ भन्ने बारे जानकारी दिन्छ । २०१६ नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यु एराले सम्पन्न गरेको थियो । यो सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय नियोग (युएआइडी) बाट आर्थिक सहयोग प्राप्त भएको थियो । यो सर्वेक्षणमा आईसिएफद्धारा प्राविधि सहयोग उपलब्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्