यस्तो छ हृदयघातको कारक तत्व

डा.प्रेम राज बैद्य, कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर || प्रकाशित मिति :2017-12-15 04:44:15

मुटुको कुनै पनि धमनीहरुमा सत् प्रतिशत अवरोध भई मुटुको मांसपेशीकाले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनुलाई हृदयघात भनिन्छ ।
मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएर भएको हृदयघात प्राणघातक पनि हुन सक्छ भने कहिलेकाँही साना धमनीहरुको अवरोध भएर भएको हृदयघात मानिसहरुलाई थाहा नहुन पनि सक्छ । तर ठुलो धमनिमा अवरोध भएमा छातिको बीचमा वा देबे्रतिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिट चिटपसिना आउछ, वाकवाकलाग्ने र बेहोस पनि हुनसक्छ ।
उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमा नै नियन्त्रणमा राख्न सकेमा ५० प्रतिशत हृदयघातबाट जोगिन सकिन्छ । मोटोपन कम गर्ने व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवनशैलीमा सुधार ल्याउने हो भने समयमा नै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
जनचेतनाको कमी र यो रोगका साधारण लक्षणहरु मात्र देखिने भएकाले समयमा नै यो रोगको निदान गर्न निकै कठिन भएको छ ।
हृदयघात हुनु भन्दा अगाडि साधारण लक्षण मात्र हुन्छ । जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्या¨ उक्लदा, मानसिक तनाव वढेको अवस्थामा छातिको बीचमा वा देबे्रतिर भारी हुने, ढु¨ाले थिचेजस्तो अनुभव हुने, स्वाँ स्वाँ वढ्ने तर आराम गरे पछि सन्चो हुने गर्छ । कहिलेकाँही देव्रे हातमा वा च्यापु तिर पनि दुखाई सरेको जस्तो हुन सक्छ ।
यस्तो अवस्थामा तुरुन्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरुरी छ । अधिकांश मानिस यसलाई सामान्य सोचेर घरमै बसिरहन्छन् र अन्त्यमा हृदयघातको शिकार बन्छन् ।
हृदयघात भइसकेपछि उपचार सहज हुँदैन । देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ । किनकी पहिलो हृदयघातले नै ज्यान लिनसक्छ ।
तसर्थ वयस्कहरुले हरेक बर्ष पटक आफ्नो मुटुको परीक्षण गराउन आवश्यक हुन्छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गराउनु्पर्छ किनकी हालसम्म हृदयघातको मुख्य कारण पत्ता लागेको छैन । यसका कारक तत्व मात्र थाहा छ ।

हामीले परिवर्तन गर्न नसक्ने कारक तत्व
उमेर– उमेर बढ्दै जाँदा हृदयघातको खतरा पनि बढ्दै जान्छ ।
लिंग– पुरुषको जतिको महिनाबारी सुकेका महिलाहरुमा पनि हृदयघातको जोखिम बढी हुन्छ ।
बंशाणुगत– हृदयघात वंशाणुगत पनि हुनसक्छ ।

परिवर्तन गर्न सकिने कारक तत्व
– धुम्रपान
-उच्च रक्तचाप
– मधुमेह
-उच्च कोलेस्टेरोल
– व्यायामको कमी
-मानसिक तनाव
-जीवनशैली
– जनचेतना
– मोटोपन
– नियमित स्वास्थ्य परीक्षण

मुटुको धमनीको अवरोध कसरी थाहा पाउने ?
उल्लेखित लक्षण देखिएमा तुरुन्त रेष्ट इसिजी (इलेक्ट्रोकार्डियोग्राम) गर्नुपर्छ । इसिजीमा केहि समस्या देखा परेमा वा देखानपरे पनि एक्सरसाइज इसिजी, टिमटी (ट्रेडमिल टेष्ट) वा स्ट्रेस इकोकार्डियाग्राफी गर्नुपर्ने हुनसक्छ । टिएमटी पोजेटिभ भएमा सिएजी (कोरोनरी एन्जियाग्राफी) गर्नुपर्छ ।
यदि टिएमटी गर्न नसक्ने अवस्थामा वा टिएमटी निगेटिभ भएमा पनि मुटुको धमनीको रोगका लक्षणहरु छन् भने कोरोनरी एन्जिओग्राफी गर्नुपर्छ । सिएजीबाट मात्र कति अवरोध छ कि छैन भनेर हेर्न सकिन्छ । थालिएम टेष्ट र स्ट्रेस इकोकार्डियोग्राफीबाट हृदयघात भएपछि मायोकार्डियम भायोबिलिटी हेर्न सकिन्छ ।
आजकाल कोरोनरी सिटी एन्जिओग्राफीबाट क्याल्सियम स्कोर र अवरोध पनि हेर्न सकिन्छ ।
जब मुटुको धमनी ७० प्रतिशत भन्दा बढि अवरोध भएमा एन्जिओप्लाटी वा कोरोनरी बाइपास ग्राफ्टिङ गर्नुपर्छ ।
यदि ७० प्रतिशत भन्दा कम अवरोध भएमा नियमित जाँच र औषधि सेवन गर्नुपर्छ । यसका साथै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ ।

    Comment Here!