Logo
|
Friday 29th March 2024
Logo

epaper

रेडियोलोजी एक आयाम अनेक



सामान्य भाषामा रेडियोलोजीको बुझाइ विकीरणको प्रयोगबाट शरीरभित्रको अङ्गको अध्ययन भन्ने बुझिन्छ । सन् १८९५ मा विल्हेल्म रोन्टजेनको एक्स—रेको आविष्कारदेखि अहिले सुक्ष्म घाउबाट गरिने विभिन्न अङ्गहरुको जटिल शल्यक्रियाहरुसम्मले रेडियोलोजीले चिकित्सा विज्ञानमा मारेको फड्कोलाई उजागर गर्दछ ।
अस्पतालको सुचक
रोग पत्ता लगाउन शुरु भएको डाइग्नोष्टिक रेडियोलोजी आज रोग निदानका लागि हुने इन्टरभेन्सनको अभिन्न अङ्ग बनेको छ । शरीर नचिरिकनै विभिन्न अङ्गहरु कम्प्युटरमा हेर्न मिल्ने र त्यसलाई सामान्य घाउबाट विभिन्न पाइप र तारका मद्दतले शल्यक्रिया गर्न मिल्ने भएपछि रेडियोलोजीले चिकित्सा संसारमा नयाँ आयाम ल्याएको छ । अहिले विकीरणको प्रयोग गर्ने एक्स—रे, सिटी स्क्यान, म्यामोग्राम, फ्लुरोस्कोपी, एन्जियोग्राफी तथा विकीरणरहीत अल्ट्रासाउन्ड, एमआरआइलगायतबाट रोग पत्ता लगाउने तथा निदान गरिन्छ । रेडियोलोजी विभागको विकास र यसले गर्ने विभिन्न सुक्ष्म शल्यक्रियालाई पाश्चात्य राष्ट्रमा अस्पतालको सुचकको रुपमा समेत हेर्ने गरिन्छ ।

अन्वेषण
एक्स—रे विकीरणको प्रयोग गरेर शरीरका विभिन्न भागको श्यामश्वेत चित्र तयार पारिन्छ । शरीरको हड्डी भाँचिएमा वा फोक्सोसम्बन्धि जानकारी लिन सामान्यतया एक्स—रेको प्रयोग गरिन्छ । एक्स—रेले छेड्न नसक्ने बेरियम जस्ता कन्ट्रास्टको प्रयोग गरेर आन्द्रा, पेटलगायतका घाउ, क्यान्सर आदि हेर्न सकिन्छ । फ्लुरोस्कोपीले लगातार न्युन एक्सरेको प्रयोग गरी प्रत्यक्ष भिडियो चित्र बनाउँछ । यसबाट शरीरका विभिन्न अङ्गहरु प्रत्यक्ष कम्प्युटरमा हेर्दै सानो मात्र घाउ बनाएर शल्यक्रिया गर्न सकिन्छ । यसमा बेरियम र आयोडिनको प्रयोग गरेर पाचननली र रक्तनली हेर्ने तथा विभिन्न अङ्गको कार्यप्रणालीलाई प्रत्यक्ष हेर्न सकिन्छ । त्यस्तैगरी एन्जियोग्राफीमा शरीरमा एक्स—रेले छेड्न नसक्ने कन्ट्रास्टको प्रयोग गरेर एक्स—रेको सहायताद्वारा रक्तनली र मुटु हेर्ने गरिन्छ । हृदयघातको खतरालाई पूर्वानुमान गर्न यसले मद्दत गर्दछ । म्यामोग्राफीमा पनि न्यून एक्स—रे प्रयोगद्वारा स्तनको गाँठाहरु तथा अन्य समस्याको जाँच गरिन्छ । सिटी स्क्यानमा मानिस वरिपरि एउटा गोलाकार मेसिन हुन्छ, जसले लगातार एक्स—रे र कम्प्युटरको सहाराले शरीरको विभिन्न तहमा विभिन्न कोणबाट चित्र जोडेर थ्री डाइमेन्सनल चित्र बनाएर शरीरका भित्री भागहरु अध्ययन गर्दछ । यसले सामान्यतया अरु प्रविधि भन्दा बढी विकीरण प्रयोग गर्दछ । यसको प्रयोग चिकित्सा संकायबाहेक पुरातत्व विज्ञानले पनि विभिन्न अन्वेषणका निमित्त गर्दछ ।

दिमागी प्रतिक्रियाको अध्ययन
एमआरआइमा चुम्बकको प्रयोगले शरीरभित्रको पानीमा रहने हाइड्रोजनको न्यूक्लियस (प्रोटोन) लाई उत्तेजित पारेर शरीरका भित्री अङ्गहरुको चित्र कोरिन्छ । यसमा शरीरलाई विकीरणको खतरा रहँदैन । तर चुम्बकले आकर्षण गर्न सक्ने साधन प्रयोग गरेकाहरुमा यसको प्रयोग खतरापूर्ण हुन्छ । रगतमा अक्सिजनको मात्रा हेरेर गरिने एफ÷एमआरआइको प्रयोगद्वारा विभिन्न उत्तेजना प्रति हाम्रो दिमागले दिने प्रतिक्रियाको अध्ययन गरेर मानसिक स्वास्थ्यसम्बन्धि अध्ययन गर्न मद्दत गर्दछ ।

कम समयमा जानकारी

.

अल्ट्रासाउन्डले हामीले सुन्नसक्ने भन्दा बढी आवृत्तिको ध्वनी प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्वको अध्ययन गरेर शरीरका भित्री भागहरुको चित्र कोर्ने तथा शरीरको कुनै भागमा रगतको प्रवाह रहेको नरहेको पत्ता लगाउने गर्दछ । विकीरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रूणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ । सबैभन्दा कम समयमा शरीरका भित्री अङ्गको जानकारी दिने भएकाले आकस्मिक बेलामा यसको प्रयोग अति महत्वपूर्ण हुन्छ । यसको प्रयोग गरेर विभिन्न शल्यक्रियाहरु बढी सुरक्षित तरिकाले गर्न सकिन्छ । इलास्टोग्राफीमा अल्ट्रासाउन्ड वा एमआरआइको प्रयोग गरेर अङ्गहरुको लचिलोपना मापन गरी विभिन्न रोगको बारेमा अध्ययन गरिन्छ । टेक्टाइल इमेजिङमा स्पर्शलाई चित्रमा परिणत गरेर स्तन, प्रोस्टेट, मांसपेशी लगायतको अध्ययन गरिन्छ ।

रोगको निदान पनि
इन्टरभेन्सनल रेडियोलोजी अन्तर्गत माथिका विभिन्न प्रविधिको प्रयोगद्वारा सानो मात्र घाउ बनाएर रोग पत्ता लगाउने तथा निदान गरिन्छ । शरीरका भित्री अङ्गहरुबाट पिप, पानी वा मासुको टुक्रा निकाल्नका लागि मुटु, कलेजो, मिर्गौलालगायत अन्य अङ्गमा पाइप लगाएर बन्द भएको प्रवाहलाई पुनः खोल्ने रक्तस्रावलाई रक्तनलीमा क्वाइल हालेर रोक्ने र शरीरका रक्तनलीमा अनावश्यक प्रवाह रोक्न फिल्टर लगाउने, क्यान्सरग्रस्त भागलाई काटेर निकाल्ने तथा जाँचका लागि नमुना निकाल्ने, दिमागमा रक्तश्राव भएमा रोकथाम गर्ने, पक्षघातको उपचार गर्ने लगायतका कार्यहरु पर्दछन् । एन्जियोग्राफीबाट शरीरका विभिन्न अङ्गहरुका धमनी अर्थात् रक्तनलीहरु तथा मुटुको अध्ययन गरिन्छ । कुनै रोग वा शल्यक्रियाका कारणले उत्पन्न रक्तश्रावमा एन्जियोग्राफीको मद्दतले क्वाइलिङ गरेर ज्यान जोगाउन सकिन्छ । कमजोर वा साँघुरो भइसकेको रक्तनलीलाई स्टेन्ट (पातलो पाइप) लगाएर रगतप्रवाह गराउन सकिन्छ । बायोप्सीमा अल्ट्रासाउन्ड तथा सिटी स्क्यानको मद्दतले शरीरका भित्री भागमा भएका मासुका डल्लाको सानो टुक्रा पातलो सियोको मद्दतले झिकेर जाँच्न सकिन्छ । प्रोस्टेट, स्तन लगायत अन्य अङ्गमा हुने यस्ता डल्लो सामान्य रहेको वा क्यान्सर रहेको कुराको पहिचान गर्न सकिन्न । शरीरभित्र विभिन्न भागमा जम्मा भएर रहेको पानी, पिप, बाइल लगायतलाई प्रत्यक्ष मेसिनमा हेर्दै निकाल्न सकिन्छ । मिर्गौलाबाट मूत्रथैलीमा जानुपर्ने पिसाब बन्द भएर मिर्गौला सुन्निदै जाँदा तथा संक्रमण हुँदा पिसिएन गरेर पाइपबाट छाला बाहिर थैलीमा पिसाब जम्मा पारेर मिर्गौला जोगाउन सकिन्छ । त्यस्तै कलेजोले उत्पादन गर्ने बाइल जम्मा भएर निस्किन नपाउँदा पिटिबिडी गरेर पाइपद्वारा त्यस्ता उत्पादित झोललाई सोझै बाहिर थैलीमा निकाल्न सकिन्छ । टिआइपिएस (टिप्स) को प्रयोगद्वारा कलेजोमा प्रवाहित रगतलाई सोझै मुटुतिर फर्काएर पोर्टल हाइपरटेन्सनको उपचार गर्न सकिन्छ । टिएसिइ (टेस) को प्रयोगद्वारा क्यान्सरग्रस्त शरीरको अङ्गमा क्यान्सर विरुद्धको औषधिलाई पाइपको मद्दतले पु¥याउने कार्य गरिन्छ । आरएफएको प्रयोगद्धारा शरीरमा अनावश्यक रुपमा रहेको तन्तुहरुलाई वा क्यान्सरलाई रेडियोलोजीको प्रयोगद्धारा सियो पसाएर तातोपनको प्रयोगद्धारा क्षतिग्रस्त पारिन्छ ।

रेडियोलोजीको विकास चिकित्सा विज्ञानका लागि वरदान हो । रोग पत्ता लगाउने र निदान गर्ने कार्य विभिन्न विभागको सहकार्यमा रेडियोलोजीले विभिन्न भूमिका निर्वाह गरेको छ । दैनिक नयाँ रिसर्च हुने यो विधाले नयाँ र कम जोखिमयुक्त प्रविधिहरु विकास गर्दै आएको छ । यस्ता विधालाई प्रोत्साहित गर्नु र राम्रो नीति मार्फत व्यवस्थित पार्नु हामी सबैको जिम्मेवारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्