जो देख्नुहुन्छ मुटु रोग रोकथाममा एक्सनको जरुरी

प्रा. डा. दिवाकर शर्मा, कन्सल्टेन्ट कार्डियोलोजिष्ट || प्रकाशित मिति :2017-12-17 04:43:50

प्रा.डा. दिवाकर शर्मा अहिले सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट एवं शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोलोजी विभागको प्रमुख हुनुहुन्छ । नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) मा कार्डियोलोजीको प्राध्यापक पनि हो । उहाँले सन् १९९९ मा चीनको सन यात्सेन विश्वविद्यालयबाट कार्डियोलोजीमा एमडी गर्नुभएको हो । त्यसपछि उहाँ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत हुनुहुन्छ । यो क्षेत्रमा उहाँले करिब १८ वर्ष काम गरिसक्नुभएको छ । कार्डियोलोजीका विभिन्न विधामध्ये उहाँको विषय नन इन्भेजिब कार्डियोलोजी हो । प्रिभेन्टिभ कार्डियालोजी, रिसर्च, रिह्याबिलिटेसनलगायतमा पनि उहाँको राम्रो अनुभव छ । नन इन्भेजिव कार्डियोलोजी र मुटु रोगीको अध्ययन तथा अनुसन्धानमा योगदान पु¥याएवापत् उहाँलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले पुरस्कृत गरेको छ । उहाँ कार्डियाक सोसाइटी अफ नेपालको उपाध्यक्ष हुनुहुन्छ । प्रा.डा शर्माले नेप्लिज हार्ट जर्नलको चिफ एडिटर भएर काम गरिसक्नुभएको छ । प्रा.डा शर्मासँग पत्रकारिताको पनि केही अनुभव छ । गंगालाल प्रवेश गर्नुभन्दा पहिले उहाँहरुले फेमिली डाक्टर भन्ने मासिक पत्रिका शुरु गर्नुभएको थियो । उहाँ यसको चिफ एडिटर हुनुहुन्थ्यो । मुटु रोगबारे डा. शर्माले भन्नुभएका कुरा उहाँकै शव्दमा

?

बढ्दो जनचेतना
विश्वमा एक तिहाइ मानिस मुटु र रक्तनलीसम्बन्धि रोगका कारण मर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । रक्तनलीका रोगहरुमा विशेषगरी हृदघात र स्ट्रोक मुख्य रहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२५ सम्ममा मुटु र रक्तनलीबाट हुने मृत्युमा २५ प्रतिशतले कमी ल्याउनुपर्ने बताएको छ ।
शुरुका दिनहरुमा १० जना बिरामी आउँदा धेरै जस्तो लाग्ने गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अहिले दैनिक ५ सय देखि ७ सयसम्म ओपिडीमा मुटुका बिरामी आउने गरेका छन् । एक वर्षमा करिब ६० हजार भन्दा धेरै इकोकार्डियाग्राफी हुने गर्छ । संख्याको हिसाबले यो धेरै नै हो । त्यस्तै, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गर्भमा रहेको शिशुको मुटु जाँच्ने प्रविधि फेटल इकोकार्डियाग्राफी सेवा पनि उपलब्ध छ । यसबाट बच्चा जन्मनु पहिले नै मुटुमा समस्या भएनभएको पत्ता लगाउन सकिन्छ ।
क्याथल्याबमा गरिने पिटिसिए (प्राइमेरी पिसिआई) प्रोस्युडर एक महिनामा एक सय देखि एक सय ५० वटा हुन्छ । रेडियो फ्रिक्वेन्सी एब्लेसन, एरेद्मिया, पेसमेकर गंगालालमा ठूलो संख्यामा हुन्छ । मुटुको साँघुरिएको भल्भ खोल्ने प्रविधिको सेवा धेरै वर्षदेखि गंगालालमा निःशुल्क उपलब्ध छ ।

डाक्टर र स्वास्थ्य पत्रकारिताबीचको सम्बन्ध
स्वास्थ्य पत्रकारिता बिरामीलाई जनचेतना अभिवृद्धि गर्नका लागि हो । यसका लागि हामी सहकार्य गरेर अघि बढ्न सक्छौं । डाक्टरले धेरै प्रचारमुखी पनि हुन हुँदैन भन्ने पनि लाग्छ ।

हृदयघातको लक्षण नचिन्दा
अहिले पनि धेरैलाई मुटु पेटको माथिल्लो भागमा हुन्छ भन्ने भ्रम छ । मानिसमा स्वास्थ्यसम्बन्धि चेतना निकै कम छ । विदेशका कतिपय देशमा आफ्नै भाषामा पढाइ हुन्छ । अलि अलि पढेका व्यक्तिलाई पनि स्वास्थ्यको चेतना छ । गाउँमा मात्र होइन शहरमा पनि स्वास्थ्यसम्बन्धि जनचेतनाको एकदमै कम छ । राज्यले स्वास्थ्य जनचेतना अभिवृद्धिका लागि धेरै लगानी गरेको छैन । तर थेरापेटिक अर्थात मुटु उपचारको पाटोमा निःशुल्कलगायत राम्रो उपचार सेवाको व्यवस्था गरेको छ । अमेरिकालगायतका विकसित देशहरुमा कोरोनरी आर्टरी सम्बन्धि रोग घट्नुमा रोकथामलाई धेरै प्राथमिकता दिएकै कारण हो ।

एक तिहाइको तत्काल मृत्यु
हृदयघातसम्बन्धि एउटा तथ्यांक के छ भने हृदयघात भएका एक तिहाइ मानिसको अस्पताल पुग्न नपाई मृत्यु हुन्छ । अस्पताल पुगेका १० प्रतिशतको उपचार गर्दा गर्दै मृत्यु हुने गर्छ । यसरी हेर्दा हृदयघात धेरै गम्भीर प्रकारको समस्या हो । जति चाँडै अस्पताल पुग्न सक्यो त्यति नै बढी बिरामी बाँच्ने सम्भावना रहन्छ । हामीकहाँ धेरैजसो मानिस हृदयघातको लक्षण नचिनेर अस्पताल पुग्न ढिला गर्छन् । त्यसैकारण मुटु रोगसम्बन्धि जनचेतना बढाउन एकदमै जरुरी छ ।

मुटु स्वास्थ्यको अवस्थामा कसरी ल्याउने सुधार ?
यसमा इन्टिग्रेटेड एप्रोच चाहिन्छ । रोकथामका लागि जनचेतना अभिवृद्धिका साथै आवश्यक एक्सन (काम) पनि चाहिन्छ । एक्सन भन्नाले सार्वजनिक ठाउँमा धुम्रपान गर्न नपाउने, जंक फूडको मोनिटोरिग, खेलकुद गर्न पार्क मैदानको व्यवस्था, हावा स्वच्छलगायतका सुविधा हुनुपर्छ । यसका साथै स्वास्थ्य परीक्षणका लागि आवश्यक स्वास्थ्य संस्थाको उपलब्धता हुनुपर्छ । युरोपियन मुलुकहरुमा जस्तै स्वास्थ्य र शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ ।

    Comment Here!