Logo
|
Thursday 25th April 2024
Logo

epaper

जिल्ला अस्पतालमा शल्यक्रिया ठप्प



जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ ।दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको हो । सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका बिरामीलाई शल्यक्रियाका लागि पोखरातर्फ रिफर गर्ने गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।

शल्यक्रिया गर्ने एनेस्थेसियोलोजिस्ट चिकित्सक एक महिनाअघि सरुवा भएर छिमेकी जिल्ला बागलुङ गएपछि पर्वतमा महिनादिनदेखि बन्द भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डा बुद्धिबहादुर थापाले बताउनुभयो ।

उहाँले शल्यक्रिया गर्नुपर्ने प्रसूति सेवालाई तत्कालै अन्यत्र पठाउन बाध्य भएको र अन्य सेवामा भने चौबिसै घण्टा सेवा दिन सकेको स्वीकार गर्नुभयो । शल्यक्रिया सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक अन्यत्र सेवा सुविधा बढी पाएपछि गएको उहाँको भनाइ छ ।

जिल्लाभरि नै एक मात्र शल्यक्रिया सेवा शुरु गरेको जिल्ला अस्पताल पर्वतमा जिल्लाका पाँच गाउँपालिका तथा दुई नगरपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गरेका छन् । दैनिकजसो एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मासिक कम्तीमा पाँचदेखि सातजना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराएकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नुपरेको छ । शल्यक्रिया सेवा शुरु भएको जानकारीको प्रचार गरिएपनि बन्द भएको जानकारी कसैलाई पनि दिइएको छैन ।

करार सेवाका लागि पुनः आवश्यकता खुलाउने तयारी भएकाले सेवा नभएको जानकारी नगराइएको डा थापाले बताउनुभयो । ब्लड बैंकको समेत अभाव भएकाले शल्यक्रिया नियमित सञ्चालनमा समस्या छ । सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने सर्तमा मात्र शल्यक्रिया सेवा गरिएको भए पनि एक महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्ति पनि सम्पर्कमा राख्न नसकिएको उहाँको भनाइ छ ।

जिल्ला अस्पताल पर्वतले बिरामीलाई दिने सेवामा समेत गुनासो आउने गरेको छ । शल्यक्रिया सेवा शुरु भएपछि अहिलेसम्म ३५ भन्दा बढीले प्रसूति सेवा लिएको तथ्यांक अस्पतालमा छ । रासस

प्रतिक्रिया दिनुहोस्