तातो खोज्दा बिग्रँदैछ फोक्सो

दीपक दाहाल   || प्रकाशित मिति :2017-12-06 04:03:25

फोहोर बालेर तातो खोज्दा बिग्रँदैछ फोक्सो

काठमाडौं- घरवरपर वा सडक सफा राख्न धेरैले जानेको काइदा हो, वरपरको फोहोर जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसँगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले वातावरण प्रदूषित बनाई स्वास्थ्यसमस्या निम्त्याउने क्रम पनि बढेको छ। जनस्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरबाहिरका फोहोर बाल्ने यही प्रचलन वातावरण प्रदूषणको प्रमुख कारण बन्दै गएको छ।

चिसो बढेसँगै विभिन्न स्थानमा जताततै भेटिने फोहोरमा विशेषगरी प्लास्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन् जसलाई बालेर ताप्ने प्रचलन बढ्दै गएको छ । यसो गर्दा निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरहन्छ जसले स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

जर्मनीस्थित इन्स्टिच्युट फर एड्न्भान्स सस्टेनेबिलिटी स्टडिज (आइएएसएस) का अनुसन्धान प्रमुख महेश्वर रुपाखेतीसहितको टोलीले गरेको काठमाडौं उपत्यकाको वायुको गुणस्तरसम्बन्धी अध्ययनले प्रदूषित वायु मध्याह्नपछि मात्रै घट्ने गरेको देखाएको थियो । मध्यान्हसँगै तातेर हलुंगो भएपछि मात्रै त्यो वायु बिस्तारै नगरकोटतिर लाग्ने र त्यहाँबाट बाहिरिने गरेको अध्ययनले देखाएको छ ।

चिसो बढी हुने भएकाले ताप्ने प्रयोजनका लागि बिहान र साँझको समयमा फोहोर बढी बालिने गर्छ । त्यही समयमा चिसो बढी हुने भएकाले निस्केको धुवाँ उपत्यकाबाट बाहिरिन धेरै समय लाग्ने विज्ञ बताउँछन् । साँझ आगो बाल्दा रातभर र बिहान बाल्दा मध्याह्नसम्म सतहमै धुवाँ रहिरहन्छ जुन श्वासप्रश्वासका क्रममा सीधै फोक्सोसम्मै पुग्छ ।

अन्य अध्ययनले पनि उपत्यकामा बिहान ८ देखि ९ बजेसम्म बढी प्रदूषण हुने र मध्याह्नदेखि साँझसम्म घट्ने देखाएका छन् । ‘वर्षभरि हुने प्रदूषणमा यसको हिस्सा ठूलो नदेखिएला तर चिसोमा बिहानको समयमा हुने प्रदूषणको एउटा कारक जथाभावी आगो बाल्नु पनि हो,’ अनुसन्धानकर्ता एवं जनस्वास्थ्यविद् डा. कृष्णकुमार अर्यालले भने ।

सन् २०१५ को अध्ययनअनुसार उपत्यकामा हुने वायु प्रदूषणको प्रमुख हिस्सा सडकको धुलो हो । यसको हिस्सा ३५ प्रतिशत छ । त्यस्तै यातायातका साधनबाट निस्किने धुवाँको हिस्सा ३४ प्रतिशत छ । यसैगरी फोहोर तथा कृषिजन्य अवशेष बाल्नाले २३ र इँटाभट्टाका कारण ६ प्रतिशत र अन्य स्रोतबाट दुई प्रतिशत वायु प्रदूषण भएको पाइएको छ । प्रदूषित हावाको अध्ययन गर्दा प्रदूषित वायुमा सबैभन्दा बढी ब्ल्याक कार्बन छ ।

डा. अर्यालको भनाइमा जनस्तरबाट प्रदूषणका कारक घटाउन प्रयास भए सकारात्मक सुरुआत हुन सक्छ । ‘सरकारले घटाउने कुरा पर्खंदै गर्दा हामीले सक्ने काम गरौं, विशेषगरी प्लास्टिकजन्य फोहोर बाल्न हुन्न, अन्य फोहोर बाल्नैपर्ने अवस्थामा पनि दिउँसो मध्याह्नतिर बाल्नुपर्छ’, डा. अर्यालले भने ।

फोहोर बाल्ने प्रवृत्ति बिहानको समयमा बढी हुने भएकाले स्वस्थ हावा र शारीरिक व्यायामका लागि घरबाहिर निस्किने, बिहानैदेखि काममा जाने र चाँडै विद्यालय जाने बालबालिका बढी प्रभावित भइरहेका छन् ।

यसरी जथाभावी फोहोर बाल्ने प्रवृत्ति घटाउन सरकारले कार्ययोजना ल्याउने निर्णयसमेत गरे पनि प्रभावकारी कार्यान्वयन तथा अनुगमन हुन सकेको छैन । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा सरकारले गत चैत २९ मा मन्त्रिपरिषद्ले वायु प्रदूषण घटाउन २३ निकायको भूमिकासहित गर्नुपर्ने योजना प्रस्ताव गरेसँगै कार्ययोजना बनाएर लागू गर्ने निर्णय गरेको थियो ।  सो कार्ययोजनाको तेस्रो नम्बरमा फोहोर जलाउने कामलाई व्यवस्थित गर्ने बुँदा परेको थियो । कार्ययोजनामा फोहोर जलाउँदा उत्पन्न हुने तŒव वायु प्रदूषणको कारक भएको भन्दै फोहोर नजलाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र फोहोर जलाएको भेटिएमा दण्डित गर्ने उल्लेख गरिएको थियो ।

पछिल्लोपटक ०७४ मंसिर १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा ‘द्रुत कार्यान्वयन’ टोली गठन गर्ने निर्णय गरे पनि ठोस काम भएको छैन । टोलीले खुला क्षेत्रमा फोहोर बाल्ने काम रोक्न पहल गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञका अनुसार यसरी आगो बाल्दा कचौराजस्तो भौगोलिक अवस्थिति भएको उपत्यकाबाट धुवाँ हत्तपत्त निस्किन पाउँदैन । त्यसमा पनि चिसो मौसममा प्रदूषणका कण गह्रौं हुने भएकाले जमिनको सतहवरपर नै बसिरहन्छ । डा. अर्यालका अनुसार प्लास्टिक वा टायरजस्ता सामग्री बाल्दा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, गइअक्सन, फ्युरेनजस्ता तŒव निस्किन्छन् । त्यसमध्ये डाइअक्सन र फ्युरेनजस्ता तŒवले क्यान्सर गराउँछ ।

काठमाडौं उपत्यकाको हावामा श्वास नलीबाट फोक्सोसम्म पुग्नसक्ने पिएम २.५ माइक्रोनभन्दा मसिना कणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी भएको देखिएको छ । संगठनले १० माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम हुनुपर्ने भने पनि काठमाडौंमा औसत ४९ माइक्रोग्राम प्रतिघनमिटर भएको देखाएको छ ।

वायु प्रदूषणले तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रुपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमतासमेत ह्रास गराउँछ ।

विश्वव्यापी रुपमा हावाको खस्किँदो गुणस्तर र जलवायु परिवर्तन सबैभन्दा ठूला चुनौती बनेको छ, जसको परिणाम गुणस्तरहीन हावा, घट्दो भिजिबिलिटी, बालमृत्यु, श्वासप्रश्वासजन्य समस्या बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०१४ को रिपोर्टअनुसार प्रदूषणका कारण विश्वभर प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुन्छ । यसमा घरभित्रको र घरबाहिरको प्रदूषणको हिस्सा बराबरी छ । विश्व बैंकको सन् २०१६ को एक रिपोर्टले नेपालमा वायुप्रदूषणका कारण प्रत्येक वर्ष २२ हजार हाराहारीमा ज्यान जाने गरेको देखाएको थियो । —नागरिक दैनिकबाट

    Comment Here!