Logo
|
Tuesday 16th April 2024
Logo

epaper

ढिला उपचारले आँखा गुम्‍नसक्ने



स्याङ्जाका २२ वर्षीय सविन बोगटीका दुवै आँखाले जन्मजातै देख्दैनथे । तर उनका परिवारले उनको आँखाको यो अवथा उनी पाँच वर्ष पुगिसकेपछि मात्र पत्तो पाए ।
आँखाको उपचार गर्ने क्रममा उनी सात वर्ष पुगेपछि मात्र तिलगंगा आँखा अस्पताल पुगे । त्यसको चार वर्षपछि यो अस्पतालमा आँखा विशेषज्ञ डा। लिना वज्राचार्यले आँखामा नानी प्रत्यारोपण गरे । शल्यक्रियाको पहिलो दिन नै आँखाको सेतोपट्टि देखे । भोलिपल्ट पट्टि खोल्दा पहिलो पटक डा। लिनाको मुहार देख्दा उनी चकित परे । ‘पहिला स्कुल जान्थें, अरुले बेन्चमा बस भन्थे, बस्थें । बेन्च कस्तो हुन्छ थाहा थिएन । देख्नु र सुन्नुमा धेरै फरक रहेछ,’ बोगटीले पहिलो पटक संसार देख्नुको अनुभव सुनाए ।
तिलगंगा आँखा अस्पतालले नै २०६८ मा देवे्र आँखामा नानी प्रत्यारोपण गरे । त्यो दिनदेखि सविन दुवै आँखाले संसार नियालेका छन् । उनलाई आँखाको नानी भने नेपाल आँखा बैंकले उपलब्ध गराएको थियो ।
आँखाको नानी प्रत्यारोपण भएकाले गुमिसकेको दृष्टि पाउन सफल भएका छन्, २७ वर्षीय विदुर लामिछाने । विदुरको १४ वर्षकै उमेरदेखि आँखामा ‘कराटोकश’ भन्ने आँखासम्बन्धी रोग लागेपछि उनको आँखाको दृष्टि गुम्दै गएको थियो । लामो समयसम्म आँखाको लेन्स प्रयोग गरे । तैपनि समस्या थपिँदै गएपछि उनलाई तिलगंगा आँखा अस्पतालकै चिकित्सकले नै नानी प्रत्यारोपणको उपचार गरे । १८ महिनाअघि देव्रै आँखामा नानी प्रत्यारोपण गरेका हुन् । केही समयपछि दाहिने आँखामा प्रत्यारोपण गर्ने तयारीमा छन् । नानी प्रत्यारोपण हुनुअघि लामिछानेलाई पढ्न मन लाग्थ्यो पढ्न सजिलो थिएन । ‘लेन्स नलगाउँदा केही देख्दिनथें, पढ्न मन लाग्थ्यो भनेजति पढ्न पाउँदिनथें,’ उनले भने । लेन्सको मूल्य महंगा थिए । ६ वर्षपछि लेन्सले पनि काम गरेन । आँखाको नानी प्रत्यारोपणपछि उनले भरपर्दो आँखा पाएका छन् । अहिले उनी एलएलबी पढ्दैछ ।
अरूले मृत्युपछि दिएको आँखाको नानीको कारण आफुले दृष्टि पाएकाले यी दुवै जना चिनेजानेकालाई आँखा दानको लागि सिकाउँछन् । आँखा बैंकमा फारम भर्न पठाउँछन् । मृत्युपछि उनीहरूको आँखा खेर नजाऊन् र कसैले खेर जान लागेको आँखाको नानी पाए भने आपूmले जस्तै आँखा देख्न पाउन् ।
‘मेरो परिवारको सदस्यलाई आँखा दानको लागि फारम भराइसकेको छु,’ लामिछानेले भने । उनीहरू आपूm जस्तै कुनै न कुनै कारणले आँखा गुमाएकाहरूले आँखाको नानी पाऊन् र संसार देख्न पाऊन् भन्ने सन्देश दिन चाहन्छन् । यी दुवै दृष्टि प्राप्त युवाहरू शनिबार नेपाल आँखा बैंकले आयोजना गरेको श्रद्धान्जली समारोहमा सहभागी हुन राजधानी आएका हुन् ।
तिलगंगा आँखा कार्यक्रमअन्तर्गत आँखा बैंकले मृत्यु भएका मानिसका आँखाको नानी (क्रनियाँ) निकालेर संकलन गर्छ । दृष्टि गुमाएकामा पालैसँग प्रत्यारोपण गर्दै आएको छ । बैंकले १२ हजार ५ सय जनामा आँखाको नानी प्रत्यारोपण गराइसकेको छ । बैंकमा ७० हजारले मृत्युपश्चात आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । अहिले आँखा दान गर्नेको संख्या दोब्बर भएको नेपाल आँखा बैंकले जनाएको छ । विभिन्न कारणले दृष्टि गुमाएकाहरू आँखाको नानी प्रत्यारोपणको पर्खाइमा छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्