Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य शिविरबाट पन्धसयभन्दा बढी लाभान्वित



म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् ।

हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा दरवाङस्थित लायन्स र लियो क्लबको आयोजनामा संयुक्तरुपमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविर सञ्चालनका लागि बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल मलेसियामा व्यवसाय गर्नुहुने दीपक बोगटीले दिवंगत बुबा ओमबहादुर र भाइ लोकेश बोगटीको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको थियो ।

आँखासम्बन्धी ७०२ र अन्य स्वास्थ्य समस्या भएका ८५७ जनाले सेवा लिएका लायन्स क्लब अफ दरवाङ म्याग्दीका अध्यक्ष याममती रोकाले जानकारी दिनुभयो । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई निःशुल्क र सहजरुपमा गाउँमै शल्यक्रियासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

छयालीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । एक जनाको सामान्य शल्यक्रिया र एक जनालाई शल्यक्रियाका लागि पोखरा रिफर गरिएको छ । शल्यक्रियापछि आँखा देख्ने भएकोमा मालिका गाउँपालिका–६ दिच्यामका १०४ वर्षीय अमलाल न्युरेले प्रशन्नता व्यक्त गर्नुभयो ।

यसैगरी, बृहत् स्वास्थ्य शिविरमा ३८ जनाले दाँत भरेको, १०० जनाले ल्याब, ४५ जनाले एक्सरे, ९० जनाले मुटुको इसिजी, ५० जनाले पाठेघरको मुखको क्यान्सरको जाँच र ५० जनाले पाठेघरमा रिङ राखेका छन् ।

हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङ, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेन्द्र पौडेल, तिलक गौतम, कृष्ण कँडेल र विजय अधिकारीसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, परामर्शका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा थम्मन गौतममार्फत रु चार लाख र एसआर फर्माका सञ्चालक गुन बुढामार्फत रु तीन लाख ५० हजार बराबरको औषधि उपलब्ध गराइएको थियो ।

शिविरमार्फत दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सुविधाका बारेमा प्रचारप्रसारमा समेत सहयोग पुगेको प्रमुख चिकित्सक पौडेलले बताउनुभयो । मालिका, मंगला र धौलागिरि गाउँपालिकाका सबैजसो वडाका बासिन्दाले शिविरबाट सेवा लिएका लियो क्लब अफ दरवाङका अध्यक्ष विमल शर्माले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्