Logo
|
Thursday 18th April 2024
Logo

epaper

आमाको दूध नपाउँदा कुपोषण



जिल्ला अस्पताल सिरहाबाट रेफर गरी पठाइएका १४ महिने एक बालकलाई देखेर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालस्थित पोषण पुनस्थापना गृहका कर्मचारी अचम्मित बने ।

ती १४ महिने बालक अमितको तौल साढे ३ केजी मात्र भएपछि अस्पतालले कडा कुपोषणवाट ग्रसित भएको भन्दै पोषित बनाउन रिफर गरेको हो । सिरहा नगरपालिका कल्याणपुरमा भिनाजुका घरमा बस्दै आएकी कञ्चनदेवी कुर्मीले १४ महिनाअघि स्वस्थ जन्माएकी अमितको तौल नबढेपछि उनमा कडा कुपोषणको समस्या देखिएको हो ।
कञ्चनदेवीको माइती विहारको लौकहा हो । उनको विवाह पनि माइतीनजिक विहारमै भएको हो । तर, ४ महिनाअघि पति विपिन कुर्मीले छाडेपछि बेसहारा बनेकी कञ्चन कल्याणपुरमा भिनाजु नरेश कुर्मीको घरमा बस्दै आएकी छन् ।
विवाह भएको केही दिनमै गर्भवती भएकी कञ्चनले १४ महिनाअघि पहिलो सन्तानका रूपमा अमितलाई जन्म दिएकी थिइन् । अमित जन्मँदै साढे ३ केजीका थिए । आमाको दूध खाँदै तौल बढ्दै गएका अमित ३ महिनापछि कुपोषित हुन थाले । कारण थियो उनकी आमा कञ्चन पुनस् गर्भवती हुनु । अमित जन्मिएको ३ महिनापछि नै कञ्चन गर्भवती भएपछि दूध खुवाउन सक्ने अवस्थामा थिइनन् । पोषण पुनस्स्थापना गृह राजविराजकी प्रमुख रश्मी झाका अनुसार एउटा बच्चा जन्मिएको अढाइ वर्षसम्म आमाको दूध खुवाउनुपर्ने हुन्छ । आमाको दूध बच्चाका लागि पौष्टिक आहार हो । एउटा बच्चा जन्मिएको कम्तीमा ३ वर्षपछि मात्र अर्को सन्तानको चाहना राख्नु उचित हुने झा बताउँछिन् । तर, कञ्चन १४ महिनाकै फरकमा दोस्रो सन्तानकी आमा बनेकी छन् । उनको काखमा १ महिनाका महेश पनि छन् ।
तर, कञ्चनको पहिलो सन्तान अमित आमाको दूधको स्वादसँगै तौल बढाउँदै गर्दा उनको सबैभन्दा पोसिलो खाना छुट्यो । अमित जन्मिएको ३ महिनामै कञ्चन गर्भवती भएपछि उनमा कुपोषणको लक्षण देखिन थाल्यो । उनका हातखुट्टामा हड्डी मात्रै देखिन थाल्यो । पेट सुन्निएको अवस्थामा तर कम्मरमुनिको भाग असामान्य देखिन थाल्यो । कञ्चनदेवी भन्छिन्, ‘मेरो दूध आउन छाडयो, पतिले गर्भवती अवस्थामा घर निकाला गरिदिए, अमितलाई न दूध खुवाउन सकें न त अन्य केही खाना नै ।’ आफ्नो दूध वा अन्य पौष्टिक आहाराको अभावमा कुपोषित भएका अमितलाई आर्थिक अभावमा उपचार गराउन नसकेकी कञ्चन २ दिनअघि मात्र उपचारका लागि सिरहा जिल्ला अस्पतालमा भर्ना गरेकी थिइन् । अस्पतालमा डाक्टरले अमितलाई कडा कुपोषण भएको भन्दै पोषणसहितको उपचारका लागि रेफर गरेको थियो । पोषण पुनस्स्थापना गृह प्रमुख झाका अनुसार आवश्यक मात्रामा आमाको दूध नपाउनु, जन्मेको ३ महिनामै गर्भवती हुँदा आमाको दूध छुट्नु, अन्य कुनै पौष्टिक तत्त्व नपाउनुलगायत कारणले अमितमा कडा खाले कुपोषण भएको हो । अमितको उपचारमा संलग्न बालरोग विशेषज्ञ डा। सरोजकुमार यादवका अनुसार कडा खालको कुपोषणको लक्षण देखिएको र अन्य परीक्षणबाट थप बताउन सकिनेछ ।
‘अमित जन्मिँदा घरमा ठीकै थियो, उनी ३ महिनाका हुँदा फेरि गर्भ रहयो, दूध आउन छाडयो । पतिले बच्चाका लागि वैकिल्पक व्यवस्था गरेनन् । दूध नहुँदा अमितकै पालनपोषणमा समस्या हुँदा पनि फेरि गर्भवती भएको केही दिनमै पतिले घर निकाला गरे,’ उनले भनिन्, ‘कडा कुपोषणबाट ग्रसित अमितसँगै एकमहिने काखे महेशलाई पनि पाल्न समस्या छ ।’
एउटा काखे बालकलाई पाल्न गाह्रो हुँदा पतिले गर्भवती बनाउँदै घर निकाला गरेपछि नेपाल आएर दिदीभिनाजुकोमा शरण लिएर बसेको उनले बताइन् ।
-कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्