Logo
|
Saturday 20th April 2024
Logo

epaper

परिवार नियोजनका अस्थायी साधन जति धेरै जानकारी, उति कम प्रयोग



कस्ता दम्पतीले धेरै बच्चा जन्माउँछन् ? सहजै उत्तर आउँछ अशिक्षित । यो त सही जवाफ हो, योसँगै अर्को प्रश्न पनि आउँछ । उसो भए परिवार नियोजनका आधुनिक साधन र सेवाको प्रयोग कस्ता वर्गका दम्पतीले बढी गर्लान् ? पहिलो प्रश्नको जबाफको आधारमा तपाईंको उत्तर ‘शिक्षित दम्पती’ ले भन्ने आयो भने त्यो गलत हुन्छ ।

देशमा जति शिक्षित दम्पती भयो उति नै परिवार नियोजनका आधुनिक साधन र सेवा प्रयोग गर्ने भए पनि नेपालमा भने ठीक उल्टो पाइएको छ ।
विश्वका अधिकांश देशमा जति शिक्षित दम्पती भयो उति नै परिवार नियोजनका आधुनिक साधन र सेवा प्रयोग गर्ने भए पनि नेपालमा भने ठीक उल्टो पाइएको छ । हालै सार्वजनिक नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण (एनडिएचएस) का निर्देशक योगेन्द्र प्रसाईंले शैक्षिक स्तर बढी भएकाले परिवार नियोजनका अस्थायी साधन बढी प्रयोग गर्नुपर्नेमा त्यस्तो नभएको बताए ।

प्रसाईंका अनुसार सिद्धान्तत र विश्वव्यापी प्रवृत्ति हेर्दा पनि जति शिक्षित भयो उति बच्चा धेरै पाउनुहुन्न भन्ने थाहा हुने र बजारमा उपलब्ध साधनको ज्ञानसमेत बढी हुने भएकाले परिवार नियोजनका साधनको प्रयोगदर शिक्षितमा बढी हुनुपर्छ । ‘नेपालमा जति ज्ञान भयो उति प्रयोग नगरेको पाइयो,’ प्रसाईंले भने, ‘बरु प्राकृतिक विधि (विर्य योनीबाहिर झार्ने) अपनाउनेको दर बढ्दै गएको छ ।’
प्रत्येक ५ वर्षको अन्तरमा हुने सर्वेक्षणले सन् २०११ मा पहिलोपटक यस्तो प्रवृत्ति देखाएकोमा पछिल्लोपटक सन् २०१६ मा पनि बढ्दै गएको पाइएको छ । पछिल्लो सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष (प्रजनन उमेर) का महिलामध्ये ५२ प्रतिशतले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दा एसएलसीभन्दा माथिल्लो तहको शिक्षा पाएका ३४ प्रतिशतमात्रैले अस्थायी साधन प्रयोग गर्छन् । प्राथमिक तहको शिक्षा पाएकामा यो दर ४२ प्रतिशत र माध्यमिक तहसम्मको अध्ययन पूरा गरेकामा यो दर ३४ मात्रै छ ।
परिवार नियोजनका आधुनिक साधन र सेवामा महिला बन्ध्याकरण, तीन महिने सुई, पुरुष बन्ध्याकरण, खानेचक्की, कन्डम, इम्प्लान्ट र आइयुसिडी उपलब्ध छन् । अर्को छुट्टै तथ्यांकअनुसार २४ प्रतिशत विवाहित दम्पतीले परिवार नियोजनका आधुनिक अस्थायी साधन प्रयोग गर्न चाहेर पनि पाएका छैनन् ।
नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै विधि प्रयोग गरिरहेका छन् । यीमध्ये ४३ प्रतिशतले मात्रै आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधि (विर्य बाहिर झार्ने) प्रयोग गरिरहेका छन् । तथ्यांकले विर्य बाहिर झार्ने परम्परागत विधि अपनाउनेको प्रतिशत सन् १९९६ मा ३ रहेकोमा २०१६ मा १० प्रतिशत पुगेको देखाएको छ ।
अफगानिस्तान र पाकिस्तानबाहेक छिमेकका अन्य देशमा नेपालको तुलनामा परिवार नियोजनका साधन प्रयोग दर बढी छ । नेपालमा ४३ प्रतिशत रहेको यस्तो दर बंगलादेशमा ५४, म्यानमारमा ५१ र भारतमा ४८ प्रतिशत छ ।
सर्वेक्षणमा ‘किन प्रयोग गर्नुहुन्न’ भन्ने प्रश्न नसमेटिने भएकाले तथ्यमा आधारित यकिन कारण भन्न सकिने अवस्था छैन । ‘किन प्रयोग गर्दैनन् भन्ने कारण खुलेको छैन । अनुमानका आधारमा भन्ने हो भने अस्थायी साधनको साइड इफेक्ट हुन्छ भन्ने सोचले प्रयोग घटाएको हुन सक्छ,’ प्रसाईंले भने ।
विज्ञले प्राकृतिक विधि तुलनात्मक रुपमा कम सुरक्षित भएपनि पछिल्लोपटक गर्भपतन नै कानुनी भएकाले पनि दम्पतीले यस्तो जोखिम उठाइरहेको हुन सक्छ । परिवार नियोजनका साधनको विकल्पका रुपमा गर्भपतन प्रयोग हुनुले मातृस्वास्थ्यमा जोखिम थपेको जानकारहरु बताउँछन् ।
एक अर्को तथ्यांकअनुसार परिवार नियोजनका अस्थायी साधन प्रयोग दर शिक्षितमा कम भए पनि बच्चा जन्माउने दर भने अशिक्षितमै बढी छ । अशिक्षित दम्पतीले औसतमा ३।३ बच्चा जन्माउँदा एसएलसीमाथि पढेकाले १।८ बच्चा जन्माइरहेका छन् । यो दर जति शिक्षित भयो उति कम छ ।
सरकारले रेडियो र टेलिभिजनमार्फत परिवार नियोजनका साधनको प्रवद्र्धन विज्ञापनमा करोडौं खर्च गरिरहेको छ । पछिल्ला दिनमा सरकारले स्मार्ट दम्पती योजना भन्दै शिक्षित दम्पतीमा लक्षित विज्ञापनमा मात्रै करोडौं खर्च गरेको छ तर सोही समुदायमा साधनको प्रयोग घट्नुले राज्यको लगानीको सदुपयोग भएकोमा शंका उत्पन्न गराएको छ । यस्तै अस्थायी साधन प्रयोग गर्दा हुने असर र फाइदाबारे पर्याप्त जानकारी नभएको समेत पाइएको छ । परिवार नियोजनका सेवाग्राहीलाई परिवार नियोजनका साधन तथा सेवा प्रयोगबाट हुन सक्ने असर, असर भएमा के गर्ने भन्ने जानकारी प्रभावकारी रुपमा दिन नसकिएको सरकारी अधिकारीहरु स्विकार्छन् । सर्वेक्षणले पनि परिवार नियोजनका साधन प्रयोग गर्ने झन्डै आधा उपभोक्ताले यसको असरबारे जानकारी नपाएको देखाएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्