Logo
|
Thursday 28th March 2024
Logo

epaper

आँखादान महादानः आँखा दान लिने र दिनेको कहानी



काठमाडौंको तिलगंगास्थित नेपाल आँखा बैंकले मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नुहुने व्यक्तिहरुको सम्झना र सम्मानमा सामुहिक श्रद्धाञ्जली–सभा को आयोजना गरेको छ ।
दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नुहुने व्यक्तिहरुका परिवारको उपस्थितिमा सो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो । हरेक वर्ष पुस १५ गते सामुहिक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिँदै आएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान संचालक समितिका सदस्य श्री शम्भु तामाङ्गको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार श्री हरिवंश आचार्यले वहाँको पत्नि स्व.मिरा आचार्यको मृत्यु परयन्त दान गरेको आँखाले कोही दुई जनाबाट हेरिरहनुभएकोले हालसम्म पनि वहाँको श्रीमती जिवितै छिन् र म लगायत हामी सबैलाई हेरेर हासिँरहनुभएको जस्तो लाग्छ भन्नुभयो । तसर्थ हामीले अन्धविश्वासमा नरही हाम्रो मृत्युपश्चात हाम्रो शरिरबाट काम लाग्ने आँखाको नानी लगायत अन्य अगंहरु पनि दान गर्ने संस्कृतिको विकासको थालनी गरौ भन्नुभयो ।
उक्त कार्यक्रममा यस वर्ष २३५ जनालाई आँखाको नानी प्रत्यारोपण गरी पूःन दृष्टि दिलाउने विराटनगर आँखा अस्पतालका निर्देशक डा. संजय सिंहले एकजनाबाट आँखाको नानी प्राप्त गर्यौ भने चार जना दृष्टिविहिनलाई दृष्टि प्रदान गर्न सक्ने प्रविधिको विकास भएको र यसको लागि नेपाल आँखा बैंकले गरिआएको आँखाको नानी संकलन सराहनीय भएको उल्लेख गर्नुभयो । यसैबाट सिकेर आँखा बैंकको समन्वयमा विराटनगर लगायत पूर्वाञ्चलमा पनि आँखाको नानी संकलन र प्रत्यारोपण सेवा सुविधा उपलब्ध गर्दै जाने उहाँले प्रण गर्नुभयो ।
वि.पि नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगंजका कर्निया विभाग प्रमुख डा.मिनु चौधरीले आँखा दान गर्नु गराउनुको साथै आँखाको नानी प्रत्यारोपण विशेषज्ञको सेवा सुविधालाई अझ नेपालको सबै क्षेत्रमा उपलब्ध गर्न आँखाको नानी रोग विशेषज्ञको जनशक्ति बढाउनुपर्ने र आँखा नानी प्रत्यारोपण शल्यक्रियाको लागि श्रोत, साधन र उपकरणको पनि आवश्यक मात्रामा उपलब्ध गर्न सरकारले ध्यान दिनुपर्ने कुरा राख्नुभयो ।
नेपाल आँखा बैंकको लागि साइट लाइफ अमेरिकाकी प्रोगाम म्यानेजर तथा प्रतिनिधि राखी नाथवटले आँखा दानसम्बन्धी भएको बृहत कार्यक्रम विश्वमै विरलै हुने भएकोले यो अभियानलाई आदर्शको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले नेपाल आँखा बैंकलाई अन्तराष्ट्रिय स्तरको बैंक सम्बन्धि तालिम केन्द्रको रुपमा विकास गर्न पहल गर्ने वचन दिनुभयो ।
लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथका अध्यक्ष बिमल श्रेष्ठले पशुपतिबाट शुरु गरेको मृत्युपछि गरिने आँखा दान कार्यक्रमलाई नेपालभरि नै विस्तार गर्न लायन्सहरु लागिपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल आँखा दान समाजका अध्यक्ष जगन्नाथ महर्जनले आँखाको नानीको कारणले अन्धकारमा रहनुभएका महानुभावहरुलाई देख्न र देखाउन मृत्यु पछि गरिने आँखा दानको लागि नेपालभरि नै नेपाली समाजलाई सू—सुचित गर्न समाजको शाखा प्रशाखाहरु विस्तार गरी आँखाको नानी प्राप्त गरेर सुनौलो संसार हेर्न प्रतिक्षारत महानुभावहरुलाई धेरै समय कुनुपर्ने समस्याको समाधान गर्दै जाने प्रतिवदता जाहेर गर्नुभयो ।

मरणोपरान्त आँखाको नानी दान गरी अमर भएका व्यक्तिहरुको सम्मानमा गरिएको कार्यक्रममा आँखाको नानी प्राप्त गरेका र दान गर्ने व्यक्तिको आफन्तजनको अनुभव
सविन बोगटी
जन्मजात दृष्टिविहिन अहिले २२ वर्षको भएँ । म स्नातक तहमा अध्ययनरत छु । आफू दृष्टिविहिन भएको पिडाले जहिले पनि सताउँथ्यो । तर मरणोपरान्त कसैले दान गरेको आँखाले अहिले म संसार हेर्न सक्ने भएको छु । जसले आँखा दान दिए उनलाई जति धन्यवाद दिए पनि अपुग हुन्छ ।

बगंलादेशमा एमबिबिएसको फाइनल परीक्षा सकाएर बसेकी वन्दिता कार्की
मेरो आँखामा केराटोकनस नामक समस्या थियो जसको कारण मेरो आँखाको नानी बिग्रियो । दैनिक काम गर्न गाह«ो भो । कन्ट्याक लेन्स लाउथेँ तर कडा लेन्सले आँखामा धेरै चोटी घाउ भयो । त्यसैले आँखाका नानी प्रत्यारोपण गर्ने निर्णय गरेँ । मेरो आँखाको नानी दुइ साता अगाडि मात्र प्रत्यारोपण गरेकी हुँ । अहिले एकदम छर्लगं देख्छु र म एकदमै खुसी छु ।

मनकुमारी के.सी.
मैले मेरो १९ वर्षको उमेरो छोरा गुमाए तर छोरा गुमाए पनि मेरो छोराको आँखाले अहिले २ जना दृष्टिविहिनले संसार देखिरहेका छन् । मलाई छोराले नै हेरिरहेको महसुस हुन्छ ।
पाटन अस्पतालका निर्देशक डा.विष्णु शर्माले मृत्यु पछि गरिने आँखा दानको कार्यक्रमलाई अझ अगाडि बढ्न आफ्नो अस्पतालले आँखाको नानी संकलन लगायत जनचेतना जगाउन अझ सहयोग गर्ने वचन दिनुभयो ।
यस कार्यक्रममा आँखाको नानी संकलन र प्रत्यारोपण गरी अन्धोपन निवारणमा योगदान दिने संस्था र व्यक्तिहरुलाई कदरपत्र पनि प्रदान गरिएको थियो । प्रत्यक्ष अप्रत्यक्ष रुपमा आँखा बैंकको सेवालाई सहयोग गर्ने सम्बन्धित सबैलाई आँखा बैंकका मेडिकल डाइरेक्टर डा. लिना बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समारोहमा आँखादाताका आफन्तजन, आँखाको नानी प्राप्त गरि सुनौलो संसार देख्नुभएका महानुभावहरु, विभिन्न अस्पतालका निर्देशक, कर्मचारी र घाट सेवा केन्द्र पशुपति लगायत सम्बन्धित संघसंस्थाहरुबाट गरि १००० भन्दा बढीको सहभागिता रहेको थियो ।


नेपाल आँखा बैंकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १२ हजार ५ सय जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।
विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग भन्नुहुन्छ,—‘धेरैभन्दा धेरै मानिसहरुलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई धन्यवाद दिन, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो ।’ उहाँका अनुसार, अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पूनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुदैछ । नेपाल भरि आँखा बैंकको सेवा दिने लक्ष्य छ ।
नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायना भन्नुहुन्छ—‘मानिसको मृत्युपश्चात् जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिने आँखादानलाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहिनलाई पुन दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुनसक्छ ।’

जन्मजात फुलो परेर वा आँखामा चोट लागेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो ।
नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । त्यस्ता व्यक्तिका लागि तपार्इँ हामीले मृत्यु पश्चात आँखा दान गरिदिने हो भने दुई भन्दा बढी दृष्टिविहिनले यो संसार देख्न पाउँछन् । त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ ।
आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ ।
सुरुवात्को अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्यो भने अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका ३ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैकंबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।

नेपालमा आँखादान गर्न र गराउनका लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखा समाजको औपचारिक रुपमा स्थापना भएको छ । यसले नेपालभरि सबै क्षेत्रमा शाखा÷प्रशाखा मार्फत आँखादान सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरि आँखाको नानीको कारणले दृष्टिविहिन भएकालाई देख्न देखाउन कार्यक्रमहरुको तर्जुमा गरेको जनाइएको छ ।
यस आँखा बैंकले इन्टरनेशनल फेडरेसन अफ आई व्यांक तथा साइट लाइफले निर्धारण गरेको अन्तर्राष्ट्रियस्तरको मापदण्ड पुरा गरि अन्तराष्ट्रिय गुणस्तरलाई कायम राख्दछ । बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरि स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराएको छ ।

मृत्युपछि आगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी, कसैका लागि प्रयोगमा आउनु, सत्कर्म हो । सबैलाई दृष्टि दिने हाम्रो यस अभियानमा शुरुवात्देखि लायन्स क्लव अफ पशुपतिनाथ, नेपाल आँखा दान समाज र अन्य सम्बन्धित सम्पूर्ण क्षेत्र लगायत सञ्चारमाध्यमले दिनुभएको साथ र गर्नुभएको सहयोगको लागि यस प्रतिष्ठान धन्यवाद व्यक्त गर्दछ । आँखादान जस्तो मानविय कार्यका लागि सबैलाई उत्प्रेरणा जगाई आत्मा शान्तिको कामना गरौं ।

प्रतिक्रिया दिनुहोस्