घरघरमा भाइरलका बिरामी

भीमबहादुर सिंह,जाजरकोट || प्रकाशित मिति :2018-01-12 07:14:16

जाजरकोटको विकट जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोबाट १ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । जुनीचाँदेका १, २, ३ र ११ वडामा ज्वरो फैलिएको हो । बिरामीहरूको सामान्य उपचार भए पनि अझै हरेक घरमा बिरामी छन् । स्वास्थ्य संस्थामा आवश्यक औषधि नभएपछि उपचारमा कठिनाइ भएको छ ।

बडकुले गाउँपालिकाका ३६ भन्दा बढी घरका १ सय ५० जना भाइरलबाट थलिएका छन् । एकै परिवारका ५ जना बिरामी छन् । ३५ वर्षीया आमा तुलसी बुढा, ५ वर्षीय प्रकाश, ८ वर्षीया निर्मला, १० वर्षीय खिमे र १२ वर्षीया खिमेरी भाइरलबाट थलिए पनि उपचार पाएका छैनन् । उक्त गाउँकै परिबहादुर बुढाका घरमा पनि ६ वर्षीय दीपक, २१ वर्षीया मन्दरा, ९ वर्षीय राजेन्द्र र १५ वर्षीय कमल भाइरलले थलिएका छन् । बडकुलेबाट ५ मिनेटको दूरीमा स्वास्थ्य संस्था भए पनि औषधि नभएकाले स्थानीय जाँदैनन् । स्वास्थ्यकर्मीले दिएको सिटामोलले सन्चो नहुने हुँदा स्वास्थ्य संस्थामा नगएको तुलसी बुढाले बताइन् । बरु घरमै बसेर आराम गर्ने र धामीझाँक्रीसँग उपचार गराउने गरेको उनले बताइन् ।

जुनीचाँदे १ को काब्रा र कार्कीगाउँ, बडकुले २ को मजकोट, देसिपाटा, पाल्त, आली, मौगाना ३ को पराले, रावलगाउँ, डाँडाकोट, स्याँला, चौखे र कोर्ताङलगायत गाउँका बासिन्दा भाइरल ज्वरोबाट प्रभावित छन् । भाइरलका कारण बिहीबारसम्म १३ जनाको मृत्यु भइसकेको छ । रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पखाला लाग्नेलगायत समस्याले बिरामी थलिएको उपचारमा संलग्न डा। पवन शाक्यले बताए । बिहीबार मात्र भैरव मावि र डाँडाकोटमा राखिएको शिविरमा ३ सय जनाको उपचार गरेको उनले जानकारी दिए । स्वास्थ्य संस्था र शिविरमा बिरामी नआउँदा रोग नियन्त्रणमा कठिनाइ भएको उनले बताए । शाक्यका अनुसार ५ वर्षमुनिका बालबालिका र दीर्घ रोगका बिरामीमा कडाखालको संक्रमण पाइएको छ ।

स्वास्थ्यचौकी बडकुलेकी इन्चार्ज संगीता शाहले गाउँमा जनचेतनाको कमी, पोसिलो खानेकुरा अभाव, सरसफाइमा ध्यान नदिनु, जाडो बढ्नु, न्यानो कपडा अभाव, दूषित खानेपानी प्रयोगलगायत कारण भाइरलका बिरामी बढेको बताइन् । बिरामीमा देखा परेको लक्षणअनुसार कडाखाले भाइरल (एचवानएनवान) को संक्रमण भएको आशंका गरिएको उनले उल्लेख गरिन्। भाइरलको परीक्षणका लागि बिरामीको खकार बुधबार काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा पठाइएको उनले बताइन् । रोग प्रभावित क्षेत्रमा २ मेडिकल अधिकृतसहित १५ जना स्वास्थ्यकर्मीले उपचार गर्दै आएका छन् । उनीहरूले घरघरमा पुगेर समेत बिरामीको उपचार गर्ने गरेका छन् ।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पनि विशेषज्ञ चिकित्सक र औषधि अभावका कारण रोग नियन्त्रणमा समस्या भएको बताए । प्रकोप फैलिएको ३ साता बित्दा पनि रोग नियन्त्रणमा नआउनु दुस्खद भएको उल्लेख गर्दै उनले यसमा सम्बन्धित निकायले लापरबाही गरेको आरोप लगाए । चिसो बढ्दै जाँदा र भाइरलका बिरामी पनि बढ्न थालेपछि प्रभावित क्षेत्रका विद्यालय एक साताका लागि बन्द गरिएको उनले बताए ।
जिल्ला जनस्वास्थ्य प्रमुख रामबहादुर नेपालीले पनि भाइरलको प्रकोप नियन्त्रणका लागि आवश्यक औषधि र विशेषज्ञ चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा खटिएको जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बालरोग विशेषज्ञ डा। नम्रता सिन्दान र मेडिकल अधिकृत सूर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘बुधबारै विशेषज्ञ चिकित्सकसहितको टोली महामारी फैलिएका क्षेत्रमा गइसकेको छ,’ उनले भने, ‘प्रतिष्ठानको टोलीलाई दुई साताका लागि प्रभावित क्षेत्रमा खटाएका छौं ।’ शिक्षण अस्पतालका अस्पताल निर्देशक धर्मराज गोसाईंले उक्त टोलीले बिरामीको घरदैलोमा पुगेर उपचार गर्ने जनाए ।

अब ३ र ४ दिनमै भाइरल नियन्त्रणमा आउने पनि जनस्वास्थ्य प्रमुख नेपालीले बताए ।
किन सधैं जाजरकोटमै ?
२०६६ मा जाजरकोटमा ६ महिनासम्मझाडापखाला फैलिँदा ३५० को ज्यान जानुका साथै ३० हजार बिरामी परे । महामारी नियन्त्रण र सरसफाइका लागि राज्यकोषको २३ करोड रकम खर्च भयो । २०७२ चैतमा पनि ३ दर्जन गाउँमा स्वाइनफ्लुको प्रकोप फैलियो । २ महिनासम्म फैलिएको उक्त प्रकोपले १७ को मृत्यु भयो।
५ हजार बिरामी परे ।
यसपालि पुस पहिलो सातादेखि जुनीचाँदे गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । आखिर किन पटकपटकरोगव्याधिको प्रकोप फैलन्छ यहाँ ? विज्ञ भन्छन्– चेतनाको कमी छ। दूषित पानीको प्रयोग हुन्छ। सरसफाइ बिल्कुलै छैन। पौष्टिक खाना अभाव छ। यी सबै कारणले पटकपटक महामारी फैलिने गरेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।
कान्तिपुर दैनिकबाट

    Comment Here!