Logo
|
Friday 19th April 2024
Logo

epaper

पहुँचबाहिर बिरामी



यतिखेर सरकारी अस्पतालमा टिकट र वेड ठूलो समस्याको रुपमा देखिएको छ । देशका दुर्गम ठाउँबाट उपचारका लागि आउने काठमाडौंका ठूला सरकारी अस्पताल आफैं बिरामी अवस्थामा छन् ।

कतै बेड समस्या छ भने कतै बिरामीले सहज रुपमा उपचार गर्ने मौका पाउँदैन । सिभिल सर्भिस हस्पिटलमा बिहान निजामति कर्मचारीलाई ५० प्रतिशत टिकट वितरण गरेपछि मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । कर्मचारीलाई पहिला जाँचेपछि मात्र सर्वसाधारणलाई जाँच गर्न शुरु गरिन्छ । दैनिक ओपिडी सेवा लिन आउने करिब ८ सय बिरामीमध्ये ३०—३५ प्रतिशत निजामति कर्मचारी हुने गर्छन् । आकस्मिक सेवाका लागि दैनिक करिब ७० जना बिरामी आउने गर्छन् । तर अस्पतालमा ३५ जनाभन्दा धेरै भर्ना गरेर उपचार गर्ने क्षमता छैन । कतिपयको इर्मेन्सीमा समस्या समाधान भएपनि अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका करिब ३५ प्रतिशत बिरामीलाई वेडको अभावमा अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।
बीर अस्पतालमा दैनिक १६ देखि १८ सय बिरामी बहिरङ्ग उपचार सेवा लिन आउने गर्छन् । इमर्जेन्सी सेवा लिन दैनिक ३ सयको हाराहारीमा आइरहेका छन् । तर आकस्मिकमा २० वटा वेड मात्र रहेका छन् । अहिले अस्पतालमा कुल ४ सय ६० वेड छ । त्यसैले अस्पतालमा आएका सबै बिरामीलाई भर्ना गर्न सक्ने अवस्था छैन । गत वर्षसम्म बीर अस्पतालको तथ्यांकमा ८ सयदेखि १ हजार २ सय सम्म बिरामी बहिरङ्ग सेवाका लागि आउने गर्दथे । अहिले त्यो संख्या बढेर १ हजार ६ सय देखि १ हजार ८ सय पुगेको छ । बिरामीको संख्या बढेकाले सुविधामा चुनौति थपिएको छ ।
त्रि.बि.शिक्षण अस्पतालको आकस्मिक कक्षमा दैनिक डेढ सय बिरामी दैनिक आउने गरेका छन् । आकस्मिकमा शैया नपाएर एउटै बेडमा दुई जना राखेर पनि उपचार गर्नुपर्ने बाद्यता छ । कतिपयलाई ट्रलीमा सुताएर उपचार गर्नुपर्छ । यो चाहिने भन्दा धेरै चाप हो । अहिले त्रि.बि.शिक्षण अस्पतालको इमर्जेन्सी विभागमा ७० वेड रहेको छ । त्रि.बि.शिक्षण अस्पतालमा जम्मा बेड संख्या ६ सय ६३ रहेको छ । ओपिडी बिरामी दैनिक २ हजारको हाराहारीमा हुने गरेको छ । त्यसबाहेक करिब ५ सयले इक्सटेन्डेड हेल्थ सर्भिस (इएचएस) मा ओपिडि सेवा लिने गर्छन् । करिब दैनिक १ सय जना डिस्चार्ज र १ सय बिरामीको भर्ना हुने गर्छ ।

देशका विभिन्न ठाउँमा सुविधासम्पन्न हस्पिटल बनाउनुपर्छ । ति ठाउँमा चिकित्सक जाने वातावरण बनाउनुपर्छ । ठाउँ अनुसार इन्टेन्सिभ दिनुपर्छ । अनि मात्र काठमाडौंमा आउने बिरामीको चाप न्यूनिकरण गर्न सकिन्छ । यसप्रति सरकारले गम्भिर भएर सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्