क्यान्सर पीडित शिक्षकको उपचारको लागि चेक हस्तान्तरण
क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पु¥याउन मंगलबार रु ५२ हजारको चेक हस्तान्तरण गरिएको छ ।
शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो ।
जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी र नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले क्यान्सरबाट पीडित शिक्षकको परिवारलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
शिक्षक पोख्रेल चार वर्षदेखि क्यान्सरबाट पीडित रहँदै आउनुभएको छ । उपचारका लागि उहाँको आर्थिक अवस्थाले नभ्याएपछि शिक्षक कल्याणकारी कोषबाट रकम सहयोग गरिएको हो ।
सो अवसरमा जिल्ला शिक्षा अधिकारी भण्डारीले शिक्षक कल्याणकारी कोष स्थापना भएपछि गरिब र रोगका कारण पीडित बनेका शिक्षकलाई उपचारमा राहत मिलेको बताउनुभयो । कोषको स्थापना भएपछि बिरामी परेका शिक्षकलाई उपचारमा राहत मिल्दै गएकोे बताइएको छ । रासस