दुर्गम ठाउँमा जन्मेका डा. आर.सी.को चिकित्सा फड्को

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2017-11-28 11:39:39

डा. दीर्घराज रोकाया क्षेत्री (आर.सी.) सिभिल सर्भिस हस्पिटलमा कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ कार्यकारी निर्देशक मात्र नभई नेपालको वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ पनि हुनुहुन्छ । अहिलेको कार्य व्यस्तताका कारण उहाँले त्यति धेरै ओपिडी सेवा दिन त भ्याउनुभएको छैन तर क्रित्रिम जोर्नी प्रत्यारोपण (हिप र घुँडा) गर्न कहिल्यै पनि छुटाउनु भएको छैन । कार्यकारी निर्देशक भइसकेपछि करिब ६ महिनाको अवधिमा डाक्टर आर.सी. ले ६५ वटा हिप र घुँडाको जोर्नी प्रत्यारोपण गरिसक्नुभएको छ । प्रत्येक बुधबार र आइतबार शल्यक्रिया हुने गरेको छ ।
अस्पतालको व्यवस्थापकीय जिम्मेवारी र बिरामीलाई गुणस्तरीय शल्यचिकित्सक सेवा दिनुपर्ने जिम्मेवारी एकैपटक अघि बढाउन गा¥ह«ो हुन्छ । डा. आर.सी. भन्नुहुन्छ—‘अफ्ट्यारो त पर्छ । तर अलि धेरै समय दिनुपर्छ । समयलाई व्यवस्थापन गरेको छु । ’
त्यसो त डा. आर.सी. पहिलाको भन्दा अलि धेरै व्यस्त हुनुहुन्छ । उहाँ बिहान ७ बजे घरबाट निस्किसक्नुहुन्छ । बेलुका घर पुग्दा करिब ८ बज्छ । कुन कामलाई कति प्राथमिकता दिने भन्ने ख्याल गरेर काम गर्दा समस्या नहुने डाक्टर आर.सी.को भनाइ छ ।
डाक्टर आर.सी. को पुख्र्यौली घर मध्य पश्चिम जाजरकोट हो । जाजरकोट सदरमुकामबाट करिब २५ कोष यात्रा गरेपछि जन्मथलो पैंक गाउँ पुगिन्छ । भौगोलिक विकटता बोकेको दुर्गम गाउँमा जन्मेर पनि डा. आर.सी. चिकित्सा क्षेत्रतिर आउन सफल हुनुभयो । यसमा उहाँको परिवारको ठूलो भूमिका छ । बिद्यालयस्तरीय अध्ययनमा डा.आर.सी. उत्कृष्ठ हुनुहुन्थ्यो । दुर्गम भएर पनि शिक्षाप्रति रुचि बढ्नुमा आफ्ना हजुरबुबाको महत्वपूर्ण योगदान भएको डा. आर.सी.को भनाइ छ । उहाँको हजुरबुवा हस्तबहादुर रोकाया क्षेत्री ‘काठमाडौंमा गएर पढ्नुपर्छ’ भन्ने आधुनिक सोच र विचार भएका असल व्यक्ति हुनुहुन्थ्यो । ‘आफ्ना बालबालिकालाई राम्रो शिक्षा दिनुपर्छ’ भनेर गाउँमा अनुवाई गर्नुहुन्थ्यो ।
डाक्टर आर.सी.ले १५ वर्षमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । तर जिल्लामा एसएलसी दिने सुविधा थिएन । २०३२—३३ सालतिर सल्यान जिल्लामा गएर एस.एल.सी.को जाँच दिनुभएको थियो ।
एस.एल.सी. मा राम्रो अंक ल्याएका कारण ‘डाक्टर पढ्नुपर्छ’ भन्ने डा. आर.सी.को मनमा लागेको थियो । एस.एल.सी.पछि एक वर्षजति गाउँको विद्यालयमा पढाउनुभयो । त्यसपछि उच्च शिक्षाका लागि राजधानी काठमाडौं आउनुभयो । काठमाडौंमा हेल्थ असिस्टेन्ट अध्ययनका लागि ‘इन्ट्रान्स’ दिएपछि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभयो । हेल्थ असिस्टेन्ट अध्ययन गरेर डा. आर.सी. ले २ वर्षजति आफ्नै जिल्लामा सेवा गर्नुभयो । त्यसपछि शिक्षामन्त्रालय अन्र्तगत छात्रवृत्तिमा नाम निकालेर सोभियत संघ (रुस) मा गएर एम.बि.बि.एस. अध्ययन गर्नुभयो । सो अध्ययन पश्चात आर.सी.ले पाटन हस्पिटलमा डेढ वर्षजति सेवा गर्नुभयो । त्यसपछि लोक सेवाको जाँच पास गरेर सरकारी जागिर शुरु गर्नुभयो । डा. आर.सी. को पहिलो पोष्टिङ भक्तपुर जिल्ला अस्पतालमा भयो । त्यसपछि उहाँलाई आफ्नै गाउँमा सेवा गर्ने इच्छा लागेर जाजरकोट जानुभयो र त्यहाँ उहाँले २ वर्षजति गाउँले बिरामीको सेवा गर्नुभयो । त्यसपछि आफ्नै पैसामा बेतलवी बिदा लिएर बंलादेशमा गएर ढाकामा अर्थोपेडिक सर्जरीमा एम.एस.गर्नुभयो । त्यसपछि बीरगञ्जमा काम गर्नुभयो ।
बीर अस्पतालमा ५–६ वर्ष काम गरेपछि सुपर स्पेसलालिटी गर्ने क्रममा डा. आर.सी.ले नयाँ दिल्लीको एपोलो हस्पिटलमा जोर्नी प्रत्यारोपणको फेलोसिप तालिम लिनुभयो । त्यसपछि बीर अस्पतालमा ज्वाइन्ट रिप्लेसमेन्ट गर्न शुरु गर्नुभयो । बीरको निर्देशक भइसकेका डा.आर.सी.ले काजमा सिभिल हस्पिटलमा काम शुरु गर्नुभयो । अहिले करिव २६० जना जतिको जोर्नी प्रत्यारोपण गरिसक्नुभएको छ ।
नेपालमा जोर्नी प्रत्यारोपण गर्ने चिकित्सकको संख्या कमै छ । ( यो अलि फरक र मूल्य धेरै लाग्ने सर्जरी हो । बिरामी अन्तिम अवस्थामा आइपुग्दा सेवा दिन कठिन पर्ने र विभिन्न चुनौतिबारे डा. आर.सी.भन्नुहुन्छ—‘जोर्नी प्रत्यारोपण गरेपछि राम्रो हुन्छ भन्ने जनचेतनाको अभाव छ । त्यसैले धेरै डराउँछन् ।’ नेपालमा नियमित जोर्नी प्रत्यारोपण गर्न शुरु भएको ७—८ वर्षको मात्र रहेको इतिहास छ ।
आर्थिक अभावका कारण सर्बसाधारण बिरामीहरुले जोर्नी तथा हिप प्रत्यारोपण गर्न सक्दैनन् । एउटा क्रित्रिम जोर्नी र त्यसको प्रत्यारोपणका लागि करिब तीन लाख रुपियाँ जति लाग्छ । गरिब बिरामीहरुले यो धान्न सक्दैनन् । जोर्नी बिग्रेपछि मानिस अपाङ्ग बन्छ । यसले देशको अर्थतन्त्रलाई नै असर पार्छ ।

जोर्नी बिग्रने कारक तत्व
-जोर्नी खिइने (OSTEOARTHRITIS)
– चोटपटक लागेर (POST TRAUMATIC)
– बाथरोग तथा अन्य जोर्नी सुन्निने रोग
– जन्मजात जोर्नी कमजोर हुने
– जोर्नीमा पिप जम्ने (जोर्नी संक्रमण) र क्षयरोग
जोर्नी खिइने समस्या वंशाणुगत पनि हुन्छ । वंशाणुगत कारण करिब ४०—५० प्रतिशत व्यक्तिमा जोर्नी खिइने गरेको पाइन्छ । जोर्नी बिग्रेपछि यसलाई फेर्नु नै मुख्य उपचार हो । जोर्नी प्रत्यारोपण गरेपछि सामान्य तरिकाले जिउन सकिन्छ । यो देशका नागरिकले सहज जिउन पाउनुपर्छ । जोर्नी प्रत्यारोपण नगरेमा मानिस अपाङ्ग हुन्छ । एकपटक जोर्नी प्रत्यारोपण गरेपछि करिब १०—२० वर्षसम्म टिक्छ । जोर्नी प्रत्यारोपण गरेपछि फिजियोथेरापी गर्नुपर्छ । अरु कुनै पथपरहेज गर्नुपर्दैन ।

    Comment Here!