Logo
|
Friday 29th March 2024
Logo

epaper

ऋण काढेर सामुदायिक स्वास्थ्य भवन निर्माण



कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् ।

स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु चार लाखमा भवन निर्माण गरिएको हो । स्थानीयस्तरबाट रकम संकलन हुने आशमा उधारोमा सामग्री खरिद गरी भवन निर्माण गरिएको छ । स्थानीयस्तरमा सहयोग संकलन नभएपछि समितिका संयोजक भण्डारी अप्ठेरोमा पर्नुभएको छ ।

सहयोग पाउने आशमा भवन बनाइयो, ऋणमा परियो, उहाँले भन्नुभयो, “सहयोग नपाईएपछि ऋण तिर्न गाह्रो भएको छ ।” सामुदायिक वन र निर्माण व्यवसायीबाट सहयोग हुने आशा राखिएको थियो । तीन चारवटा सामुदायिक वनले सहयोग गर्ने इच्छा देखाएका थिए ।

भवन निर्माणपछि समितिका संयोजक भण्डारी कृष्णपुर नगरपालिका तथा जिल्ला समन्वय समितिमा सहयोगका लागि पुग्नुभएको छ । विभिन्न कार्यक्रममा समेत उहाँले भवन निर्माणको रकमको व्यवस्था गरिदिन भन्दै कुरासमेत राख्दै आउनु भएपनि हालसम्म ऋण तिर्नका लागि रकम पाउनुभएको छैन ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालले सहयोग गर्ने आश्वासन दिनुभएको छ । भण्डारीले नगर प्रमुख हमाललाई भवन निर्माण गर्नका लागि लिएको ऋण तिरिदिनका लागि निवेदन दिनुभएको छ । नगर प्रमुखले ऋण तिर्नका लागि सहयोगको आश्वासन दिएको उहाँले बताउनुभयो ।

स्थानीयलाई गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सामुदायिक स्वास्थ्य केन्द्र बनाउने पहल गरिएको थियो । स्वास्थ्य विभागले गत वर्ष दोमिल्लामा सामुदायिक स्वास्थ्य एकाइ बनाउने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्