Logo
|
Friday 29th March 2024
Logo

epaper

चौरासी वर्षमा ज्योति पाएपछि तामाङले पाए नयाँ जीवन



 इलाम नगरपालिका–८ का ८४ वर्षीय जैइबहादुर तामाङले मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाउनु भएको लामो समय भइसकेको थियो ।

उज्यालो संसारबाट धेरै समय टाढा रहनुभएका तामाङले हालै इलाममा भएको शल्यक्रियापछि पुनः आँखा देख्न थाल्नु भएको छ भने उहाँले पुनर्जीवन नै पाएको अनुभव गर्नुभएको छ ।

आँखा नदेखे पनि डाक्टरले आँखा झिकिदिन्छन् भन्ने डरले उपचार नै गराउन नजानु भएका तामाङलाई भतिजी चन्द्रकलाले बल्ल बल्ल आँखा शिविरमा ल्याउनुभएको थियो ।

उपचारका लागि उहाँलाई नेपाल नेत्र ज्योति संघ, इलाम र विराटनगर आँखा उपचार केन्द्र, विराटनगरद्वारा इलाम सदरमुकाममा सञ्चालित मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रिया शिविरमा उहाँले नै ल्याउनुभएको थियो ।

उपचारमा ल्याउँदा बाटोमा समेत आँखा हराउँछ भन्ने डर उहाँमा थियो । भतिजी चन्द्रकलाले भन्नुभयो – “बाटोमा समेत सारै डराउनु भएको थियो, आँखा छाम्दै–छाम्दै आउनुभको हो ।”

आँखाको उपचार त के, उहाँ आँखा जाँच गर्न नै डराउनु हुन्थ्यो । मंगलबार पनि उहाँले उपचार गराउन नमानेपछि डाक्टर मनिष पाण्डेको टोली नै लागिपरेर जबर्जस्ती जस्तै गरी शल्यक्रिया गरेको थियो ।

बिहान एउटा आँखामा पट्टि बाँधेर अस्पताल परिसरमा देखिएका तामाङ निकै निरास देखिनुहुन्थ्यो । उहाँको मनभरि निराशा छाएको थियो भने डाक्टर मनिषदेखि उहाँ रिसाउनु नै भएको थियो । उहाँकी भतिजीदेखि त झन् धेरै रिसाएर बर्बराउन नै थाल्नुभएको थियो ।

रिसाएका तामाङलाई डाक्टरको टोलीले अन्य २४ जना शल्यक्रिया गरेको टोलीसँगै जब कुर्सीमा राखियो । उहाँको सहाराका रुपमा रहेको लठ्ठी एकातिर राखियो । तामाङलाई आफ्नो लठ्ठी कहाँ छ भन्ने नै थाहा थिएन ।

डाक्टर पाण्डेले आँखा सफा गर्दै आँखा खोल्न आग्रह गर्नुभयो । तामाङले आँखा त खोल्नुभयो, तर चम्किलो अनुहार लगाएर टोलाइ मात्र रहनुभयो । उहाँकी भतिजी आएर सोध्नुभयो “म को हो ?” तामाङ एकै छिन टोलाउनुभयो । अनि आफ्नो असीम खुशी छल्काउने गरी भन्नुभयो “उम्…. नानी…..”, त्यसपछि सबैको हाँसो गुन्जियो, सबैमा खुशी छायो ।

तामाङलाई डाक्टर मनिषले सोध्नुभयो – “म को हो ?” तामाङले खुशी भएर हेर्दै “नमस्कार डाक्टर !” भन्नुभयो । डाक्टर मनिषको मुहारमा पनि खुशी छल्केको थियो । तामाङले सबैलाई पालैपालो हेर्दै नमस्कार गर्न थाल्नुभयो । डाक्टर मनिषले उहाँको छेउमा गएर मोबाइल निकाल्दै उहाँलाई देखाउँदै सेल्फी खिच्न आग्रह गर्नुभयो ।

जब उपचार भयो, कसोकसो गर्दा उहाँले आफ्नो जुत्ताको लेस खुस्केको थाहा पाउनुभयो । अनि बोली पनि नबुझिने गरी कराउन थाल्नुभयो । तामाङकी भतिजी सो बेला बाहिर जानुभएको रहेछ । जुत्ताको लेस हेर्दै कराउन थालेपछि अर्का एक अधबैंसेले उहाँको लेस बाँधिदिन खोज्नुभयो । तामाङ अझ झाँेक्किएर आफ्नो लेस आफैँ बाँध्ने बताउनुभयो । लामो समयदेखि अर्कैले कपडा लगाइ दिने, अर्कैैले नुवाइधुवाइ गरिदिने र लगभग परनिर्भर जस्तै तामाङले जुत्ताको लेस आफैँ बाँध्नुभयो ।

भतिजीले उहाँको बारेमा बताउन थाल्नुभयो, डाक्टर र उपस्थित सबै छक्क परे । फिल्मी शैलीमा जस्तै अचानक उहाँमा आएको परिवर्तनले डाक्टर र उहाँका आफन्तजनमा समेत खुशीयाली छाएको थियो ।

यति छिटो यस्तो परिवर्तन हुन्छ भन्ने नसोच्नु भएकी भतिजीले समेत छक्क पर्दै भन्नुभयो, “पहिले नै उपचार गराउन जाउँ भन्दा कुट्न खोज्नुहुन्थ्यो ।” डाक्टर मनिष पाण्डे नेतृत्वको टोली पनि दंग प¥यो । धेरै यस्ता उपचार गराए पनि यो उपचारले डाक्टर हुनुमा गौरव महसुस भएको उहाँले बताउनुभयो ।

जब शिविरमा डाक्टरले जाँच गर्न थाले तबसम्म पनि आँखा देख्न सक्छु भन्ने विश्वास आफूमा नपलाएको तामाङले बताउनुभयो । आँखाको शल्यक्रिया पछि उहाँले संसारको उज्यालो जब अलिअलि देख्न थाल्नुभयो, तब तामाङले पहिला नै किन उपचार नगरेको भन्ने पश्चाताप आफूमा छाउन थालेको बताउनुभयो । उहाँले शिविरबाट नयाँ जीवन पाएको महसुस गरेको बताउनुभयो ।

इलाम अस्पतालमा मंगलबार बिहान देखिएको यो दृष्यले सबै मोतियाबिन्दुका बिरामीलाई शल्यक्रिया गरे आँखाको ज्योति फेरि फर्कने रहेछ भन्ने विश्वास गर्न ठूलो मद्दत पुगेको छ ।

तामाङको एउटा आँखाको मात्र शल्यक्रिया गरिएको छ । अब उहाँ आफैँ अर्को आँखाको शल्यक्रिया गराउन तम्तयार देखिनुभएको छ ।

उमेर बढेसँगै मानिसमा मोतियाबिन्दु हुने डाक्टर मनिष पाण्डे बताउनुहुन्छ । उहाँले मोतियाबिन्दुको निश्चित औषधि नभएको बताउँदै उत्तम विकल्प भनेको शल्यक्रिया नै भएको बताउनुभयो ।

इलाममा मोतियाबिन्दु भएकाका लागि तीनदिने निःशुल्क शिविर भइरहेको छ । सोमबारदेखि सुरु भएको शिविर बुधबार सकिएको छ ।

पहिलो दिन २५ जना र दोस्रो दिन ३१ र तेस्रो दिन १९ को निःशुल्क शल्यक्रिया भएको आयोजक नेत्रज्योति संघ, इलामका सहसचिव प्रकाश भट्टराईले जानकारी दिनुभयो । शिविरमा एक हजार ५०० भन्दा बढीले आँखा जाँच गराएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्