Logo
|
Friday 29th March 2024
Logo

epaper

सबै बिरामीलाई भर्ना गर्न सकिँदैन



बीर अस्पतालमा दैनिक १६ देखि १८ सय बिरामी बहिरङ्ग उपचार सेवा लिन आउने गर्छन् । इमर्जेन्सी सेवा लिन दैनिक ३ सयको हाराहारीमा आइरहेका छन् । तर आकस्मिकमा २० वटा वेड मात्र रहेका छन् । अहिले अस्पतालमा कुल ४ सय ६० वेड छ । त्यसैले अस्पतालमा आएका सबै बिरामीलाई भर्ना गर्न सक्ने अवस्था छैन ।
बिरामीको संख्या बृद्धिः चुनौति
गत वर्षसम्म बीर अस्पतालको तथ्यांकमा ८ सयदेखि १ हजार २ सय सम्म बिरामी बहिरङ्ग सेवाका लागि आउने गर्दथे । अहिले त्यो संख्या बढेर १ हजार ६ सय देखि १ हजार ८ सय पुगेको छ । बिरामीको संख्या बढेकाले सुविधामा चुनौति थपिएको छ । बीर अस्पतालको सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधारको समस्या हो । हामीसँग सिमित भौतिक पूर्वाधार छन् । बीरको नयाँ भवन बनेको ४० वर्ष भएको छ । पुरानो भवन बनेको ८० वर्ष भइसकेको छ । ४० वर्ष यता यहाँ कुनै संरचना थपिएका छैनन् । तर यो बीचमा जनसंख्या धेरै बृद्धि भइसकेको छ ।
आकस्मिक कक्षमा दैनिक ३ सय बिरामी आउँदा कहिलेकाँही एउटा बेडमा २—३ जना बस्नुपर्ने बाद्यता छ । कतिपयले ठाउँ नै नपाएर फर्किनुपर्ने बाद्यता छ । आकस्मिक ठाउँलाई कसरी बढाउन सकिन्छ ? भनेर कोशिस गरिरहेका छौं । इन्जिनियरिङ डिजाइनिङ ढिलो भएकाले यस वर्ष बजेट पुगेन । अर्को साल ९ बेड थप्न सकिन्छ कि भन्ने छ । यसले २९ वेड हुनेछ । तर यो क्षमताले पनि पुग्नेवाला छैन ।

अस्पताल र बिरामी बीचको दूरी
बीर अस्पताल पछाडि भुकम्पले भक्ताएको भागमा भवन बनाउन जाइकाले काम शुरु गरिसकेको छ । यसलाई १६ महिनामा सम्पन्न गर्ने अभियानका साथ काम भइरहेको छ । यो भवनमा १ सय वेड थपिन्छ । यता नर्सिङ क्याम्पस र क्वार्टरको भवन भक्ताइसकिएको छ । यसले ओगटेको १७ रोपनी जग्गामा ७ तलाको भवन निर्माण हुँदैछ । टेन्डर पनि भइसकेको छ । २ अर्ब ८८ करोडको अनुमानित लागतमा यो भवन बन्न लागेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । यो बनेपछि ६ सय ५० वेड थपिन्छ । यसबाट बल्ल बीर अस्पतालमा सहज तरिकाले सेवा दिने अवस्था आउँछ । अस्पतालको भौतिक संरचनाको अभावका कारण बिरामी र अस्पतालबीचको दूरी बढिरहेको छ । अहिले बिरामीको चाप बढिरहेको छ । बिरामीहरुको एक्सपेटेसन धेरै छ । यो नेपाल सरकारको केन्द्रिय अस्पताल हो । देशभरका मानिसहरु उपचारका लागि यो अस्पताल आउने गरेका छन् ।

करिब डेढ अर्बको उपकरण खरीद
बिरामीको चाप सँगै अस्पतालको सेवा पनि बढेको छ । अहिले हेमोडायलाईसिस २४ सै घण्टा शुरु भएको छ । शल्यक्रियाको दिनहरु बढाइएको छ । अहिले हामीले स्वास्थ्य मन्त्रालयबाट आउने नियमित भन्दा धेरै बजेट प्राप्त गरेका छौं । तत्कालीन स्वास्थ्य मन्त्री सकारात्मक भएकाले यो सम्भव भएको हो । यसबाट हामीले धेरै सेवा सुविधा विस्तारका लागि उपकरण खरीद गर्दैछौं । अस्पतालमा यो बर्ष करिब डेढ अर्बको उपकरण खरीद गरिँदैछ । यसबाट सेवाको स्तर बढ्दैछ । नयाँ सेवा धेरै आउँछन् । यसबाट उपचारको स्तरीयता बढ्छ ।

नयाँ प्रविधि
यो अस्पतालमा युरोलोजी, इएनटी, छालामा लेजर पद्धतिबाट शल्यक्रिया गर्ने सिस्टमहरु भित्र्याउँदै छौं । ग्याँस्टोइन्टेरोलोजीमा इन्टरेस्कोप अल्टासाउन्ड सेवा शुरु गर्न थालेका छौं । यो खरीद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्पतालमा १५ वटा हेमोडाइलाईसिस मेसिन थप्दैछौं । अहिलेसम्म हामीले आईसियूमा भर्ना भएका बिरामीलाई सेवा दिन नसकेकाले आईसियूमा नै डायलाईसिस सेवा शुरु गर्न थालेका छौं । यो अस्पतालमा बिरामी छिरेपछि सम्पूर्ण सेवा दिने हाम्रो सोचाइ हो । बीरमा १ सय २८ स्लाईस सिटी आउँदैछ । पहिला १६ स्लाइसको थियो । सरकारी अस्पतालमा स्तरीय सेवा प्राप्त गर्न सकिन्छ भनेर विश्वास दिलाउनुपर्छ । तर आउने सबैलाई सेवा प्राप्त हुन्छ भन्ने सकिदैन कारण यसमा सिमितताको कुरा पनि जोडिएको हुन्छ ।

विपन्नलाई विशेष प्राथमिकता
बीरमा दैनिक ३० जना भर्ना गराइन्छ । इमर्जेन्सीमा आउने सबै बिरामी भर्ना गर्न जरुरी हुँदैन । आकस्मिकमा आउने करिब ५— १० प्रतिशतलाई भर्ना गर्नुपर्छ । अहिलेसम्म सकेका छौं । नसक्दा एक दुई दिन त्यहाँ राखेर पनि भर्ना गर्छौं । बाहिरका जिल्लाबाट अफोर्ड गर्न नसक्नेलाई विशेष प्राथमिकता दिने गरेका छौं । अहिलेको बजेट भाषणमा पनि बीर अस्पतालको स्तरोन्नतीका कुरा जोडिएका छन् । गुरु योजना बनाएर अघि बढेका छौं ।

दुवाकोटमा पनि बिस्तार हुँदै
दुवाकोटमा बीर अस्पतालको सेवा विस्तार गर्ने योजना छ । दुवाकोटमा साँडे ५ सय रोपनी जग्गा परिसरभित्र नर्सिङ क्याम्पस, आवास र सुविधासम्पन्न अस्पताल बनाउने योजना छ । बीर अस्पतालमा १२ देखि १५ सय वेडको अस्पताल बन्ने र दुवाकोटमा १ हजार वेडको अस्पताल, राष्ट्रिय चिकित्सा प्रतिष्ठानको अफिस बन्ने भन्ने सोचमा कार्यक्रम अघि बढेको छ । गत वर्ष ८० करोड बजेट पाएका थियौं । त्यसमा ५० करोड कर्मचारीको तलब भत्तामा जान्छ । त्यसमा ३० करोडको सामान किन्यौं । हामीले यस बर्ष १ अर्ब ८० करोड रकम पाएका छौं । बीर अस्पताल नेपाल सरकारको केन्द्रिय अस्पताल हो कोही नागरिकले उपचारबाट गर्नबाट बञ्चित हुन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्