Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिरामीबाट चर्को शुल्क लिएको भन्दै न्युरो र बयोधालाई तीन दिनभित्र उपस्थिति हुन निर्देशन



काठमाडौंको बाँसबारीस्थित नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड इलाइड साइन्सेज र बल्खुस्थित बयोधा हस्पिटलले बिरामीबाट चर्को शुल्क असुलेको भन्दै तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बुधबार गरेको अनुगमनमा सेवा शुल्कसँगै बिरामीलाई स्वास्थ सेवा कर तिर्न बाध्य पारेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिइएको हो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार, न्युरो हस्पिटलमा अनुगमन गर्दा स्वास्थ सेवा करको अतिरिक्त सर्भिस चार्ज १० प्रतिशत तिर्न बाध्य पारेको भेटिएको थियो । अनुगमन टोलीले सर्भिस चार्ज लिनुको कारणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागका अनुसार बयोधाले बिरामीबाट १३ प्रतिशत भ्याट, १० प्रतिशत नर्सिङ सेवा शुल्क लिएको छ । अनुगम टोली दिपक पोखरेलका अनुसार गरिब र असहाय तथा बिपन्न वर्गका लागि १० प्रतिशत बेड छुट्याएको भेटिएन । अस्पताल व्यवस्थापनले बेड चार्ज, डक्टर चार्जलगायत शुल्क लिई बिलमा १० प्रतिशत नर्सिङ शुल्क जोडेको पाइएको थियो । ‘त्यसमा पनि १३ प्रतिशत भ्याट लिएको भेटियो’ उहाँले भन्नुभयो ‘सरकारी आरक्षण कोटा छुट्याएको छैन ।’ बढी शुल्क र आरक्षण कोटा नछुट्याएको सम्बन्धमा तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

विभागका बजार अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार, बिपन्न परिवारलाई दिइने सुविधा स्वास्थ्य सेवा विभागसँग समन्वय गरी कार्यान्वयन गरिने छ । उहाँका अनुसार, अस्पताल सञ्चालकसँगको स्पष्टीकरणपछिस्वास्थ्य सेवा विभागसँग छलफल गरेर कानुनी प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्